एसी मिलानलाई अवे गोलको फाइदा, नापोली बाहिरियो


१४ फागुन, काठमाडौं । इटालियन क्लब एसी मिलान अवे गोलका आधारमा सर्वियन क्लब क्रेना जेज्दालाई पछि पार्दै युरोपा लिगको अन्तिम १६ मा प्रवेश गरेको छ ।
यस्तै पोर्चुगिज क्लब बारगालाई हराउँदै इटालियन क्लब रोमा पनि अन्तिम १६ मा प्रवेश गर्दा अर्को इटालियन क्लब नापोली भने स्पानिस क्लब ग्रानडासँग पराजित हुँदै बाहिरिएको छ ।
मिलानको घरेलु मैदानमा भएको दोस्रो लेगको ल १–१ को बराबरी भएपछि समग्रमा स्कोर ३–३ भएको थियो । पहिलो लेगमा अवे मैदानमा दुई गोल गरेकोले एसी मिलान अन्तिम १६ मा प्रवेश गर्न सफल भएको हो । दोस्रो लेगमा मिलानका लागि फ्रान्क केसीले नवौं मिनेटमा पेनाल्टीमा गोल गरे । जेज्दाका लागि २४औं मिनेटमा एल फ्राडोउ बेन नाबोउहानेले गोल गर्नु भयो ।
यस्तै अर्को खेलमा रोमाले ब्रागालाई ३–१ ले पराजित गर्दै समग्रमा ५–१ को जित हात पारेको हो । पहिलो लेगमा रोमा २–० ले विजयी भएको थियो । दोस्रो लेगमा रोमाका लागि एडेन जेकोले २४औं, चार्ल्स परेजले ७५औं र बोया मोयारलले इन्जुरी टाइममा गोल गर्नु भयो । रोमाकै ब्रायन क्रिस्टान्टेले एक आत्मघाती गोल गर्नु भएको थियो ।
उता नापोली भने दोस्रो लेगमा ग्रानडाविरुद्ध २–१ ले जित हात पारे पनि समग्रमा ३–२ ले पराजित हुँदै बाहिरियो । पहिलो लेगमा नापोली ग्रानडासँग २–० ले हारेको थियो । घरेलु मैदानमा नापोलीका लागि पिओर जेलिन्स्कीले तेस्रो र ५९औं मिनेटमा फाबियनले गोल गर्नु भयो । ग्रानडाका लागि एन्जल मोन्टोरोले २५औं मिनेटमा गोल गर्नु भएको थियो ।
ग्रानडासँगै अर्को स्पानिस क्लब भियारियल पनि अन्तिम १६ मा प्रवेश गरेको छ । भियारियलले अष्ट्रियन क्लब साल्जवर्गलाई दवस्रो लेगमा २–१ ले पराजित गर्दै समग्रमा ४–१ को जित हात पारेको हो ।
घरेलु मैदानमा भियारियालले एक गोलले पछि परेको अवस्थामा पुनरागमन गर्दै खेल जितेको हो । मेर्गिम बेरिसाले १७औं मिनेटमा गोल गर्दै साल्जवर्गलाई अग्रता दिलाए पनि जेरार्ड मवरेनोले ४०औं मिनेटमा भियारियालका लागि बराबरी गोल पकाउनु भयो । यस्तै ८९औं मिनेटमा मोरेनोले नै पेनाल्टीमा गोल गर्दै भियारियललाई जित दिलाउनु भयो । पहिलो लेगमा भियारियल २–० ले विजयी भएको थियो ।
यसैगरी युक्रेनी क्लब शाख्तर डोनेस्क र डाइनामो किभ पनि अन्तिम १६ मा पुग्नु भएको छ । शाख्तरले इजरायाली क्लब मकाई तेल अभिभिलाई समग्रमा ३–० ले हरायो । यस्तै किभले ब्रुगलाई समग्रमा २–१ ले पराजित गरेको हो ।यस्तै डच क्लब अयाक्स, ग्रीक क्लब ओलम्पियाकोस, क्रोएसिन क्लब डाइनामो जाग्रेब, स्वीस क्लब योङ ब्वाइज, नर्वेजियन क्लब मोल्डे, स्कटस क्लब रेन्जर्स पनि अन्तिम १६ मा पुगेका छन् ।

प्रतिक्रिया दिनुहोस