आज तीज पर्व मनाइँदै, देशभरका शिवालयहरु बन्द

 भदौ ५, काठमाडौं भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका तीज पर्व आज महादेवको पूजा आराधना गरी मनाइँदैछ ।

आजको दिन व्रत बसी शिव–पार्वतीको पूजा, उपासना गरेमा सुख, शान्ति र परिवारको कल्याण हुने धार्मिक विश्वास छ ।

शिव–पार्वतीको पूजा गरेपछि नाचगान गर्ने चलन पनि छ । कोरोना भाइरस संक्रमणको जोखिमका कारण यस वर्ष तीजमा सामूहिक भेला हुन रोक लगाइएको छ ।

साथै पर्वका अवसरमा देशभरका शिवालय मन्दिरहरु बन्द गरिएका छन् ।

सत्ययुगमा आजैको दिन निराहार व्रत बसी पार्वतीले महादेव स्वामी पाएकीले आजको दिनमा व्रत बस्दा मनोकामना पूरा हुने विश्वास छ । तर यसको अर्थ सबै नारी निराहार व्रत बस्नुपर्छ भन्ने नरहेको धर्मशास्त्रविद् प्रा. डा. रामचन्द्र गौतमले बताउनु भयो ।

‘निराहार, जलाहार र फलाहार गरी व्रतका तीन किसिम छन्, सक्नेले निराहार, नसक्नेले जलाहार र जलाहार पनि नसक्नेले फलाहार व्रत गर्नु उत्तम हुन्छ’, उहाले भन्नु भयो । स्वास्थ्य ठीक नहुनेले गहुँको रोटी, मकैको रोटी, स्याउ, सुन्तला, केरा जस्ता फलाहार गरेर पनि व्रत बस्न सकिने पनि उहाले जानकारी दिनु भयो ।

अटल सौभाग्यको कामनाका लागि, सन्तान प्राप्तिका लागि, अविवाहित केटी एवं केटाहरुले असल वर र बधु प्राप्तिका लागि पनि तीजको व्रत बस्ने शास्त्रीय विधान रहेको धर्मशास्त्रका जानकारहरु बताउँछन् । समग्रमा मनोकामना पूर्ण गराउने र सम्पूर्ण परिवारको कल्याणका लागि यो व्रतको प्रयोजन रहेकोे धर्मशास्त्रीहरुको मत छ ।

यो व्रत सक्नेले निराहार बस्ने भएकाले अघिल्लो दिन व्रतालुहरुले मीठा मीठा परिकार दरका रुपमा खाई आजको व्रतका लागि पूर्व तयारी गर्छन् । विशेषगरी माइती एवं दाजुभाइले छोरीचेली, दिदीबहिनीलाई बोलाई दर खुवाउने गर्दछन् ।

तीजको अवसरमा महिलाहरुले वर्षदिनभर आफूलाई परेका दुःख, पीर, मर्कालाई गीतका माध्यमबाट सार्वजनिक पनि गर्दछन् ।

बिहीबार दर खाएपछि औपचारिक रुपमा शुरु हुने तीज पर्व ऋषि पञ्चमीसम्म मनाइन्छ । तृतीयाका दिन हरितालिका व्रत, चौथीका दिन गणेश भगवानको पूजा र पञ्चमीका दिन स्नान गरी अरुन्धती सहित सप्तऋषिको पूजा गरी तीज समापन हुन्छ ।

प्रतिक्रिया दिनुहोस