मूल्यवृद्धिको विरोधमा सुडानमा विशाल प्रदर्शन, सुरक्षाकर्मीद्वारा अश्रुग्यास प्रहार

चैत्र २४, खार्तुम ।  खाद्यन्न र इन्धनमा गरिएको मूल्यवृद्धिको विरोधमा सुडानमा सुरु भएको प्रदर्शन थप चर्किएको छ ।

चार महिनादेखि विरोधमा सहभागी हुँदै आएका प्रदर्शनकारीहरु राजधानी खार्तुम स्थित राष्ट्रपति भवन नजिकै रहेको सैनिक मुख्यालयसम्म पुगेका छन् । प्रदर्शनकारीहरु सैन्य मुख्यालयमै पुगेपछि सुरक्षाकर्मीले अश्रुग्यास प्रहार गरेको छ ।

राष्ट्रपति ओमार अल वसिर विरुद्ध नारा लगाउँदै अघि बढेका प्रदर्शनकारीहरुलाई रोक्ने क्रममा सुरक्षाकर्मीले अश्रुग्यास प्रहार गरेको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएकाछन् ।

प्रदर्शनकारीहरुले राष्ट्रपतिको राजीनामा नआएसम्म आन्दोलन नरोक्ने चेतावनी दिएका छन् । मानव अधिकार समूह ह्यूमन राइट्स वाचले प्रदर्शनका क्रममा सुरक्षा फौजको कारबाहीमा बालबालिका समेत ४० बढीको मृत्यु भइसकेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस