कोरोनाले श्रीमानको मृत्यु, कुरुवा श्रीमती द्धारा आत्महत्या

१६ जेठ, धनगढी । कोरोना संक्रमणबाट श्रीमान्को मृत्यु भएपछि अस्पतालमा कुरुवा बस्नु भएकी महिलाले आत्महत्या गर्नु भएको छ ।

डडेल्धुरा अस्पतालमा उपचाररत बाजुराको खप्तड छेडेदह गाउँपालिका–७ का सुरेश कठायतको संक्रमणबाट मृत्यु भएको केही घण्टामा उहाकी श्रीमती सरिता रावतले झुण्डिएर आत्महत्या गर्नु भएके हो ।

वडाध्यक्ष खगेन्द्र रावतले शनिबार बिहान करिब साढे ९ बजेतिर डडेल्धुरा अस्पतालको भेन्टिलेटरमा उपचारका क्रममा ज्यान गुमाउनु भएका कठायतकी श्रीमतीले नजिकैको जंगलमा झुण्डिएर आत्महत्या गरेको बताउनु भयो ।

‘ज्वरो र रुघाखोकी लागेपछि जिल्ला अस्पताल भर्ना हुनु भएका कठायतलाई जेठ २ गते अस्पतालले डडेल्धुरा रेफर गरेको थियो,’ वडाध्यक्ष रावतले भन्नु भयो, ‘स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।

उहाकी श्रीमतीसँगै काका र भाइ पनि कुरुवा बसेका थिए । मृत्यु लगत्तै अस्पतालबाट भाग्नु भएकी रावत आत्महत्या गरेको अवस्थामा फेला पर्नु भएको थियो ।

रावतका अनुसार लामो समयदेखि प्रेम सम्बन्धमा रहेका सुरेश र सरिता दुवै जनाले गत वर्षको असोजमा मात्र विवाह गरेका थिए ।

सरिता स्थानीय सरस्वती माध्यमिक विद्यालयमा लेखापाल पदमा कार्यरत थिइन् भने कठायतले हालै स्नातकोत्तरको अध्ययन सकेका थिए ।

मृतक कठायतको शनिबार अन्त्येष्टि गरिएको छ भने उनकी श्रीमती सरिताको शव परीक्षणका लागि डडेल्धुरा अस्पतालमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस