पत्रकारलाई दिएको धम्कीप्रति नेपाल पत्रकार महासंघको आपत्ति

२० वैसाख, कालिकोट । नेपाल पत्रकार महासंघ जिल्ला शाखा कालिकोटले ज्वाला खवर डट्कम अनलाईनका सम्पादक कर्ण विश्वकर्मा र पत्रकार खड्क विश्वकर्मालाई रास्कोका नगरप्रमुख धर्मराज शाही (पोषण)ले धम्की दिएको विषयमा गम्भीर आपत्ति जनाएको छ ।

महासंघका जिल्ला सचिव रमेश कुमार वोगटीले शुक्रवार एक प्रेश विज्ञप्ति जारी गरी पत्रकार दोय विश्वकर्मालाई नगरप्रमुख शाहीले समाचार लेखेको विषयमा धम्की दिएको भन्दै गम्भीर आपत्ति जनाउनु भएको हो ।

बैशाख १६ गते ज्वाला खवरमा रास्कोटका विद्यालयबाट लाखौं कमिशन असुली शीर्षकमा समाचार प्रकाशित भएको थियो ।

सोही विषयलाई लिएर रास्कोट नगरपालिकाका नगर प्रमुख शाहीले सामाजिक संजाल फेसबुक र म्यासेन्जरमा दाेय विश्वकर्मालाई अपमानजनक र धम्कीपूर्ण भाषा लेखेकोमा महासंघले गम्भिर ध्यानकर्षण भएको भन्दै आपत्ति भएको हो ।

महासंघले ‘स्वतन्त्र प्रेस र अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्नु लोकतान्त्रिक मूल्य र मान्यताको मूल आधार भएको भन्दै पत्रकारमाथि समाचार लेखेका कारण डर, त्रास, धम्की र मानमर्दन सिर्जना गर्नु आपत्तिजनक छ र प्रेस स्वतन्त्रता माथिको हस्तक्षेप हो’ विज्ञप्तिमा उल्लेख गरेको छ ।

महासंघले समाचारमा चित्त नबुझिए चलित कानुनी प्रक्रियामार्फत सम्बन्धित निकायमा उजुरी दिन भनेको छ ।

पत्रकार विश्वकर्माको सुरक्षाप्रति पूर्ण प्रतिबद्धता व्यक्त गर्दै महासंघले सुरक्षाका लागि सम्वन्धित पक्षसंग समेत माग गरेको छ ।

विज्ञप्तिको पूर्णपाठ

प्रतिक्रिया दिनुहोस