चैत्र, ३० क्वालालाम्पुर । आईसीसी १९ वर्षमुनिको एकदिवसीय विश्वकप क्रिकेटका लागि मलेसियामा जारी एसिया छनोटको दोस्रो खेलमा नेपाल पराजित भएको छ ।
आज भएको खेलमा नेपाल युनाईटेड अरब इमिरेट्स (युएई) संग डकवर्थ लेविस (डिएल) पद्दतिको आधारमा १ रनले पराजित भएको हो । क्वालाम्पुरस्थित सिलानगोर टर्फ क्लबको मैदानमा वर्षा बाधक बनेपछि नेपालले पराजय व्यहोरेको हो । नेपालले दिएको २ सय ४८ रनको लक्ष्यसहित युएईले जवाफी ब्याटिङ गरिरहँदा पानी परेपछि खेल रोकिएको थियो ।
त्यसपछि निरन्तर परेको वर्षाले खेल हुने सम्भावना सकिंदा खेलको निर्णय डिएलबाट गरिएको थियो । डिएलमा युएईले ३० ओभरमा जितका लागि १ सय २२ रनको नयाँ लक्ष्य पाएपछि नेपाल १ रनले पराजित भएको हो । वर्षाले खेल रोकिनु अघि युएईले ३० ओभरमा ३ विकेट गुमाएर १ सय २२ रन जोडेको थियो ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले पुरै ५० ओभरमा अलआउट हुँदै २ सय ४७ रन बनाएको थियो । नेपालको उच्च स्कोरमा भीम सार्की र हरि चौहानले अर्धशतकीय इनिङ्स खेल्नुभएको थियो । अविजित रहँदै हरिले ७४ बलमा ६७ रन बनाउनुभयो । यस्तै भीमले ५४ बलमा ५३ रनको योगदान दिनुभयो ।
वर्षा बाधक बनेको खेलमा पराजित भएसँगै छनोटको उपाधि जित्ने नेपालको लक्ष्यमा धक्का लागेको छ । २ खेलमा २ अंक जोडेको नेपाल तेस्रो स्थानमा छ । नेपालले पहिलो खेलमा सिंगापुरलाई २ सय १७ रनले पराजित गरेको थियो । अब नेपालले तेस्रो खेलमा आयोजक मलेसियासँग अप्रील १५ मा खेल्नेछ ।
प्रतिक्रिया दिनुहोस