७ मंसिर सुर्खेत । नेकपाभित्र राजनीतिक कार्यदिशाको समेत विवाद चर्कंदै गएका बेला शनिबार सुर्खेतमा ‘जनताको बहुदलीय जनवाद’ (जबज) लेखिएको ब्यानरमा कार्यक्रम सम्पन्न भएको छ । मदन भण्डारी स्पोर्टस् एकेडेमीले राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेश सिलवालको प्रमुख आतिथ्यमा प्रदेशस्तरीय भेला आयोजना गरेको हो ।
नेकपाभित्रको पछिल्लो कलहमा राजनीतिक कार्यदिशाको विवाद पनि सतहमा आएको छ । कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले सचिवालय बैठकमा पेस गरेको राजनीतिक प्रतिवेदनमै पार्टी एकताका बेला तत्कालीन एमालेको ‘जनताको बहुदलीय जनवाद’ र तत्कालीन माओवादीको ‘२१ औं शताब्दीको जनवाद’ लाई थाती राख्दै ‘जनताको जनवाद’ लाई राजनीतिक कार्यदिशा तय गरिएको भए पनि अर्का अध्यक्ष केपी शर्मा ओलीले ‘जबज’ लाई प्रश्रय हुने गरी गुटगत भेला गरेको आरोप लगाएका थिए ।
यस्तोमा पूर्वएमाले समर्थकहरू आबद्ध एकेडेमीले भने ब्यानरमै ‘जनताको बहुदलीय जनवाद’ लेखेर भेला आयोजना गरेको हो । एकेडेमीका कर्णाली प्रदेश अध्यक्ष तेजविक्रम बस्नेतले एकेडेमी पार्टीको भ्रातृ संगठन नभएकाले जनताको बहुदलीय जनवादलाई प्रवद्र्धन गर्न कुनै समस्या नरहेको बताउनु भयो । ‘पार्टीले जुनसुकै राजनीतिक कार्यदिशा अवलम्बन गरे पनि हाम्रो (एकेडेमीको) मूल नारा जनताको बहुदलीय जनवाद हो,’ उहाँले भन्नु भयो , ‘त्यसैले ब्यानरमै यसलाई उल्लेख गरेर कार्यक्रम आयोजना गरिएको हो ।’
आयोजकले ‘जनताको बहुदलीय जनवाद कार्यक्रम भव्य रूपमा सफल पारौं’, ‘मदन भण्डारीको विचार र सिद्धान्तलाई माया गर्ने सम्पूर्ण कम्युनिस्ट एकजुट होऔं’, ‘जनताको बुहदलीय जनवाद जिन्दावाद’ जस्ता नारासहित कार्यक्रमको प्रचार गरेका थिए । अध्यक्ष बस्नेतले राष्ट्रिय खेलकुद परिषद्ले १० औं राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णाली प्रदेशमा आयोजना गर्न लागेको सन्दर्भमा उक्त प्रतियोगितामा एकेडेमीका तर्फबाट हुने योगदानबारे छलफल गर्न कार्यक्रम राखिएको बताउनु भयो । उहाँका अनुसार सदस्य सचिव सिलवालको टोलीले आइतबार प्रदेशका मुख्यमन्त्रीसहित मन्त्रीलाई भेट्दै छ ।
प्रतिक्रिया दिनुहोस