राष्ट्रियसभा निर्वाचनका लागि ११ दल दर्ता

पुस ६, काठमाडौं । माघ ९ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि ११ वटा दलले निर्वाचन आयोगमा दल दर्ता गराएका छन् ।

दल दर्ताका लागि तोकिएको अन्तिम दिन आइतबारसम्म सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीसहित ११ दल दर्ता भएको आयोगका प्रवक्ता गिरिजा शर्माले जानकारी दिनु भएकाे छ ।

राष्ट्रियसभा निर्वाचनका लागि नेपाली जनता दल, नेपाल कम्युनिस्ट पार्टी (ने क पा) इतिहासिक प्रजातान्त्रिक पार्टी, नेपाल मजदुर किसान पार्टी, समाजवादी पार्टी, राट्रिय जनता पार्टी नेपाल, नेपाली कांग्रेस, नेपाल संघीय समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) दल दर्ता भएका छन् ।

निर्वाचन आयोगले आयोगमा दर्ता कायम रहेका दलहरुलाई राष्ट्रिय सभा निर्वाचनका लागि पुन दल दर्ता गर्न मंसिर २७ गते सूचना जारी गरेको थियो । राष्ट्रियसभाका एक तिहाइ सदस्यका लागि हरेक दुई वर्षमा निर्वाचन हुने संवैधानिक व्यवस्थाअनुसार १८ जना सदस्य चयन गर्न माघ ९ गते निर्वाचन हुँदैछ ।

राष्ट्रियसभा सदस्य चयन गर्न स्थानीय तहका अध्यक्ष र उपाध्यक्ष तथा प्रदेशसभा सांसदले मतदान गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस