७ असार, बाँके । नेपाल कम्युनिष्ट पार्टी बाँकेले जिल्लामा यो बर्ष ३ विगाह जमिनमा धान रोप्ने तयारी गरेको छ ।
नेकपाले कोहलपुरको वेस्टन स्कुल नजिकै र हवल्दारपुरमा गरी ३ विगाह जमिनमा यो बर्ष धान रोप्ने तयारी गरेको हो ।
नेकपाले धान रोप्नको लागि करिव १ क्वीन्टल धानको व्याड यसअघि नै राखि सकेको छ । धान रोप्ने तयारीका विषयमा थप ठोश निर्णय गर्न शनिवार कोहलपुरका बसेको नेकपा बाँकेको अनौपचारिक बैठकले उत्पादनको स्वामित्वकोवारे केही महत्वपूर्ण निर्णय गरेको छ ।
नेकपाले जिल्लामा भएका सबै नेता कार्यकर्ताहरुको उत्पादनमा शेयर हुने गरी उत्पादनको कार्य गर्ने निर्णय गरेको जिल्ला सेक्रेटरी दिपकले जानकारी दिनु भयो ।
नेकपाले उत्पादनको एक हिस्सा पार्टीको शेयर हुने गरी जिल्लामा भएका अरु सबै नेता कार्यकर्ताहरुले शेयर लगानी गर्न सक्ने नीतिगत निर्णय गरेको छ । नेकपाले शेयर र लगानी (पुँजी र श्रम) अनुसार कृषि उत्पादनको वितरण गरिने निर्णय गरेको छ ।
बैठकमा जिल्ला सदस्यहरुले विगतमा एकीकृत स्वामित्वमा उत्पादनको काम हुन नसकेको भन्दै आउने दिनहरुमा एकीकृत स्वामित्वको प्रणाली अनुसार उत्पादन गर्नु पर्ने सुझाव दिएका थिए ।
बैैठकले नेता कार्यकर्ताले १ दिन सामुहिक उत्पादनमा अनिवार्य श्रमदान गर्नुपर्ने निर्णय पनि गरेको छ । नेता कार्यकर्ताको त्यो वाहेक अरु दिन गरेको श्रमको पनि नेकपाले प्रतिदिन ६ सयका दरले श्रममुल्य जोड्ने छ । जसलाई शेयरको रुपमा समेत लगानी गर्न सकिने छ ।
नेकपाको यो निर्णयले जिल्लाका नेता कार्यकर्ताहरुलाई उत्पादनको योजनामा थप उत्साहित गरेको नेकपा बाँकेका जिल्ला सदस्य महिमा सीले बताउनु भयो ।
बैठकलाई नेकपाका जिल्ला इन्चार्ज रक्तिम सीले सम्वोधन गर्दै नेकपाको वरिपरि देश आएको बताउदै कृषि उत्पादनको नीतिले नेकपा जनतामा स्थापित भएको बताउनु भयो ।
उहाँले जिल्लामा हुने उत्पादन एकीकृत स्वामित्वको प्रणाली अनुसार सबै नेता कार्यकर्ताहरुको स्वामित्व हुने गरी उत्पादन हुने बताउनु भयो ।
इन्चार्ज रक्तिम सीले नेकपा बाँकेले समाजवादी उत्पादन प्रणालीको सुरुवात गरेको जिकिर गर्दै देशलाई नै समाजवादमा लिन नेकपा जस्तो सुकै त्याग गर्न तयार भएको दाबी गर्नु भयो ।
उहाँले नेपालमा समाजवाद स्थापनाका लागि एकपटक नेकपाको कृषि उत्पादनमा सबैले साथ दिन पनि आग्रह गर्नु भयो ।
बैठकमा जनपत्रकार संगठन नेपालका केन्द्रीय सचिव वसन्त विकले उत्पादनको कार्यलाई व्यवस्थित गर्न सुझाव दिनु भयो ।
जिल्ला सेक्रेटरी दिपक सीले जिल्लामा आगामी दिनमा १० विगाह भन्दा बढी जमिनमा उत्पादन गर्ने लक्ष्य रहेको जानकारी दिनु भयो । बैठकले उत्पादन कार्यसंगै पार्टीलाई जिल्लामा सृदृढ तथा व्यवस्थित गर्ने पनि निर्णय गरेको छ ।