राजनीतिक उद्देश्य प्राप्त गर्न जेनजी विद्रोह असफल, सर्वपक्षीय सरकार गठन गर्नुपर्छ : विप्लव सी

२ कार्तिक, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले जेनजी विद्रोह राजनीतिक उद्देश्य प्राप्त गर्न असफल भएको बताउनु भएको छ ।

केन्द्रीय समितिको विशेष बैठकको निर्णय आइतबार काठमाडौँमा सार्वजनिक गर्ने क्रममा महासचिव विप्लव सीले उनीहरूको राजनीतिक उद्देश्य पुरा गर्न असफल भएको बताउनु भएको हो । ।

उहाँले भन्नुभयो, ‘जेनजी विद्रोहले सरकार, संसद् विघटन गर्न सफल भयो । अन्तरिम सरकार गठन भयो तर जेनजीले उठाएका माग पुरा भएन । सुशीला कार्की कसरी प्रधानमन्त्री बनिन्, मन्त्रीहरु कसरी बने भन्नेमा मतभेद छ । यत्रो विद्रोहपछि समस्याको हल हुनुपर्थ्यो । तर त्यसो नभई अर्को विद्रोह र अराजकतामा जाने खतरा देखियो । निर्वाचन प्रणाली, राज्यको शासकीय स्वरूप, संविधानको पुनर्लेखन लगायत एजेन्डा पुरा गर्न जेनजी विद्रोह असफल भएको हाम्रो पार्टीको निष्कर्ष छ ।’

महासचिव विप्लवले जेनजी पुस्ताले जुन एजेन्डा अगाडि सारेका थिए, ती प्रस्ताव नेकपाले धेरै अगाडिदेखि नै उठाउदै आएको बताउनुभयो । यद्यपि ती माग तत्कालीन केपी ओली सरकारले सामाजिक सञ्जालमा रोक लगाएकाले विस्फोट भएको जिकिर गर्नुभयो ।

‘जेनजीले जे माग उठाएका थिए, ती वास्तविक माग थिए । हामीले ठुलो सङ्घर्ष गरेर गणतन्त्र ल्यायौँ तर गणतन्त्रमा जसरी सबै पक्षलाई समेटेर सम्बोधन गर्नुपर्थ्यो । त्यो भएन । एक प्रकारले असफल जस्तै भए । ठुलठुला भ्रष्टाचार भयो । एमसीसी पास भयो । मुलुकमा बेथिति बढ्दै गयो’, उहाँले भन्नुभयो– ‘यी सबै समस्या समाधानका लागि क्रान्तिकारी कम्युनिस्ट, देशभक्तहरूको संयुक्त सरकार गठन गर्नुपर्छ । जेनजीहरुलाई समेत समेटेर प्रत्यक्ष कार्यकारी निर्वाचन, निर्वाचन प्रणालीमा सुधार र संविधानको पुनर्लेखन गर्नुपर्छ ।’

प्रतिक्रिया दिनुहोस