प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणको तालिका भित्र के के छ ?

१७ जेठ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चार दिने भ्रमणका लागि आज भारतको नयाँदिल्ली जाँदै हुनुहन्छ ।
प्रचण्ड नेतृत्वको टोली दिउँसो १ बजे राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्सको नियमित उडानबाट भारत प्रस्थान गर्नेछ ।

भारत प्रस्थान गर्नुअघि प्रधानमन्त्री प्रचण्डले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा १२ः२५ मा पत्रकार सम्मेलन गर्नु हुनेछ ।

नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेपछि प्रधानमन्त्री प्रचण्ड दिउँसो साढे ३ बजे सरदार पटेल मार्गमा रहेको होटल मौर्यमा पुग्नुहुनेछ । प्रचण्डसहितका अतिथिहरुलाई भारत सरकारले होटल मौर्यमै बस्ने व्यवस्था मिलाएको छ ।

सो होटलमा साँझ ६ बजे भारतीय विदेश सचिव विनयमोहन क्वात्रा र भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालले छुट्टा छुट्टै भेटवार्ता गर्ने कार्यक्रम छ । राष्ट्रिय सुरक्षा सल्लाहकार डोभालले प्रधानमन्त्री प्रचण्डसँग करिब आधा घण्टा छलफल गर्ने समय निर्धारण गरिएको छ ।

त्यसपछि प्रधानमन्त्री प्रचण्ड र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भोलि (जेठ १८ गते) बिहान ११ बजे हैदराबाद हाउसमा भेटवार्ता हुनेछ । त्यसपछि प्रतिनिधिमण्डल स्तरको बैठकमा प्रचण्ड र मोदी सहभागी हुनुहुनेछ ।

प्रतिनिधिमण्डल स्तरको बैठकपछि दुवै प्रधानमन्त्रीले संयुक्त पत्रकार सम्मेलन गर्नुहुनेछ । सोही दिन मोदीले आयोजना गरेको दिवाभोजमा प्रधानमन्त्री प्रचण्डसहितको नेपाली प्रतिनिधिमण्डल सहभागी हुनेछ ।

सोही दिन प्रधानमन्त्री प्रचण्डले भारतीय राष्ट्रपति द्रौपदी मुर्मू र उपराष्ट्रपति जगदीप धनखडसँग पनि भेटवार्ता गर्नुहुनेछ ।

त्यसपछि नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) र भारतीय उद्योग परिसंघ (सीआईआई) ले संयुक्तरुपमा आयोजना गरेको नेपाल–भारत व्यापार शिखर सम्मेलनलाई प्रधानमन्त्री प्रचण्डले सम्बोधन गर्नुका साथै दुवै देशका व्यापारीसँग अन्तरक्रिया गर्ने कार्यक्रम छ ।

यसैगरी भारतका लागि नेपाली राजदूत शंकर प्रसाद शर्माले आयोजना गरेको स्वागत समारोहमा भारतमा रहेका नेपाली समुदायसँग पनि प्रधानमन्त्री प्रचण्डले भेटघाट गर्ने कार्यक्रम छ ।

भ्रमणको तेस्रो दिन शुक्रबार (जेठ १९ गते) प्रधानमन्त्री प्रचण्ड मध्यप्रदेशको उज्जैन र इन्दोर भ्रमणमा जानुहुनेछ । चौथो दिन (जेठ २० गते) शनिबार इन्दोरमा रहेको विशेष आर्थिक क्षेत्रको भ्रमण गरेर दिउँसो १ बजे प्रधानमन्त्री प्रचण्ड नयाँदिल्ली फर्किनुहुनेछ । सोही दिन नयाँदिल्लीबाट नेपाल एयरलाइन्सको अपराह्न ४ः२० को उडानबाट उहाँ काठमाडौं प्रस्थान गर्ने कार्यक्रम छ ।

मन्त्रिपरिषद्को बैठकले स्वीकृत गरेको प्रधानमन्त्रीको भारत भ्रमण टोलीमा भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वाला, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत, परराष्ट्र मन्त्री एनपी साउद, अर्थ मन्त्री डा. प्रकाशशरण महत, उद्योगमन्त्री रमेश रिजाल र प्रचण्डकी छोरी गंगा दाहाल लगायत रहनु भएको छ ।

प्रतिक्रिया दिनुहोस