नेकपाका स्थायी समिति सदस्य भरत सी सहित केन्द्रीय नेता तथा कार्यकर्ताहरु धान रोप्न व्यस्त

कैलाली । नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य भरत सी यतिबेला कैलालीमा धान रोप्न व्यस्त देखिनु भएको छ ।
उहाँको साथमा पार्टीका केन्द्रीय सदस्यहरु समर सी,भगत सी, प्रकाश सी लगायतका नेताहरुले पनि साथ दिएका छन ।
धान रोपाईमा सुदूरपश्चिम प्रदेशका अन्य नेता तथा कार्यकताहरुले पनि साथ दिएका छन ।

शुक्रवार कैलालीको घोडाघोडी नगरपालीका वडा नम्बर ९ रतीपुरमा नेकपाले धान रोपाईको औपचारिक उद्घाटन गरेको हो ।
करिब ४ विगाह क्षेत्रफलको जमिनमा नेकपाले धान रोप्ने लक्ष्य लिएको छ । पार्टी केन्द्रको आत्मनिर्भर अर्थतन्त्रको नीतिलाई आत्मासाथ गर्दै पार्टी उत्पादनमा लागेको नेताहरुले बताउने गरेका छन ।
केन्द्रीय राजनीतिमा सत्ता फेरबलको कुरा चलिरहेको छ । प्रधानमन्त्री मन्त्री को बन्ने ? भन्ने होडवाजी चलिरहेको छ । तर नेकपाका महासचिव विप्लव सहितका केन्द्रीय नेताहरु भने असारको महिनामा उत्पादनमा देशभर व्यस्त देखिएका छन । पार्टीको उत्पादनको नीतिलाई अगाडि बढाउन नेकपा सुदूरपश्चिम प्रदेश समितिले धान रोपाईको उद्घाटन गरेको जनाएको छ ।
रोपाईको उद्घानमा नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज भरत सी (रणवीर)ले उत्पादनमा नलागि देश आत्मनिर्भर बन्न नसक्ने ठोकुवा गर्नु भएको छ ।

उहाँले नेता, कार्यकर्ता, पार्टी र देशलाई आत्मनिर्भर बनाउन आत्मनिर्भर उत्पादनमा जोडिन जरुरी भएको बताउदै स्यायी समिति सदस्य भरतले दलाली र भ्रष्टाचारको अन्त्य गर्न उत्पादन बढाउन आवश्यक भएको बताउनु भयो ।
उहाँले भन्नु भयो ‘समाजबाद प्राप्तिका लागि उत्पादन मुख्य आधार हो । आत्मनिर्भर पार्टी,नेता,कार्यकर्ता र जनताका लागि उत्पादन मुख्य हो । पार्टीको नवौ अधिबेशनबाट पारित नीति अनुरुप नेता कार्यकर्ता र जनता श्रमसंग जोडिएका छौ । हाम्रो उत्पादन देशभर भईरहको छ । यहाँपनि गरिरहेका छौ ।’
उहाँले देशभर २ सय २० विगाहमा पार्टीको नेतृत्वमा धान रोपाई भईरहेको बताउदै सुदूरपश्चिम प्रदेशको कृषि उत्पादन विभागको आयोजनामा ४ विगाह जमिनमा धान रोपाई भईरहेको बताउनु भयो ।
आत्मनिर्भर पार्टी, आत्मनिर्भर कार्यकर्ता र आत्मनिर्भर देशको नारा लिएर नेकपा उत्पादन कार्यमा लागेकोे बताउदै उहाँले राष्ट्रिय अन्र्तराष्ट्रिय रुपमा यसले सकारात्मक सन्देश दिएको दाबी गर्नु भयो ।
उहाँले भन्नु भयो ‘बसेर खाने र गफ चुटेर बस्नेहरुलाई पनि श्रमसंग जोड्न बाध्य बनाएको छ । चन्दा उठाएर खाने र काम गर्न डराउने जस्ता आरोप लगाउनेहरुका लागि जवाफ दिएको छ । आत्मनिर्भर पार्टी र आत्मनिर्भर कार्यकर्ताको नीतिले गतिलो झापड दिएको छ ।’
नेपाल कम्युनिष्ट पार्टीका पोलिट ब्यूरो सदस्य विकल्पले पार्टीले लिएको उत्पादनको नीतिले देश विदेशमा सकारात्मक सन्देश दिएको बताउनु भयो । नेपाल कम्युनिष्ट पार्टीका केन्द्रिय सदस्य तथा सुदूरपश्चिम प्रदेश उत्पादन विभाग प्रमुख भगत सीले सुदूरपश्चिम प्रदेशको उत्पादन विभागद्वारा ४ विगाहमा धान रोपाई सुरु गरिएको जानकारी दिनु भयो । धान रोपाई असार महिनाभर चल्लने नेकपाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस