२३ माघ, कालिकोट । नेकपा (माओवादी) कालिकोटले रोजगारी, अध्ययन लगायत कामको शिलशिलामा जिल्ला बाहिर रहेका सबै मतदाताहरुलाई जिल्ला फर्किन विशेष अपिल गरेको छ ।
नेकपा माओवादीका जिल्ला इन्चार्ज विवेक सी र सेक्रेटरी बलवान सीले शुक्रवार मतदाताका नाममा अपिल जारी गर्दै रोजगारी, अध्ययन लगायत कामको शिलशिलामा जिल्ला बाहिर रहेका सबै मतदाताहरुलाई जिल्ला फर्किन विशेष अपिल गर्नु भएको हो ।
नेकपा (माओवादी)ले देश राष्ट्रिय स्वाधीनता र पराधिनता, समाजवाद र नवदलाल संसदवादबीच संघर्षमा होमिरहेका बेला आगामी फागुन २१ गते हुने निर्वाचनमा मतदाता अनिवार्य सहभागी हुन अपिल गरेको हो ।
दलाल पुँजीवादकै कारण बेरोजगारी समस्या उब्जिएको उल्लेख गर्दै माओवादीले सहि नेता छान्न नसक्दा र सहि व्यवस्था स्थापना हुन नसक्दा संधै रोजीरोटीको लागि अर्काको गुलाम हुदै विदेश जानु परेको जनाएको छ ।
‘समाजवादी व्यवस्था जरुरी छ । समाजवादका लागि सहि नेता जरुरी छ । त्यसका लागि जिल्ला वाहिर र देश वाहिर रोजगारी,अध्ययन लगायतको शिलशिलामा जानु भएका सबै मतदाताहरु मतदानको समयसम्म जिल्लामा फर्केर जनताको नेता क.प्रकाण्डलाई मतदान गर्न विशेष अपिल गर्दछौ । जिल्लामा फर्किदा यहाँहरुलाई पर्ने विशेष कठिनाईको सहजिकरण गर्न पार्टी सदैब तयारी छ’ नेकपा माओवादीको जारी अपिलमा उल्लेख गरिएको छ ।
अपिलमा साम्राज्यवादका दलालहरुका कारण देशको स्वाधीनता गम्भीर खतरामा परेको उल्लेख गर्दै नयाँ जेलेन्स्किहरु उत्पादन गर्ने षड्यन्त्र हुदै गएको औल्याईएको छ । माओवादीले असफल संविधान र दलाल संसदीय व्यवस्थाका कारण देशमा बेरोजगार, भ्रष्टाचार र कमिशनतन्त्रले सीमा नाघेको जिकिर गर्दै राष्ट्रिय स्वाधीनताको रक्षाको प्रश्न मुख्य बनेर अगाडि आएकोमा जोड दिएको छ ।
अपिलमा भनिएको छ, ‘देशको बेरोजगार,भ्रष्टाचार र कमिशनतन्त्रको अन्त्य अनिर्वाय बन्न गएको छ । यसका लागि संविधानको पूर्नलेखन,कार्यकारी राष्ट्रपतिय प्रणाली,भ्रष्टाचारीलाई सर्वस्व सहित जन्मकैदको व्यवस्था लगायतका एजेण्डा बोकेर नेकपा (माओवादी) १८ बर्षपछि पहिलो पटक चुनावी मैदानमा सहभागी हुदैछ । जेनजी विद्रोहले पुराना दलहरुलाई असफल भएको पुष्टि गर्दै सडकमा पुर्याएको बेला हुन गईरहेको प्रतिनिधि सभाको चुनाव विगतमा हुने चुनाव भन्दा धेरै फरक छ । हाम्रो पार्टी यतिवेला हुने प्रतिनिधि सभाको निर्वाचनमा देश, जनता र जेनजी विद्रोहका मागहरु पुरा गराउन सहभागी हुदैछ ।’
माओवादीले कालिकोटमा जनयुद्धका संस्थापक क्रान्तिकारी तथा राष्ट्रबादी नेता खड्गबहादुर विश्वकर्मा (.प्रकाण्ड सी) चुनावी मैदानमा उत्रिएको उल्लेख गर्दै उहाँ कालिकोट मात्र नभई कर्णालीकै जनताको मुक्तिको लागि समाजमा भएका सबै प्रकारका विभेदहरुको अन्त्यका गर्न लामो समयदेखि संघर्षरत राष्ट्रिय नेता भएकाले अमुल्य मत दिएर जिताउन पनि अपिल गरेको छ ।
‘प्रकाण्डलाई कालिकोटवासी जनताले आफ्नो अमुल्य मत दिएर विजय गराउनु हुनेछ भन्ने हामीले पूर्ण विश्वास लिएका छौ’ माओवादीको अपिलमा उल्लेख छ ।
माओवादी पार्टी नेपाली विशेषताको समाजवाद र राष्ट्रिय स्वाधीनताको रक्षाको पक्षमा खरो रुपमा उभिएको दाबी गर्दै पार्टीले चुनावलाई पनि एउटा संघर्षको मोर्चाका रुपमा लिएको अपिलमा भनिएको छ ।
नेकपा माओवादीले चुनावी संघर्षको मोर्चामा देश विदेशमा रहनु भएका सबै कालिकोटबासी आदरणीय मतदाताहरुलाई जिल्लामा फर्केर मतदान कार्यमा सहभागी हुन विनम्र आग्रह समेत गरेको छ ।
विज्ञप्ति पूर्णपाठ
