देशभक्त समाज पार्टीका केन्द्रीय सदस्य तथा राष्ट्रिय कराँते खेलाडी प्रेमसिंह तिरुवाले प्रतिनिधि सभाको निर्वाचनमा सहभागी हुन माघ ६ गते कालिकोटबाट उम्मेदवारी दर्ता गराउनु भयो । नेपाली कम्युनिष्ट पार्टीका नेता महेन्द्रबहादुर शाहीको जन्मघर पचालझरना गाउँपालिका वडानम्वर ९ तिखातीका खेलाडी तिरुवाले उम्मेदवारी दिएपनि अन्ततः फिर्ता लिएर नेकपा (माओवादी)का प्रबक्ता प्रकाण्ड सीलाई सहमति जनाउनु भएको छ । हाल उहाँ प्रकाण्डको साथमा चुनाव प्रचार प्रसारमा खुलेर लाग्नु भएको छ । उहाँले आफ्नै वडावासी उम्मेदवार शाही भएपनि उहाँलाई नै चुनौती दिदै प्रकाण्डलाई सहमति जनाउनु भयो । उम्मेदवारी दिएर फिर्ता लिइ माओवादीका प्रवक्ता प्रकाण्डलाई सहमति जनाउने खेलाडी तिरुवासंग आफ्नै गाउँका उम्मेदवारलाई सहमति नदिएर र प्रकाण्डलाई किन सहमति दिनु भएको हो ? लगायत समसामयिक विषयमा पत्रकार कृष्ण विकले उहाँसंग गरेको कुराकानी यहाँ प्रस्तुत गरेका छौ ।
सर्वप्रथम यहाँलाई स्वागत छ
धन्यवाद ! नमस्कार !
तपाईले कालिकोट जिल्लाबाट प्रतिनिधि सभा निर्वाचनमा सहभागी हुन प्रत्यक्षतर्फको उम्मेदवारी दिनु भयो । तर फेरी फिर्ता लिएर खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) सी लाई सहमति दिनु भयो । किन ?
अब चुनावी मैदानमा यो अहिलेको जेनजी आन्दोलनपछि हामी पनि राष्ट्र संकटमा छ,राष्ट्र जोगाउन केही गर्नु पर्छ भनेर उम्मेदवारी लिएर यहाँ आएका थियौ । त्यसको वावजुद पनि के देखियो भने कालिकोट जिल्लामा उम्मेदवारहरु धेरै देखिए । तर जित्ने सम्भावना भएको एउटा व्यक्तिमात्रै प्रकाण्ड हो । जो कि राष्ट्रिय राजनीतिसंग पहुच भएको, लिडरसिप गर्न सक्ने खालको कर्णालीलाई चिनाउन सक्ने खालको, कर्णालीलाई ब्राण्ड बनाउने खालको व्यक्ति भनेको खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) सी भएको हुदा हामीले चाँही उहाँलाई सहमति गर्ने पार्टीको सल्लाह र मेरो व्यक्तिगत धारणाले पनि उहाँलाई सहमति गर्न पुगेका हौं ।
नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट उम्मेदवारी दिनु भएका महेन्द्र शाही र तपाई एउटै वडावासी पनि हो र छिमेकी पनि हो, तर शाहीलाई सहमति नदिएर सिधै प्रकाण्डलाई सहमति दिनु भयो नि ?
यो अहिलेको आवश्यकता हो । अब अहिले मिडियामा चौतर्फि उहाँको भिडियो व्यापक छ । अहिले भाईरल भईरहेको छ । हिजो महेन्द्रको आवश्यकता थियो । आवश्यकता ठानेर धेरै पटक पठाएका हौं । १५ बर्षसम्म तीन –तीन पटक चुनाव जिताएर काँधमा राखेर त्यहाँ पुगाएका पनि थियौ । तर उहाँले संसदमा ‘सुत्ने र घुर्ने’ वाहेक अरु काम केही गर्न सक्नु भएन । बरु महेन्द्र शाहीका कारण कालिकोट घर भन्दाखेरी काठमाडौका जनताले चिन्ने अवस्था छैन । हामीले सुर्खेत घर भन्नुपर्ने अवस्था आएको हुदा अब महेन्द्र शाही ज्यू तपाई न्यूटलमा वस्नु पर्छ, हामी नेतृत्व गर्छौ भनेर चाँही हामीले सहमति नजनाएको अवस्था पनि हो ।
तपाईले महेन्द्रलाई चुनौती दिन प्रकाण्डलाई सहमति दिनु भएको हो ?
सही हो । यो खासमा महेन्द्र शाहीसंग मेरो छिमेकी दाई भएर पनि सहमति गर्नु भएन । माल्कोटमा गएर प्रकाण्डलाई सहमति गर्नु भयो भन्ने जुन तर्क छ, कुरो के हो भने महेन्द्र शाहीमा पनि राष्ट्रिय राजनीतिमा लिडिङ्ग गर्ने खालको क्षमता भएको भए हामीले सहमति गथ्र्यौ नगर्ने होईन । तीन –तीन कार्यकाल उहाँलाई सरकारमा पठायौ । सहयोग गरेकै हो । तर उहाँमा त्यो क्षमता देखिएन । राष्ट्रिय राजनीतिमा कालिकोट जिल्लाका नेतृत्वहरुले जिल्लाका जनताहरुको नेतृत्व गर्नुपर्छ भनेर पनि हामी उम्मेदवार उठेका थियौ । अबको राजनीतिमा कालिकोटका जनताले कालिकोटका लिडरपंक्तिहरुले नेतृत्व गर्नुपर्छ र हातमा लिनुपर्छ भन्ने एउटा मनसायले नै प्रकाण्डलाई सहमति गरेका हौ ।
तपाई र प्रकाण्डलाई जनताले विश्वास गर्छन त ?
तपाईले मतदाताहरुका विषयमा कुरा गर्नु भएको छ । अहिले हाम्रो पालीकामा र समग्र कालिकोटमा प्रकाण्डमय भएको तपाईले देखिरहनु भएको छ । सहिद परिवार र जनताको कुरा सुनिरहनु भएको छ । जनता र सहिद परिवारले प्रकाण्डसंग वसेर आफ्ना गुनासो राखेका छन र समर्थन पनि गरेका छन । जनताका गुनासा बुझदै गर्दाखेरी कालिकोट जिल्ला प्रकाण्डमय भएको कुरा हामी देखिरहेका छौ । उहाँको जित्ने सम्भावना छ । उहाँको जित हुन्छ । दोस्रो कुरा मतदाताहरु अहिले जागिसकेका छन । सोझो उत्पीडित परिवारहरु पैसामा, रक्सीमा, ५सय हजारमा विक्छन भन्थे अहिले विक्ने अवस्था छैन । त्यसैले आफ्नो भोट खेर कोही फाल्नेवाला छैनन् । अस्ती नै महेन्द्र शाही चुनावमा नउठ्नु पर्ने,कि जीवन बुढालाई दिनु पथ्र्यो कि प्रकाण्डसंग सहमति गराउनु पथ्र्यो । अब विजय प्रकाण्ड कै हो । सबै क्रान्तिकारीहरु,वामपन्थी शक्तिहरु एकजुट भएर लागिसकेका छन ।
तपाई महेन्द्र शाहीको वडावासी पर्नु भयो, तपाईले समर्थन गरेको उम्मेदवारका लागि कत्ति भोट आउछ त ?
अब म प्रष्ट भन्न चाहान्छु । यो भन्दा अगाडि दलितहरुलाई भोटर बैङ्कको रुपमा प्रयोग गरिएको छ । र अहिले पनि त्यहि सपना देख्नु भएको छ । तर जनता जागीसकेका छन । हिजोका दलितहरु र आजका दलितहरुमा धेरै आकास पातलको फरक छ । यो एक टुक्की रक्सी र दुई फिड्का मासुमा विक्ने भन्ने कुराले दलितहरुलाई बदनाम पनि गराईएको थियो । यहाँबाट तपाई दलित सुमदायहरु सचेत रहनु होला । दलित समुदाय सचेत भईसकेका पनि छन । जनताहरुलाई हिजो नेताहरुले व्याङगे गरेर भनेका थिए । कालिकोटको जनतालाई नुन फाले पुग्छ, एक टुक्की रक्सी दिए पुग्छ भन्नेखालको थियो । यो अब सम्भव छैन । धेरै जनताले प्रकाण्डलाई भोट दिनेछन । महेन्द्रले नै आफै चुनाव जितेर गईसकेपछि पनि दलितमाथि घृणीत खालको व्यवहार गरेको महशुस भएको छ ।
महेन्द्र शाहीले विकास गरे भन्ने हल्ला छ नि के हो ?
यो विकासको क्रम यस्तो हो खासमा जनताहरु भ्रमित हुनु हुन्छ । अब यो भ्रम चिर्नुपर्छ हामीहरुले । यो विकास भनेको सिंहदवारबाट उहाँले संसदवाट खोसेर ल्याएको बजेट होईन । यो बजेट खलो दिएको बजेट हो । खलो दिएको बजेटमा अटमेटिक नियमित हुने विकास हो । उहाँले गरेको केही पनि छैन । बरु प्रकाण्डको समयमा ठुलो ठुलो काम भएको छ । यो झुट्टो कुरा हो । जनताहरु भ्रममा नपुर्नहोस भन्न चाहान्छु । उपभोक्ता समितिहरुले पनि प्रदेशबाट जिल्लाबाट, पालिकाबाट योजनाहरु छुट्यायौ भन्छन, त्यो छुट्याएको वजेटमा उपभोक्ता बन्ने सिस्टम छ, त्यो सिस्टम प्रणालीमा जाँदाखेरी मैले बनाएको भन्छन । यो जिल्लाले दिएको हो । प्रदेशले दिएको हो भन्ने कुरा जनताले बुझन जरुरी छ । यो महेन्द्र शाहीले ल्याएर गरिदिएको होईन । यो त केन्द्रसरकारले खलो दिएको बजेट हो । अटमेटिक विकास भएको हो । विकासको नाममा विनास कत्ति भएको छ, त्यसभित्र कत्ति आसेपासेहरु पालिएका छन भन्ने कुरा जनताले बुझन जरुरी छ ।
कालिकोटको जनताको प्लेन चढने हैशियत छैन भनेर महेन्द्रले बोल्दा यो कुरा विवादित भएको थियो यसमा के भन्नु हुन्छ ?
प्लेन चढने र गाडी चढने हैशियतको कुरा धेरै कुरा नगरौ । उहाँलाई मुख्यमन्त्री बनाउने र उहाँका छोरा छोरीहरुलाई अमेरिका पु्ग्ने हैशियत यहि कालिकोट जिल्लाका जनताले बनाई दिए । तर उहाँले यहि कालिकोटका जनतालाई प्लेन चढने हैशियत छैन भनिदनु भएको छ । उहाँले धेरै नमज्जा खालको एउटा सन्देश वाहिर ल्याई दिनु भयो । यो कुरामा उहाँ अहिले आफै आलोचित हुुनुपर्ने थियो । यो पनि स्वीकार्नु भएको छैन । उहाँमा ठुलो ‘म वाद र घमण्ड’ छ । यसले उहाँलाई नै सिध्याउछ ।
तपाईलाई समयका लागि धेरै– धेरै धन्यवाद ।
धन्यवाद ।