पार्टी प्रवक्ता प्रकाण्डको नेतृत्वमा नेकपा (माओवादी) निर्वाचनमा जाने

६ माघ, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी)ले पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’को नेतृत्वमा प्रतिनिधि सभा निर्वाचनमा जाने भएको छ । पार्टी महासचिव विप्लव सीले मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै नेकपा (माओवादी) फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनमा पार्टी प्रवक्ता प्रकाण्डकाे नेतृत्वमा आजै देशभर उम्मेदवारी दर्ता गर्ने तयारीमा रहेको जानकारी गराउनुभएकाे हाे ।

विज्ञप्तिमा जेनजी विद्रोहपछिको नवीन परिस्थितिमा मुख्य मागहरू पुरा नभएका कारण पार्टी संसद्मा सशक्त आवाज उठाउन निर्वाचनमा जान लागेको उल्लेख छ। विज्ञप्तिमा भनिएको छ, “जेनजी विद्रोहपछिको परिस्थितिमा हाम्रो पार्टी जेनजीका मुख्य मागहरू-सर्वपक्षीय अन्तरिम सरकार, भ्रष्टाचारीमाथि कार्यवाही, उच्चस्तरीय छानबिन आयोग र न्यायालयको गठन, संविधानको पुनर्लेखन, अग्राधिकारसहित समाजवादी संघीयतासहितको राज्यको पुनर्संरचना-पूरा गरेर निर्वाचनमा जानु पर्थ्यो। तर दलहरूको बेवास्ता, सरकारको निरीहता र विदेशी तत्वहरूको दबाबका कारण ती कामहरू हुन सकेनन् वा गर्न दिइएन। उल्टै हतार–हतार चुनावमा धकेलिएको छ। तथापि, उल्लेखित प्रस्तावहरूका पक्षमा सशक्त रूपमा संसद्मा आवाज उठाउन र राज्य रुपान्तरणको सार्थक पहल गर्न पार्टी निर्वाचनमा भाग लिदैँछ।”

नेकपाले १२ वर्षदेखि भ्रष्टाचार, दलाली, राष्ट्रघात र जनघातका विरुद्ध निरन्तर संघर्ष गर्दै आएको, गरिरहेको बलिदान र प्राप्त उपलब्धिहरू नेपाली नागरिकलाई स्पष्ट भएकाले निर्वाचनमा पूर्ण समर्थन मिल्ने विश्वास व्यक्त गरेको छ।

स्रोतका अनुसार, सोमबार बसेको नेकपाको स्थायी समिति बैठकले मूल नेतृत्वले भने निर्वाचनमा भाग नलिने निर्णय गरेको थियो। जसअनुसार महासचिव विप्लव चुनाव नलड्ने भएका छन् ।

प्रतिक्रिया दिनुहोस