२१ साउन,हेटौडा । नेपाल कम्युनिष्ट पार्टी निकट युवा संगठन नेपालले बन्द रहेका राष्ट्रिय उद्योगहरु यथाशिघ्र सञ्चालन गर्न माग गर्दै हेटौडामा प्रदर्शन गरेका छन ।
युवा संगठन नेपालको आयोजनमा सोमवार भएको युवाहरुको प्रदर्शन हेटौडा बजार परिक्रमा गरी कोणसभामा परिणत भएको थियो ।
युवाहरुले नेपालका दलालहरुले राष्ट्रिय उद्योगहरु बेचर खाएको भन्दै कोणसभामा कडा आपत्ति जनाएका छन् ।
युवा संगठन नेपालका केन्द्रीय अध्यक्ष दिनेश सीले कोणसभालाई सम्वोधन गर्दै नेपालका दलालहरुले हेटौडा लगायत देशका विभिन्न ठाँउमा रहेका राष्ट्रिय उद्योगहरु बेचेर खाएको भन्दै कडा विरोध गर्नु भयो ।
उहाँले तत्काल नेपाल सरकारले उद्योग सञ्चालनको लागि एउटा समिति बनाएर बन्द उद्योग सञ्चालन गर्न माग गर्नु भयो । उहाँले युवा युवतीहरुलाई सचेत गराउदै दलालहरुले विदेश पठाउने वहानमा युवा युवतीहरुलाई ठग्ने गरेको भन्दै म्यानपावरहरुलाई त्यस्तो नगर्न कडा चेतावनी दिनु भयो ।
अध्यक्ष दिनेशले भन्नु भयो ‘युवा युवतीहरुलाई विदेश पठाउने वहानामा ठगीएको छ, यो देशमा दलालहरु विरुद्ध लड्ने युवा पनि छ, हेक्का रहोस, हामी दलालहरुलाई कार्वाही गर्न वाध्य हुनेछौ । दलालहरुलाई उद्योग वेचर खान पाईदैन, युवा युवतीहरुलाई विदेशमा बेच्न पाईदैन, उद्योगहरु नेपालमै सञ्चालन गरी रोजगारी सृजना गर्न यथाशिघ्र माग गर्दछौ ।’
उहाँले समाजवाद विना बन्द उद्योगहरु सुचारु हुन मुस्कील भएको पनि जिकिर गर्नु भयो ।
उहाँले युवा संगठन नेपाल र यसको माउ पार्टी नेपाल कम्युनिष्ट पार्टी ०८४ पछि नयाँ शक्तिको रुपमा उदयमान हुने दाबी पनि गर्नु भयो । उहाँले समाजवादी व्यवस्थाले मात्र वेरोजगार युवा युवतीहरुलाई रोजगारी दिने र राष्ट्रिय उद्योगहरुको विकास हुने भन्दै समाजवादका लागि युवाहरु एकतावद्ध हुनुपर्ने बताउनु भयो ।
कोण सभाकार्यक्रमको संचालन युवा संगठन नेपालका केन्द्रीय उपाध्यक्ष विश्लेषण सीले गर्नु भएको थियो । कार्यक्रममा युवा संगठन नेपालका केन्द्रीय सचिवालय सदस्य अशोक सी, केन्द्रीय सदस्य पारस सी, हिमाल सी, रमेश सी लगायतका युवा नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।