विदेशीहरुले बनाएको पाठ्यक्रमले नेपालको आर्थिक विकास सम्भव छैनः विप्लव सी

२ जेठ, कैलाली । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले विदेशीहरुले बनाएको पाठ्यक्रमले नेपालको आर्थिक विकास सम्भव नभएको बताउनु भएको छ ।
घोडाघोडी क्याम्पसले आयोजना गरेको ’एकेडिमीया इन्डस्ट्री डाइलग’ (शैक्षिक उद्योग अनुशिक्षण) कार्यक्रमलाई शुक्रबार सम्वोधन गर्दै महासचिव विप्लवले विदेशीहरुले बनाएको पाठ्यक्रमले नेपालको आर्थिक विकास सम्भव नभएको बताउनु भएको हो ।
महासचिव विप्लवले विद्यार्थीहरुलाई परम्परागत व्रिटिस अर्थशास्त्र मात्रै पढाउने की जनतालाई पैसा बनाउन पनि सिकाउने भनि प्रश्न गर्नु भयो ।
उहाँले भन्नु भयो ‘अब विदेशीहरुले बनाएको पाठ्यक्रमले मात्रै नेपालको आर्थिक विकासको दिशानिर्देश सम्भव हुदैन । हामीले विद्यार्थीलाई शास्त्रीय अर्थशास्त्र पढाउदै आएका छौं । तर त्यतिले मात्रै देशले समृद्धि प्राप्त गर्न सकेन । यसको मुख्य कारण हामी सङ्ग भएको श्रम र समयको प्रयोग र परिचालन हुन सकेन । यो नै हाम्रो आर्थिक विकासको प्रमुख समस्या हो ।’
महासचिव विप्लवले नेपालको राजनीति अर्थशास्त्र के हो ? यो कस्तो हुनुपर्छ ? भन्ने बिषय निक्र्यौल हुन नसकेको भन्दै अर्थशास्त्रलाई केहि सीमित बुद्धिजीवीको हातमा छोडिदिने गरिएको टिप्पणी गर्नु भयो ।
‘नेपालमा कृषि क्रान्ति सम्भावना र चुनौती’ शीर्षकमा आफ्नो प्रस्तुति समेत दिँदै महासचिव विप्लवले भन्नु भयो, ‘अघिल्लो पुस्ताले राजनीति संघर्ष ग¥यो तर आर्थिक पाटोमा ब्यवहारिक रूपमा सफल हुन सकेन । देशको आत्मनिर्भरताको लागि कृषि र समृद्धिका लागि उद्योग भन्ने मान्यता सहित आफू अगाडि बढिरहेको छु ।’
आफूहरुले जनयुद्ध र त्यसपछिको माओवादी आन्दोलनमा देखिएको आर्थिक दृष्टिकोण सम्बन्धि समस्यालाई कसरी हल गर्ने ? भन्नेबारे अनुसन्धान गरि श्रम,उत्पादन,अनुसन्धान र संघर्षलाई सिद्धान्त र व्यबहारको रूपमा सश्लेषण गरेको उहाँले जिकिर गर्नु भयो ।
नेकपाको कुनै व्यक्ति विशेषको कुरा होईन आम मान्छेको कुरा गरेको भन्दै महासचिव विप्लवले अमेरिका , युरोपदेखि दुनियाँमा जति पनि विकास भएको छ त्यसको प्रमुख कारण श्रम नै भएको दाबी गर्नु भयो ।
उहाँले समय र श्रमको सहि प्रयोग गर्ने हो भने सबै मान्छे रमाएर बाँच्ने बनाउन सकिने भनाई राख्दै त्यसका लागि देश र समाज सुहाउँदो नेपाली विशेषताको ब्यवहारिक अर्थशास्त्र जरुरी रहेको बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस