पूर्व मुख्यमन्त्री देखी स्थानीय माओवादी नेताको कमिशन काण्डः ‘रास्कोटका विद्यालयबाट मात्रै लाखौं असुली’

१६ बैसाख, कालिकोट । रास्कोटमा नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य तथा पूर्वमुख्यमन्त्री महेन्द्र बहादुर शाहीको निर्देशनमा केही स्थानीय नेताहरु गोप्य कमिशन संकलन सञ्जाल बनाएर धन्धामा लागेको खुलासा भएको छ ।

उनीहरुले रास्कोटका विभिन्न विद्यालय र योजनाहरुबाट लाखौ लाख रुपैया कमिशन लिएको विस्तारै खुलासा हुन थालेको छ । रास्कोटमा शिक्षा जस्तो महत्वपूर्ण क्षेत्रबाट मात्र विभिन्न योजना हालिदिने भन्दै अधिकांस विद्यालयबाट लाखौं अग्रीम कमिशन उठाएको केही तथ्यहरु ज्वाला खवरले भेटाएको छ ।

यो समाचार तयार पार्दासम्म रास्कोटका विभिन्न ६ बटा विद्यालयबाट १८ लाख अग्रीम कमिशन लिएको विद्यालय श्रोतले नै पुष्टि गरेको छ । ती  विद्यालयमा २ करोड ६० लाखको आश्वासन दिएर १ करोड १० को योजना  समेत पारिएको  खुलासा भएको छ ।

यो रकम कमिशन संकलन गर्ने गोप्य सञ्जाल नै बनाएर कमिशन लिएको र केही योजना समेत पारिदिएको देखिएको छ ।
कुन विद्यालयबाट कति कमिशन लिएको हो भन्ने वारे समाचाको तल कमिशन काण्डको रुपमा विस्तृत दिएको छ ।

माओवादी केन्द्रका नेता शाही मुख्यमन्त्री हुने बेलादेखि नै कमिशन संकलन गर्ने गोप्य सञ्जाल बनाएर लाखौं कमिशन लिने गरेको पुष्टि भएको हो । कमिशन संकलनका लागि बनाईएको गोप्य सञ्जाल अहिले पनि कमिशन संकलनमा सक्रिय रहेको पाईएको छ   ।

पूर्व मुख्यमन्त्री शाहीका विश्वास पात्रहरुको सहभागितामा मुख्यमन्त्री हुने बेला प्रत्येक योजनाबाट न्युनतम १० प्रतिशत र अधिकतम २० प्रतिशतसम्म  कमिशन  रकम संकलन गर्ने गरिएको  माओवादी केन्द्र भित्र कै केही नेताहरुले खुलासा गरेका छन ।

माओवादी केन्द्र भित्रकै श्रोतले पहिचान नखुलाउने शर्तमा पार्टी भित्र कमिशन संकलनको जालो बनेको र त्यो पार्टी र जनताका लागि खतरनाक जालो भएको दाबी गरेको छ । पार्टी भित्र बनेको गोप्य जालो पार्टी कमिटी भित्र सबैलाई जानकारी नहुने गरिएको बताईएको छ । कमिशन संकलनको जालोको मुख्य नाईके पूर्वमुख्यमन्त्री शाही नै भएको माओवादी केन्द्रका नेताहरुको आरोप छ ।

कमिशन संकलनको जालोमा रास्कोट नगरपालिकाबाट माओवादी केन्द्र निकट शिक्षक संगठनका नगर कमिटी अध्यक्ष उपेन्द्र न्यौपाने र माओवादी केन्द्रका जिल्ला कमिटी सदस्य भैरे तिरुवा (लाईट),  रास्कोट नगरपालिकाका नगर प्रमुख धर्मराज शाही (पोषण) र पूर्व उपमेयर मिमसरा वम शाही (उषा) सदस्य रहेको केन्द्र निकट श्रोतको दाबी छ ।

यस्तै प्रदेश तहमा कमिशन संकलनको समन्वय गर्ने पूर्वमुख्यमन्त्री शाहीका तत्कालिन स्वकीय सचिवहरुको टिम रहेको भेटिएको छ ।

तत्कालिन मुख्यमन्त्री शाहीले आफ्नो कार्यकालमा स्वकीय सचिव र महिला नेतृ उषालाई कमिशन उठाउने प्रमुख जिम्मा दिएको समेत केन्द्र निकट श्रोतले बताएको छ । स्वकीय सचिव भन्दा तलको कमिशन संकलन गर्ने गोप्य टिमले प्रत्येक योजनाबाट संस्थागत कमिशन उठाएर माथिल्लो निकायसम्म दिने गरेको बताइन्छ  ।

माओवादी केन्द्रको आन्तरिक श्रोतले दिएको जानकारी अनुसार सबै भन्दा धेरै कमिशन माथिल्लो निकायलाई दिने गरिएको थियो । जुन कमिशन तत्कालिन मुख्यमन्त्री शाहीको टेबुलसम्म पुग्ने गरेको केन्द्र निकट श्रोतको दाबी छ ।

प्रदेश सरकारले  गर्ने  विभिन्न विकासका योजना (सडक, बाटो, पुल, अस्पताल, विद्यालय) मा योजना हाल्नु भन्दा अगाडि नै २० प्रतिशत कमिशन उठाएर कतै योजना  पारिदिने र कतै योजना नपार्ने गरेको जनगुनासो आउने गरेका थिए  । तर उक्त जनगुनासो रास्कोटको शिक्षा क्षेत्रमा देखिएको कमिशन काण्डले थप पुष्टि गरेको छ । अन्य विकास निर्माणको कमिशन पुष्टि हुन वाकी छ ।

अग्रीम कमिशन रकम दिएर पनि योजना नहालेका कारण रास्कोटमा कमिशन दिने निकायहरुले व्यापक गुनासो गरेका छन । गोप्य कमिशन संकलन गर्ने टिमले केही अर्थमन्त्रालय अन्तरगत, केही प्रदेश संसाद कोष तथा केही  मन्त्रालयका झ्यालबाट योजनाहरु हाल्ने गरेको भेटिएको हो ।

प्रदेश सरकारबाट योजना पारिदिने नाममा रास्कोटका अधिकाँस विद्यालयवाट २० प्रतिशत कमिशन उठाएको तथ्यहरु सार्वजनिक भएका छन । केही विद्यालयहरुले कमिशन दिएको स्वीकार गरेका छन भने केही  विद्यालयले कमिशन रकम दिएको बैङ्क भौचर  समेत ज्वाला खवरलाई उपलब्ध गराएका छन । शिक्षा क्षेत्रमा माओवादी केन्द्रका नेताहरुको कमिशन धन्धा कसरी चलको रहेछ ? तलका केही तथ्य काण्डहरुले आफै बोल्ने छ ।

कुन विद्यालयबाट कति उठाईयो कमिशन ?

कमिशन काण्ड १ः उषा आधारभूत विद्यालय गाउँखेत
रास्कोट नगरपालिकाको वडा नम्वर ९ गाउँखेतमा उषा आधारभूत विद्यालय छ । यो विद्यालयमा कक्षा ५ सम्म पढाई हुन्छ ।  भौतिक संरचना कमजोर भएको यो विद्यालयमा प्रदेश सरकारबाट बजेट हालिदिने माओवादी नेता भैरे तिरुवा (लाईट)ले आश्वासन दिनु भयो । २०७९ मा तीन कोठे भवनका लागि ३० लाख रुपैया बजेट हालिदिने भने पछि विद्यालय परिवार खुसी भयो ।  तर माओवादी नेता भैरे तिरुवाले त्यसका लागि ३ लाख रुपैया पहिला दिनु पर्ने सर्त राख्नु भयो । एकपटक विद्यालयका प्रअ र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेम भण्डारी गम्भीर बन्नु भयो ।

