२० कार्तिक, काठमाडौ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सीले पार्टी छोडेकाहरुलाई कडा टिप्पणी गर्दै अवसरवादीहरू हाहा हुहु गर्दै हिडेको बताउनु भएको छ ।
नेकपाले विहिवार काठमाडौमा आयोजना गरेको विशाल जनसभालाई सम्वोधन गर्दै महासचिव विप्वल सीले पार्टी छोडेर एकताको नाममा कुनै रस विना प्रचण्ड र माधव नेपालसंग गएकाहरुलाई यस्तो टिप्पणी गर्नु भएको हो ।
उहाँले भन्नु भयो ‘अवसरवादीहरू हाहा हुहु गर्दै हिँड्छन् हामीलाई कुनै सरोकार छैन । नेपालमा एकताको राजनीतिक सिजन चलेको छ । मान्छेले खुट्टा टेक्न पनि बिर्सेलान् जस्तो छ । हल्लैहल्लामा डाँडा काट्न बेर छैन । आजको दिन हल्लामा दौडिन कोही जरुरी छैन । हामीले नेपाली जनतालाई स्पष्ट पार्न जरुरी छ ।’
उहाँले नेपालका कम्युनिष्टहरु बिच एकता हुन जरुरी भएको भन्दै तर कसको एकता ? कस्तो एकता ? कसरी एकता ? कहाँ पुग्ने एकता ? यो कुरा बुझेनौ भने खरानी बन्ने अवस्था आउन सक्ने चेतावनी दिनु भयो ।
‘नेपाली इतिहासमा एकताले सधैँ राम्रो गरेको छ भन्ने होइन । विचार पु¥याइएन भने एकताले धिपधिपे दियो पनि निभाउने खतरा हुन्छ । एकताले कहिले आगो लिएर आउँछन् । प्रकाश लिएर आउँछन् । कहिलेकाहीँ आगो निभाउने गरी आउँछन् । हामी सतर्क हुनुपर्छ’ महासचिव विप्लवले भन्नु भयो ।
उहाँले पुष्पलालले बनाएको जस्तै एउटै कम्युनिस्ट केन्द्र बनाउनुपर्छ भन्ने पक्षमा नेकपा रहेको स्पष्ट पार्नुभयो ।
महासचिव विप्लवले समाजवादी मोर्चासँग सहकार्य गर्ने शक्ति नेकपा भएको भन्दै समाजवादी मोर्चा देशव्यापी चल्न नसकेको र मोर्चा सडकमा जान नमानेको खुलासा गर्नु भयो ।
‘दलाली, भ्रष्टाचार, राष्ट्रघातक विरुद्ध लड्नुपथ्र्यो । तर समाजवादी मोर्चा गाँजा खाएर सुतेको बिरामी जस्तो शिथिल भयो । हामी इमानदारीपूर्वक गर्ने हो । ढाँटछल दुई दिन झिलिमिली गर्नेको भविष्य छैन नेपालमा’ महासचिव विप्लवले भन्नु भयो, ‘एकतामा आउने पार्टी र नेताहरू निष्कलङ्क हुनुपर्छ । जनताले विश्वास गर्ने हुनुपर्छ । उसले भनेको कुरामा जनता लड्न मर्न तयार हुनुपर्छ । एकताले विगतमा योगदान गरेका नेताहरूलाई रक्षा गर्नुपर्छ । उनीहरुले धेरै जेलनेल खाएका छन् । उनीहरूलाई हाम्रो एकताले अपमान होइन सम्मान गर्नुपर्छ ।’
महासचिव विप्लवले १० वटा दलले गरेको एकतालाई शुभकामना दिदै त्यो नवरसमा आफ्नो रस मिसिन नसकेको बताउनु भयो ।
महासचिव विप्लवले भन्नु भयो ‘पुराना नेतासँग युवा नेताहरू रिसाइराखेको अवस्था छ । कपाल फुलिसके । बुढौली लागिसक्यो । भारी बोकाएका छौँ । किन यति दुःख दिएको । युवाहरू सक्षम छैनन् ? हामी भारी बोक्छौँ भन्न भनेर देशभरी सुझाव छ । हाम्रा अग्रजले उठाएको भारी अब बुढा नेतालाई बोकाउन हुँदैन । तर समस्या के छ भने बोक्ने मान्छे बिसाउन तयार छैनन् ।’
उहाँले आलुको भारी, धानको भारी वा पैसाकै भारी भएको भए एउटा कालखण्डपछि पुराना पुस्ताका नेताहरुले दिने थिए होला भन्नु भयो ।
‘राजनीतिक भारी बढो अचम्मको हुने रहेछ । मर्ने, पिस्ने तर मरे नदिने के होला यो भारी ? तर त्यो भारी नयाँ पुस्तालाई हस्तान्तरण गर्न सक्नुभएन’ महासचिव विप्लवले भन्नु भयो, ‘एउटा स्पष्ट विचार, सिद्धान्त, दृष्टिकोण सहितको आन्दोलन दिन सक्नुभएन भने तपाईँ सिद्धिएको दिन नेपालमा कम्युनिस्ट आन्दोलन समाप्त हुने खतरा छ । मागेर खाने लाछी जात होइन कम्युनिस्ट । विदेशमा गएर रोएर बस्ने जात होइन कम्युनिस्ट ।’
उहाँले नयाँ विचार, सिद्धान्त र नयाँ युवा नेता सहित कम्युनिष्ट केन्द्र बनाउने गरी एकता गर्न नेकपा सधैभ तयार भएको पनि स्पष्ट पार्नु भयो ।