ज्वरो आएपछि मेडिकल कलेजले जाँच्न मानेन खुट्टामा घाउ भएका बिरामी

चैत १६, वीरगञ्ज । सरकारले बिरामी नजाँची फर्काउने अस्पताललाई कारबाही गर्ने चेतावनी दिएकै दिन वीरगञ्जमा एक अस्पतालले बिरामी नजाँची पठाएको छ ।

वीरगञ्जस्थित नेशनल मेडिकल कलेजले कलैया उपमहानगरपालिका– २२ बस्ने २५ बर्षका विजय कुशवाहलाई उपचार नगरी फिर्ता पठाएको हो ।

आफन्तका अनुसार शुक्रबार दिउँसो मसुरो दाईं गर्ने क्रममा थ्रेसरमा च्यापिएर विजयको खुट्टामा घाउ लागेको थियो । घाउमा स्थानीय मेडिकलका स्वास्थ्यकर्मीले ३५ वटा टाँका लगाइदिएका थिए । तर शनिबार राति वान्ता गरेपछि १० बजेतिर नेशनल मेडिकलको आकस्मिक कक्षमा भर्ना गरिएको थियो ।

सुरुमा चिकित्सकले घाउको अवस्था हेरेर उपचार शुरु गरेका थिए । तर बिहान सुख्खा खोकी र हल्का ज्वरो देखियो । त्यसपछि अस्पतालले कोरोना भाइरस संक्रमणको लक्षण देखिएको भन्दै उपचार गर्न मानेनन् । कुनै नर्स र डाक्टर हेर्नसमेत आएनन् ।

आफन्त महेश कुशवाहका अनुसार बिहान सामान्य ज्वरो र सुख्खा खोकी आएपछि अस्पतालको व्यवहारमा एक्कासी परिवर्तन आएको थियो ।

‘राति ठीकै थियो, बिहान हल्का ज्वरो र खोकी थियो । त्यसपछि चिकित्सकले फर्केर पनि हेरेनन् । बिरामी भएको वार्ड नै खाली गरिदियो । कोरोना संक्रमणको लक्षण देखिएको छ । हामी राख्दैनौं जहाँ लैजानु छ लैजानुस् । भनेर पुर्जी नै फालिदिए’ उहाँले भन्नु भयाे ।

त्यसपछि आफन्तले प्रहरी र वीरगञ्ज महानगरपालिकाका मेयरलाई जानकारी गराए । ‘पछि अस्पतालले हामीसँग उपकरण छैन, टेकु अस्पताल लैजानुस भनेर रिफर गदिए’ महेशले भन्नु भयाे । उहाँका अनुसार विजय गत वर्ष जेठदेखि घरमा नै छन् ।

नेशनल मेडिकल कलेजका प्रमुख डा. प्रमोद सर्राफले कोरोना भाइरस संक्रमितमा देखिने लक्षण बिरामीमा देखिएकोले रिफर गरेको बताउनु भयाे । अस्पतालमा कोरोना संक्रमितको उपचार गर्दा लगाउने सुरक्षा सामग्री (पीपीई) र अरु उपकरण नभएकाले जाँच गर्न नसकेको उहाँको भनाइ छ ।

‘बिरामीलाई बाहिर अप्रेशन गरेर ल्याइएको थियो, ज्वरो आएको थियो, ज्वरो बढ्दै गएको र ड्राई कफ शुरु भएर स्वास फेर्न गाह्रो भइरहेको थियो’ उहाँले भन्नु भयाे ‘कोरोना भाइरस संक्रमितमा जस्तो सिम्टम देखिन थालेपछि अन्यत्र लैजान सल्लाह दिएका हौं । हामीसँग पीपीई पनि छैन ।’

नेशनलले टेकु लैजान भने पनि सरोकारवालाको आग्रहपछि विजयलाई आइतबार अबेर साँझ नारायणी अस्पतालमा उपचार शुरु गरिएको थियो ।

नारायणी अस्पतालमा प्रारम्भिक परीक्षणपछि चिकित्सकले ‘सेप्टी सेमिया’का कारण बिरामीको खुट्टाको घाउ र छातीमा संक्रमण देखिएको बताएका छन् ।

‘कोरोना भाइरसको संक्रमण होइन नै भन्ने आधार त छैन तर विरामीको ट्राभल हिष्ट्री नभएकोले त्यसको संभावना कम छ’ अस्पतालका एक चिकित्सकले भन्नु भयाे ।

स्थानीय स्वास्थ्य संस्थामा टाँका लगाउने क्रममा संक्रमण रोकथाम गर्ने उपाय नअपनाएका कारण ‘सेप्टी सेमिया’ भएको नारायणी अस्पतालका मेसु डा मदन उपाध्यायले बताउनु भयाे ।

‘बिरामीलाई सास फेर्न गाह्रो भइरहेको छ । छातीमा संक्रमण छ, खुट्टा काट्दा गाउँकै मेडिकलमा टाँका लगाइएको रहेछ । म र मेरो मेडिकल टिमले हेर्दा संक्रमण रोकथाम गर्ने उपाय अबलम्बन नहुँदा सेप्टी सेमिया भएको छ’ उहाँले भन्नु भयाे ।

‘सेप्टी सेमिया’को उपचारका लागि सुविधा सम्पन्न अस्पतालमा लैजान सुझाव दिएको उनहाँले बताउनु भयाे । आइतबार बेलुका साढे ७ बजेतिर विरामीका आफन्त वीरगञ्ज हेल्थ केयर अस्पतालमा थप उपचारका लागि पुगेका छन् ।

ज्वरो बढी देखिएको भन्दै गण्डक अस्पतालले समेत लिन नमानेको विरामीका आफन्तले गुनासो गरेका छन् ।

प्रतिक्रिया दिनुहोस