फागुन ३, काठमाडौं । नेपाली महिला टोलीकी फरवार्ड साबित्रा भण्डारी भारतमा सम्पन्न हिरो गोल्ड कपको सर्वाधिक गोल कर्ता बनेकी छन्।
जारी प्रतियोगितामा ४ गोल गर्दै उनले सर्वाधिक गोलकर्ताको उपाधि स्वरूप नगद १ लाख भारतीय रूपैयाँ पुरस्कार पाएकी छन्।
उनले भारतविरूद्ध दुई गोल गरेकी थिइन् भने समूह चरणको अन्तिम खेलमा इरानविरूद्ध २ गोल गरेकी थिइन्।
शुक्रबार उडिसामा सम्पन्न फाइनलमा नेपाल म्यानमारसँग ३-१ ले पराजित भयो।
भारतको उडिसास्थित कालिङ्गा रंगशालामा म्यानमारलाई पहिलो हाफमा १–१ गोलको बराबरीमा रोके पनि दोस्रो हाफमा दुई गोल ब्यहोर्दै पराजित हुन पुग्यो
म्यानमारको जितमा यियि ओले २ तथा विन थिङ तुनले १ गोल गरिन्। नेपालका लागि मञ्जली कुमारी योञ्जनले एक गोल फर्काएकी थिइन्।
भारत र ईरानलाई हराउँदै फाईनल पुगेको नेपालले म्यानमारको चुनौती पार गर्न सकेन। लिग चरणको पहिलो खेलमा नेपाली टिम फिफा वरियतामा आफूभन्दा ६४ स्थानमाथि रहेको म्यानमारसँग ३–० ले पराजित भएको थियो।
साफ र ओलम्पक छनोटको तयारीका लागि भारतले प्रतियोगिताको आयोजना गरेको हो।