नेपाल र चीनबीच ९ बुँदामा सहमति र समझदारीपत्रमा हस्ताक्षर [सूचीसहित]

१८ मंसिर, बेइजिङ । नेपाल र चीनबीच ९ वटा बुँदामा सहमति र समझदारीपत्रमा हस्ताक्षर भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ समकक्षी ली छ्याङको भेटवार्तापछि सहमति र समझदारीमा हस्ताक्षर भएको हो ।

नेपाल र चीनबीच भएको पहिलो सहमतिमा टोखा-छहरे सुरुङमार्गसम्बन्धी पत्रको आदानप्रदान भएको परराष्ट्र मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद ढकालले जानकारी दिए । उनका अनुसार सहमतिको दोस्रो बुँदामा नेपाल-चीन व्यापार अभिवृद्धिसम्बन्धी समझदारीपत्र आदानप्रदान भएको छ ।

उक्त द्विपक्षीय भेटवार्तामा सहभागीसमेत रहेका परराष्ट्र मन्त्रालयका प्रवक्ता ढकालले भने, ‘यो द्विपक्षीय वार्ताले नेपाल र चीनबीचको सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याएको छ ।’

यस्ता छन् नेपाल-चीनबीच भएका सहमति र समझदारी

टोखा-छहरे सुरुङमार्ग निर्माणसम्बन्धी पत्रको आदानप्रदान
नेपाल-चीन व्यापार अभिवृद्धिसम्बन्धी समझदारीपत्र आदानप्रदान
९ तले वसन्तपुर दरबार निर्माण सम्पन्नको प्रमाणपत्र आदानप्रदान
भैंसीको तयारी मासु निर्यातसम्बन्धी प्रोटोकलमा हस्ताक्षर
विकास योजनासम्बन्धी समझदारीपत्र
आर्थिक तथा प्राविधिक सहयोगसम्बन्धी समझदारीपत्र
नगद सहयोगसम्बन्धी पत्र आदानप्रदान
स्वंयसेवी चिनियाँ भाषा शिक्षकसम्बन्धी समझदारीपत्र
नेपाल टेलेभिजन र चाइना मिडिया ग्रुप(सीएमजी) बीच सञ्चार प्रविधिबारे समझदारीपत्र

प्रतिक्रिया दिनुहोस