माओवादी नेता लाईटले हाम्रो पावर छ जसरी पनि योजना हालिदिन्छौ भन्दै फकाएपछि विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष प्रेम भण्डारीले माओवादी नेता भैरे तिरूवा (लाइट)  को नाममा ग्लोवल आईएमई बैङ्कको खातामा ३ लाख रुपैया जम्मा गरिदिनु भयो । तर अहिलेसम्म विद्यालयमा नत योजना गएको छ न त पैसा नै फिर्ता भएको छ । विद्यालयले फुकोटका अम्म वोगटीबाट सयगढा ५ प्रतिशतका दरले व्याज तिर्ने भाकामा  ३ लाख रुपैया निकालेर दिएको थियो । व्यवस्थापन समितिका अध्यक्ष भण्डारीले आफूलाई व्याज तिर्दै हैरान भएको गुनासो गर्नु भएको छ । पैसा ल्याउने भैरे तिरुवा लाईटले भने व्यक्तिगत प्रयोजनमा ल्याएको भन्दै ढाकछोप गर्नु भएको छ ।

भैरे तिरुवाकाे नाममा ग्लोवल आईएमई बैङ्कको खातामा ३ लाख रुपैया जम्मा गरेकाे भौचर

कमिशन काण्ड २ः सरस्वती आधारभूत विद्यालय थोल्म
सरस्वती आधारभूत विद्यालय रास्कोट नगरपालिकाको वडा नम्वर ९ थोल्ममा छ । यो विद्यालयमा पनि कक्षा चार सम्मको पढाई हुन्छ । विद्यालयमा भौतिक संरचना राम्रो छैन । त्योसंगै विद्यार्थीलाई खेल्ने खेलमैदान पनि नहुदा विद्यार्थीलाई समस्या भएको थियो । पटक पटक योजनाको आसा गर्दा पनि कसैले विद्यालयलाई योजना हालेन । माओवादी केन्द्र नेता भैरे तिरुवा र स्थानीय नेता उदेनन्द बरालले योजना हालिदिने आश्वासन दिनु भयो । विद्यालय परिवार मख्ख भयो ।

बरालले २०७९ मा फिल्ड निर्माणका लागि २० लाख बजेट  आउने बताउनु भयो । तर त्यसका लागि २ लाख रुपैया अग्रिम दिनु पर्ने शर्त राख्नु भयो ।  २० लाख वजेट आउने भए २ लाख दिउ त भनेर विद्यालय परिवारले लोभ गरेर २ लाख रुपैया बरालको हातमा दियो । अहिले पैसा लिएको ३ बर्ष पुग्न लाग्दा पनि नत विद्यालयमा बजेट आएको छ नत लिएको पैसा फितौ नै भएको छ । विद्यालयका शिक्षक र व्यवस्थापन समितिका पदाधिकारीहरुले पैसा फिर्ता माग्दा पनि अझैसम्म पैसा फिर्ता नभएको गुनासो गरेका छन ।

कमिशन काण्ड ३ः मंगला देवी आधारभूत विद्यालय बाँखरकोट
रास्कोट नगरपाकिलाको वडा नम्वर ८ बाँखरकोटमा मंगला देवी आधारभूत विद्यालय छ । यो विद्यालयमा कक्षा ५ सम्मको पढाई हुन्छ । विद्यालयमा राम्रो भवन पनि छैन । फिल्ड र शौचालय पनि छैन । यसवारे अघि नै ज्वाला खवरले समाचार बनाएर प्रकाशित गरेको छ । विद्यालयमा  ६० लाख बजेट हालिदिने माओवादी केन्द्रका शिक्षक संगठनका रास्कोट अध्यक्ष उपेन्द्र न्यौपानेले भन्नु भयो । उहाँलाई प्राय रास्कोट भरीका विद्यालयको कमिशन उठाएर नगर प्रमुख पोषण र पूव उपप्रमुख उषालाई हस्तान्तरण गर्ने जिम्मेवारी तोकिएको रहेछ । न्यौपानेले ६० लाख बजेका लागि  ६ लाख अग्रीम दिन प्रस्ताव गर्नु भयो ।

