१३ पुस, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले नेपालको लिपुलेक मार्ग हुदै भारत र चीनबीच तीर्थयात्री र व्यापारिक नाका मानसरोवर जाने पुनः सञ्चालन गर्ने भनी भएको सहमतिप्रति आपत्ति जनाएकाे छ ।
नेकपाका महासचिव विप्लव सीले शनिबार एक प्रेस विज्ञप्ति जारी गर्दै भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार डोभालले गत साता चीनको भ्रमणका क्रममा बेइजिङमा गरेको सहमतिलाई लिएर आपत्ति जनाएका हुन् ।
जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘चीन र भारतका अधिकारीहरूबीच पुस ३ (डिसेम्बर १८) बेइजिङमा सन् २०१५ मा सहमति भएर कोभिड- १९ को कारण बन्द भएको लिपुलेक भञ्ज्याङ भएर तिर्थयात्री र व्यापारीक मार्ग पुनः सञ्चालन गर्ने भनी भएको सहमतिप्रति हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ । ‘सन् २०१५ मा सो सहमति हुँदा नै हाम्रो पार्टीसहित देशभक्त नेपाली जनता सो सहमति खारेजीको मागसहित संघर्षमा उत्रिएको थियो ।’
मानसरोवर यात्रा खुलाउने भारत-चीन सहमतिले नेपालमा त्यतिबेला चीन सरकारले नेपालको दाबी अनुसार प्रमाणिक कागजात भए भारतसंग गरिएको सहमति पुनर्मूल्यांकन गर्न सकिने बताएको पनि प्रेस विज्ञप्तिमा उल्लेख छ । ‘२०७७ जेठमा नेपालको प्रतिनिधि सभा (संसद)ले कालापानी, लिम्पियाधुरा र लिपुलेक भन्ज्याङसहित भूभाग समेटेर नक्सा सार्वजनिक गरिसकेको छ ।, नेपालको भूभाग प्रयोग गर्ने सहमतिमा नेपालसँग सहकार्य नगरी भएको चीन-भारत सहमतिले नेपालको सार्वभौमिक अखण्डता अतिक्रमण गरेको छ ।’
जारी प्रेस विज्ञप्तिमा भनिएको छ, ‘नेपालको स्वतन्त्रता र अखण्डताप्रति गम्भीर हुन आवश्यक छ। हाम्रो पार्टी लिपुलेक भञ्ज्याङको सन्दर्भमा डिसेम्बर १८ (पुस ३) मा भएको भारत-चीन सहमति खारेज गराउन र राष्ट्रिय अखण्डताको रक्षार्थ आवश्यक कदम चाल्न नेपाल सरकारसँग माग गर्दछ ।’
विज्ञप्ति पूर्णपाठ
प्रतिक्रिया दिनुहोस