‘अनपेक्षित क्रान्तिले निरन्तरता पाएको दिन मंसिर ८ गते हो’

नेपाल कम्युनिष्ट पार्टीको पार्टी पूनर्गठन दिवस मंसिर ८ गते आईपुग्दैछ । देशभर नेकपाले मंसिर ८ गतेलाई उत्सवको रुपमा मनाउने तयारी गरेको छ । माओवादी शान्ति प्रक्रियामा आईसकेपछि त्यसको नेतृत्व जनयुद्धको लक्ष्य र उद्देश्यबाट विचलनतिर गएको मत राख्दै मोहन बैद्य (किरण) र विप्लवको विशेष पहलमा २०६९ साल असारमा पहिलो पटक माओवादी क्रान्तिकारीहरुको पूनर्गठन गरेर पार्टीको नाम नेकपा – माओवादी राखिएको थियो । त्यसपछि बैद्यको नेतृत्वमा क्रान्ति अगाडि जाहोस भन्ने चाहाना विप्लवको थियो । तर बैद्यसंगको अपेक्षा पनि पुरा नहुने देखेर विप्लवले आफ्नै नेतृत्वमा २०७१ साल मंसिर ८ गते (जनमुक्ति सेना घोषणा दिवस) पारेर नेकपा –माओवादीलाई पूनर्गठन गरे । पार्टीको आठौं महाधिवेशनसम्म पुग्दा पार्टीको नाम ‘नेपाल कम्युनिष्ट पार्टी’ मात्र राखेर एकीकृत जनक्रान्तिको नेतृत्व गरे । आज यो पार्टी पूनर्गठन भएको १० बर्ष पुरा भएको छ । अब ११ वर्ष प्रवेशमा जादैछ । यो पार्टी पूनर्गठनको दिनलाई नेकपाका नेताहरुले कसरी सम्झिदैछन ? १० बर्षसम्म यो पार्टीले के कस्ता सफलता प्राप्त गर्यो ? भनेर नेकपाका स्थायी समिति सदस्य तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज भरत सी ‘रणवीर’ संग पत्रकार बसन्त विकले गरेको समसामयिक अन्तरवार्ता यहाँ प्रस्तुत गरेका छौ

तपाई नेकपाको स्थायी समिति सदस्य तथा सुदूरपश्चिम प्रदेशको इन्चार्ज हुनुहुन्छ, मंसिर ८ गतेको पार्टी पूनर्गठनको दिनलाई कसरी सम्झिनु हुन्छ ?

धन्यवाद ! अनपेक्षित क्रान्तिले निरन्तरता पाएको दिनको रुपमा मंसिर ८ लाई सम्झिनु पर्छ । अनपेक्षित यसकारण कि संसारमा नेतृत्वको यो तहबाट क्रान्तिले निरन्ंतरता पाएको प्रायः देखिदैन ।

पार्टी पूनर्गठनको आवश्यकता र औचित्य पुष्टि भएन कि भन्नेहरु पनि छन् यसलाई कसरी पुष्टि गर्नु हुन्छ ?

पूनर्गठनको आवश्यकता र औचित्य शानदार रूपमा पुष्टि भएको छ । बरु यसमा २ तथ्य र तर्क छन । पहिलो, पुरानो सत्ता र शासक असफल भएका छन । परिणामतः संविधान संशोधनको बहस छ । दोस्रो, वैकल्पिक विचार – व्यबहार (उत्पादन ) सहित नेकपा स्थापित भएको छ र एकपटक विप्लवलाई हेरौं भन्नेमा जनता छन ।

पार्टी पूनर्गठन भएको यहि मंसिर ८ गते १० बर्ष पुरा भएर ११ बर्ष प्रवेश हुदैछ, यो अवधिमा पार्टीका खास उपलव्धी के के हुन ?