विद्यालयका प्रअ शिक्षक नन्दगोपाल वराल र विद्यालयका अध्यक्ष कलिमाने टमट्टा एकचोटी आश्चार्यमा पर्नु भयो । तर वजेट आउने भएपछि  जसरी पनि पैसा दिन राजी हुनु भयो । विद्यालयको खातामा त्यति धेरै पैसा थिएन । विद्यालयको खातामा भएको २ लाख, तत्कालिन प्रअ नन्दगोपाल बरालको व्यक्तिगत एक लाख ऋण र  अभिभावक भानु सुवेदीबाट थप एक लाख निकालेर  ४ लाख नगद शिक्षक न्यौपानेलाई विद्यालयले दियो ।

अग्रिम कमिशन दिएको ४ लाख भएपनि ३० लाख मात्रै बजेट आयो । १० लाखको बजेट पछि आउने छ भनेर आश्वासन दिइयो तर  बजेट आएन ।  आएको ३० लाखमा पनि नगरले २७ लाख १२ हजार मात्रै भुक्तानी दियो । त्यसैमा दुई लाखको व्याज १ लाख  विद्यालयले तिर्नु पर्यो । ४ कोठे भवनको ढलान मात्रै भएको छ । झ्याल ढोका, कोठाको भित्ता लगाउने देखि प्लास्टरसम्मका सबै कामहरु बाँकी छन । विद्यालयका अध्यक्ष कलिमाने कामीले रकम दिएको स्वीकार गरेपनि भनेजति नआउदा काम अधुरो भएको बताउनु भयो । विद्यालयको खातामा भएको २ लाख रकम शिक्षक प्रभुराज बराल र शिक्षक हरिचन्द्र धमालाको नाममा पेस्की भनेर कमिशन वुझाईएको तथ्य भेटियो ।

कमिशन काण्ड ४ः राइढुङ्गा आधारभूत विद्यालय धम्कोट
रास्कोट नगरपालिकाको वडा नम्वर ३ को धम्कोटमा राइढुङ्गा आधारभूत विद्यालय छ ।  यो विद्यालय पनि भौतिक पूर्वाधारमा कमजोर छ । केही योजना आउने आश्वासन पाएपछि  विद्यालयका शिक्षक र व्यवस्थापन समितिका पदाधिकारीहरुले अग्रीम कमिशन वुझाएका छन । आव ७८/७९ तिर भवन निर्माणको ३० लाख योजना हालिदिने भन्दै २ लाख रुपैया कमिशन लिएको भेटिएको छ । तर विद्यालयमा हाल्ने भनेको योजना अहिलेसम्म नहालेको विद्यालय परिवारको गुनासो छ । विद्यालयका एक शिक्षकले लिएको पैसा पनि फिर्ता नगरेको बताएका छन ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दंगली सार्कीले  प्रधानाध्यापक लंक बहादुर शाहीलाई कतै पैसा दिएर भएपनि योजना आउछ भने गर्नु भनेकाले पैसा दिएको स्वीकार गर्नु भएको छ । प्रअ मार्फत कारोवार भएको र आफुलाई धेरै जानकारी नभएको बताउनु भयो । प्रअ शाहीले भने  आफ्नो  मात्रै एकल निर्णयले काम नभएको बताउनु भयो ।

कमिशन काण्ड ५ः पञ्च आधारभूत विद्यालय तोली
रास्कोट नगरपालिका वडा नम्वर ७ पुछ्रेगाउँ तोलीमा पञ्च आधारभूत विद्यालय छ । यो विद्यालयको भौतिक अवस्था पनि नाजुक छ । प्रयाप्त संरचना नहुदा पढन पाठनमा कठिनाई छ । केही पाउनका लागि केही गुमाउन यो विद्यालयका शिक्षक र व्यवस्थापन समितिका सदस्यहरु पनि तयार भएका देखिन्छन । विशेषगरी तत्कालिन विद्यालयका प्रअ माओवादी केन्द्रका रास्कोटका शिक्षक संगठनका अध्यक्ष उपेन्द्र न्यौपानेले अग्रीम कमिशन दिए ८० लाख बजेट आउने आश्वासन विद्यालयलाई दिएको विद्यालयका अध्यक्षले बताउनु भयो ।

