असाेज १२, कालिकोट । घटस्थापनासँगै दसैंको चहलपहल बढेको छ। सदरमुकाम तथा जिल्ला बाहिर रोजगारी, व्यापार व्यवसाय गर्दै आएकाहरू गाउँ फर्किन थालेका छन्। दैनिकजसो सरमुकामबाट विभिन्न गाउँ जाने सवारी साधनमा यात्रु खचाखच हुने गरेका छन्। तर सहरतिर जाने गाडी खालीखाली देखिन थालेका छन्।
सहरमा अध्ययन तथा काम विशेषले बस्नेहरू दसैं लागेसँगै गाउँ केन्द्रित भएका हुन्। जिल्लामा करिब ३८ सरकारी कार्यालय छन्। जिल्लामा करिब दर्जन गैरसरकारी निकाय सक्रिय छन्।
हाल सरकारी कार्यालयमा कर्मचारी निकै कम छन्। गैरसरकारी संस्थाका कर्मचारी पनि दसैंका लागि घरतिर जान थालेका छन्। जिल्लामा रहेका सरकारी कार्यालय अन्तर्गत जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी प्रमुख र रणसुर गुल्मका गुल्मपति बाहेक सबै सरकारी कार्यालय प्रमुख विहीन छन्। जिल्लाका सुरक्षा निकायका प्रमुख बिदा नमिल्ने भएकाले जिल्लामै छन्।
सदरमुकाम मान्म बजारमा व्यापार व्यवसाय गर्ने व्यापारी पनि दसैंकै लागि गाँउ जाने तयारीमा छन्। दसैं तिहारका लागि सामान लिन आउने ग्राहक कम हुँदै गएकाले अब गाउँ जाने तयारीमा रहेको मान्म बजारका व्यापारी मुक्तिप्रसाद सन्ज्याल बताउँनु हुन्छ ।
‘सदरमुकाममा ग्राहकको चहलपहल घट्दै छ। अलि दिनमा हामी पनि पसल बन्द गरेर दसैं मान्न गाउँ जाने तयारीमा छौँ’, उहाँले भन्नु भयाे । कर्णाली करिडोरमा जिप चलाइरहेका चालक महेश न्यौपानेले जिते बजारबाट गाउँ जाने यात्रुको भीड हुन थालेको बताउँनु हुन्छ ‘गाउँबाट फर्किदा १० जनाको सिटमा एक दुई जना लिएर फर्किन्छौँ’, उहाँले भन्नु भयाे, ‘गाउँ जाँदा यात्रु खचाखच छन्, पालैपालो टिकट काटेर सबै जिप भरिभराउ भएर जान्छन्।’ नेपाली सेनाद्वारा निर्माणाधीन कर्णाली करिडोरमा १८ वटा रारा कर्णालीका जिप र ४ वटा बुलबुले यातायात समितिका जिप सञ्चालन भइरहेका छन्।
कालिकोट सहित यस आसपासका जिल्लाबाट धेरैजसो युवा रोजगारीका लागि काला पहाड (भारत) जाने गरेका छन्। उनीहरू पनि दसैंमै घर फर्किन्छन्। उच्च शिक्षा अध्ययनका लागि राजधानी काठमाडौंसहित देशका अन्य सहर पुगेका विद्याथीहरू पनि दसैंकै मौकामा गाउँ फर्किन्छन्। यो समाचार अन्नपूर्ण पाेष्टमा बिस्नप्रसाद न्याैपानेले लेख्नु भएकाे छ ।