१० वर्षको उपलब्धिलाई हामीले गहिरो गरी बुझ्नु पर्छ । यसलाई बुँदागत रुपमा भन्दा यसरी भन्न सकिन्छ–
१) एकीकृत जनक्रान्तिको संश्लेषण हो । जसले विश्वमा समाजवादी सत्ता र नेपालमा जनयुद्धले खाएको धक्काबाट सिक्दै क्रान्तिको सफलता र समाजवादी सत्ताको निरन्तरताको सापेक्ष निश्चितता गर्छ ।
२) नेकपा वैकल्पिक राजनीतिक शक्तिको रूपमा स्थापित भएको छ ।
३) नेतृत्वको संकटबाट गुज्रिएको हाम्रो देशमा त्यसको हल दिनेगरी विप्लवको नेतृत्व स्थापित भएको छ ।
४) झन्डै १०० वर्षको नेपाली क्रान्तिको इतिहासमा भाग लिएका र योगदान गरेका क्रान्तिकारीहरुको आशा मर्न दिएको छैन र आशावाद जगाएको छ ।
५) भन्ने मात्रै हैन गर्ने पार्टीको रूपमा पहिलोपटक उत्पादन कार्यमा योजनाबद्ध प्रवेश गर्दै आत्मनिर्भर र स्वाधीन हुन प्रेरित गर्न सफल भएको छ ।

यो अवधिमा पार्टीले लिएको लाईन, संश्लेषण गरेका विचार र विकास गरेको एकीकृत जनक्रान्तिको कार्यदिशा जनतासम्म पुग्न सकेन कि, जसले गर्दा नेकपाप्रति जनलहर अझै आकर्षित हुन सकेन कि भन्ने प्रश्नहरु उठेका छन नि ! के भन्नु हुन्छ ?

राजनीतिक परिवर्तनका एजेन्डासहित जनतामा पुग्ने पार्टी नेकपा नै हो र अहिले जनताको आकर्षण पनि छ । जहाँसम्म वस्तुगत आवश्यकताको तहमा पुगेको छैन कि भन्ने सवाल छ त्यसमा निराशा खेल्न दिनुहुन्न कि बरु एकीकृत सचेत प्रयत्नलाई अघि बढाउनुपर्छ ।

पार्टी पूनर्गठन दिवस सुदूरपश्चिम प्रदेशमा कसरी मनाउने तयारी छ ?

भ्रष्टाचारको विरुद्ध र रोजगारको पक्षमा धनगढीमा युवा मार्चको मुख्य कार्यक्रम गर्दैछौ । यो सहित सबैतिर दिपावली गर्दै सुदूरपश्चिम प्रदेशका सबै जिल्लामा पार्टी पूकनर्गठन दिवस मनाउदैछौ । यो एउटा उत्सवको रुपमा मनाउने हो ।

पार्टी पूनर्गठन दिवस उत्सव तथा पर्वको रुपमा मनाउनु पर्छ पार्टीले भन्दै गर्दा यो आम श्रमजीवी जनता सबैको पर्व कसरी हुन सक्ला ?

क्रान्तिहरु जनताको लागि उत्सवहरु हुन भनेर कार्ल मार्क्सले भनेको कुरा बिर्सनु हुदैन । आगामी मंसिर ८ गते उत्सवकै रूपमा पार्टी पूनर्गठन दिवस मनाउदैछौ । तर यो पनि सहि हो कि अधुरो क्रान्तिले आम जनताको पर्वको रुप लिसकेको हुदैन । आज नेपाल यहीँ स्थितिबाट गुज्रिएको छ ।

अन्तमा, पार्टी पूनर्गठन दिवसका अवसरमा आम नेपाली श्रमजीवी जनता, पार्टी नेता तथा कार्यकर्ता र नेपालका कम्युनिष्ट क्रान्तिकारी शक्तिलाई के भन्न चाहानु हुन्छ ?

नेपालमा कम्युनिस्ट– समाजवादी जनमतको रक्षा गर्न र अनावश्यक वैदेशिक हस्तक्षेपबाट देशको रक्षा गर्न देशभक्त परिवर्तनकारी सबै नेपाली एक हुन आवश्यक छ । त्यसको लागि पार्टीको सीमा भन्दा माथि उठेर सोचौं । यो सन्दर्भमा विप्लवले अघि सारेको एकीकृत विचार चार मित्र बर्ग (किसान, मजदुर,मध्यमवर्ग र राष्ट्रिय पुँजीपतिवर्ग) चार मित्र शक्ति (कम्युनिष्ट, समाजवादी, देशभक्त र लोकतान्त्रिक गणतन्त्रवादी) अनि छ मित्र समूदाय (खस आर्य, जनजाति, मधेसी, श्रमिक समूदाय, महिला र मुश्लिम) को प्रस्तावबारे सबैको ध्यानाकर्षण गराउन चाहान्छु । यो संगै पार्टीको ११ औं पूनर्गठन दिवसका अवसरमा सबैमा हार्दिक शुभकामना दिन चाहान्छु ।

प्रतिक्रिया दिनुहोस