कम्युनिस्ट जनमत समाप्त गर्ने षड्यन्त्र भइरहेको छ: महासचिव विप्लव

१६ साउन, काठमाडौ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले नेपालमा कम्युनिस्ट जनमत समाप्त पार्न केहि बिदेशी शक्तिहरु सक्रिय रहेको दाबी गर्नु भएको छ ।

जनपत्रकार संगठन नेपालसँग शुक्रबार ललितपुरको हरिसिद्दीमा भएको छोटो भेटघाटको क्रममा विप्लले कम्युनिस्ट जनमत समाप्त गर्ने षड्यन्त्र रहेको बताउनुभयो ।

झण्डै ६५ प्रतिशत मतदाताहरु कम्युनिस्ट पार्टी सम्बद्ध रहेको कुरा आन्दोलनको सकारात्मक उपलब्धि रहेको चर्चा गर्दै महासचिव विप्लवले उक्त जनमत समाप्त गर्ने र सत्तामा दलालहरुको बर्चस्व कायम गर्ने प्रयास भैरहेको बताउनुभयाे ।

समाजवादी मोर्चा नेपाल संयोजक समेत रहेका विप्लवले नेपालका कम्युनिस्ट पार्टीभित्र पछिल्लो समयमा आपसी विवाद र अन्तरविरोध देखिएको उल्लेख गर्दै आफूहरुले कम्युनिस्ट आन्दोलन र पार्टीहरुको पुनर्गठन गर्न आवश्यक प्रयत्न गरिरहेको बताउनुभयाे ।

कुराकानीको क्रममा महासचिव विप्लवले माओवादी आन्दोलनलाई नयाँ आधार र रुपान्तरणसहित एकता गर्ने प्रयास गरिरहे पनि माओवादी भित्रको बैचारिक, राजनीतिक र संगठनात्मक अन्यौलताका कारण उक्त प्रयास अहिले नै पुरा हुने स्थिति नरहेको समेत बताउनुभयो ।

हालै सप्पन्न समाजवादी मोर्चाको बैठकले बिगतका कामको समीक्षा गर्दै भदौ पछि ठोस कार्यक्रम सार्वजनिक गरी अगाडि बढ्ने योजना तय गरिएको र नेपाल कम्युनिस्ट पार्टीले आफ्नो उत्पादन सम्बन्धी योजनालाई थप माथि उठाउने गरी कार्यक्रम तय गर्ने महासचिव विप्लवको भनाइ थियो।

प्रतिक्रिया दिनुहोस