१३ बैसाख, काठमाडौँ । शिक्षक आन्दोलन चलिरहेकै बेला देशभरका चिकित्सक पनि अत्यावश्यकबाहेकका सेवा बहिष्कार गर्दै सडक प्रदर्शनमा उत्रिएका छन् । आवासीय चिकित्सकलाई सरकारी आठौं तहसरह मासिक निर्वाह भत्ता उपलब्ध गराउन माग राख्दै उनीहरूले शुक्रबार देशभरका सरकारी अस्पतालमा सेवा बहिष्कार गरेका हुन् ।
नेपाल चिकित्सक संघले बिहीबार साँझ विज्ञप्ति जारी गरेर सरकारी अस्पताल, स्वास्थ्य विज्ञान प्रतिष्ठान र मेडिकल कलेजमा आकस्मिकबाहेकका सेवा बन्द गर्न अपिल गरेको थियो । अधिकांश सरकारी अस्पताल, मेडिकल कलेज र केही निजी अस्पतालमा समेत शुक्रबार सेवा अवरुद्ध भएको संघले जनाएको छ ।
आवासीय चिकित्सक निर्वाह भत्ताको माग गर्दै एक महिनादेखि आन्दोलनमा छन् । उनीहरूको आन्दोलनमा चिकित्सक संघले पनि ऐक्यबद्धता जनाएपछि देशभरका स्वास्थ्य संस्थामा सेवा अवरुद्ध भएको हो । संघका अध्यक्ष अनिलविक्रम कार्कीले निर्वाह भत्तासम्बन्धी सरकारको निर्णय कार्यान्वयन नहुँदा बाध्य भएर सेवा बहिष्कार गर्नुपरेको बताउनु भयो ।
प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको चिकित्सा शिक्षा आयोगको बैठकले फागुनदेखि मासिक साढे ४८ हजार निर्वाह भत्ता उपलब्ध गराउनुपर्ने निर्णय गरेको थियो । तर निजी मेडिकल कलेजका संचालकहरुले उक्त निर्णय कार्यान्वयन नगर्ने अडान लिएका छन ।