चैत १७, कालीकोट । आफन्तको ‘किरिया कर्म’ मा गएका १६ जनासहित ६७ जनालाई जिल्लाका विभिन्न क्वारेन्टाइनमा राखिएको छ । स्थानीय प्रशासनका अनुसार सान्नीत्रिवेणीमा २७, खाडाचक्रमा २५, रास्कोटमा ९ तथा तिलागुफा, महाबै र पलातामा २/२ जनालाई क्वारेन्टाइनमा राखिएको छ ।
खाडाचक्र–३, ताडीबाट सान्नीत्रिवेणी–३, कयारीकी काशीकला देवकोटाको पुण्यतिथिमा सहभागी १६ जनालाई क्वारेन्टाइनमा राखिएको वडाध्यक्ष महावीर पाण्डेले बताउनु भयाे । उनीहरुलाई खाडाचक्र–३, ताडी बसपार्क नजिकैको एभरेष्ट कर्णाली होटलमा बनाइएको क्वारेन्टाइनमा राखिएको छ।
आफूहरुमा कुनै स्वास्थ्य समस्या नभए पनि सरकारले घर बस्न नदिएको पीडितको गुनासो छ। ‘आफन्तको किरियाकर्ममा जाँदासमेत क्वारेन्टाइनमा राखियो,’ क्वारेन्टाइनमा बसेकी अम्मा पाण्डेले भनिन्, ‘सरकारले बेकारमा दुःख दियो।’ कालीकोटमा आइतवारसम्म ६७ जनालाई क्वारेन्टाइनमा राखिएको प्रमुख जिल्ला अधिकारी कृष्णचन्द्र पौडेलले बताउनु भयाे ।
सबै पालिकाबाट २५ जनालाई डिस्चार्ज गरिएको उहाँको भनाई छ। जिल्ला प्रशासन कार्यालयका अनुसार जिल्ला अस्पतालमा ४, प्राथमिक उपचार केन्द्र कुमालगाउँमा ५, स्युनामा ४ र ओदा फाउन्डेसनमा १ गरी १४ बेडको आइसोलेसन वार्ड निर्माण गरिएको छ। क्वारेन्टाइनका लागि ७१ स्थानमा ६ सय १९ बेड निर्माण गरिएको कार्यालयले जनाएको छ।
जिल्लाका सबै पालिकाले पायक पर्ने स्थानमा क्वारेन्टाइन निर्माण गरेका छन्। तर, अधिकांश क्वारेन्टाइनमा न्यूनतम मापदण्ड नै नभएको स्थानीयको गुनासो छ। .‘धेरै क्वारेन्टाइनमा पानी, बत्ती र पर्याप्त लुगा नै छैनन्,’ नागरिक अगुवा कालीबहादुर मल्लले भन्नु भयाे ।
कालीकोट र दैलेखको सिमानाको दहीखोलामा सञ्चालित हेल्थ डेस्कमा अहिलेसम्म ३ हजार ८ सय ८६ जनाको ज्वरो परीक्षण गरिएको स्वास्थ्य सेवा कार्यालय कालकाेटका सूचना अधिकारी कट्रक महतले बताउनु भयाे । उहाँका अनुसार भारतबाहेक अन्य मुलुकबाट ४० जना जिल्लामा भित्रिएको तथ्यांक छ। कालीकोट र जुम्ला सिमानाको नाग्ममा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले हेल्प डेस्क स्थापना गरेको छ।
कालीकोटका ९ वटै स्थानीय तहले सचेतनाका कार्यक्रमसहित साबुन र मास्क वितरणलाई अभियानको रुपमा सञ्चालन गरेका छन्। भारतबाट फर्किनेको सिजन सुरु भएकाले विशेष सर्तकता अपनाइएको जिल्ला प्रहरी प्रमुख डीएसपी श्यामबाबु ओलियाले बताउनु भयाे । उहाँका अनुसार अटेरी गर्नेमाथि प्रहरीले बल प्रयोग गरिरहेको छ। यो समाचार कन्तिपुर दैनिकमा तुलाराम पाण्डेले लेख्नु भएको छ ।