उपेन्द्रले ७ लाख कमिशन दिए ८० लाख बजेट आउने सूचना उषा मार्फत पाउनु भएको थियो । जसका कारण २०७९ सालमा ८० लाख बजेट आउने भन्दै  ७ लाख  रकम दिन प्रअ  तयार हुनु भयो । विद्यालयले ७ लाख जम्मा गर्न नसकेपछि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अनिपाल महतारा र शिक्षक अभिभावक संघका अध्यक्ष हरिचन्द्र रोकायाले ऋण निकालेर ४ लाख रुपैया प्रअ उपेन्द्र न्यौपानेको खातामा जम्मा गरेको अध्यक्ष महताराले बताउनुभयो ।

उहाँले भौचार पनि आफूसंग सुरक्षित रहेको बताउनुभयो । ४ लाख कमिशन दिएपछि ४० लाख मात्र बजेट आयो । त्यो पनि ठेक्का मार्फत २० लाखमा २ कोटाका माथिल्लो तला थपेको र २० लाखमा फिल्ड बनाएको अध्यक्षको भनाई छ । प्रअ न्यौपानेले पनि आफूले रकम लिएको स्वीकार  गर्नु भयो । आन्तरिक श्रोतले दिएको जानकारी अनुसार उठेको केही रकम २०७९ को स्थानीय चुनावको वेला प्रचण्ड रास्कोट आएको कार्यक्रमका दिनमै उषालाई बुझाएको र त्यो रकम धर्मराज शाही (पोषण) को चुनावमा खर्च गरेको खुलासा भएको छ ।

कमिशन काण्ड ६ः रमालमष्टो आधारभूत विद्यालय स्युना
रास्कोट नगरपालिका वडा नम्वर ४ स्यूनामा  रमालमष्टो आधारभूत विद्यालय छ । यो विद्यालय पनि भौतिक संरचनामा अभावमा छ । केही कमिशन दिएर बजेट आउने भएपछि शिक्षकहरु मख्ख नै भए । केही स्थानीय नेताहरुले विद्यालयबाट ३ लाख कमिशन मागे । विद्यालयमा  २०७९ सालमा ४० लाख बजेट पनि आयो । तर ३४ लाखमा ठेक्का जस्ता गरेर उपभोक्ता समिति मार्फत काम गराइयो । पछि नगरबाट ४० लाख नै भूक्तानि लिएपनि त्यो रकम विद्यालयको खातामा नआएर कमिशन बुझाएको र बाकीँ नेतृत्व गर्नेले खाएको विद्यालय व्यवस्थापन समितिका एक सदस्यले बताउनुभयो ।

कमिशन काण्ड ७ः पिङ्गलादेवी आधारभूत विद्यालय तल्कोट
रास्कोट नगरपालिकाको वडा नम्वर ९ तल्कोटमा पिङ्गलादेवी आधारभूत विद्यालय छ । यहाँ कक्षा ८ सम्म पठन पाठन हुन्छ ।  विद्यालयको भौतिक अवस्था कमजोर नै छ ।  विद्यालयका एक शिक्षकका अनुसार कमिशन दिनुहोस विद्यालयमा बजेट हालिदिन्छौ भन्दै केही माओवादी नेता विद्यालयमा आए । तर आफूहरुले उदारो कुराको विश्वास गर्न सकेनौ । कमिशन पनि दिएनौ र योजना पनि चाहिएन भन्यौ एक शिक्षले भने । विद्यालयका शिक्षक तथा विद्यालय व्यवस्थापन समितिले पहिला बजेट हाल्नु पछि दिउलासम्म भनेको स्वीकार गरे । व्यवस्थापन समितिका अध्यक्षले पैसा देउ वजेट हालिदिन्छौ भनेर भन्दा आफूहरु तयार नभएकाले कुनै बजेट पनि आएन रकम पनि दिएनौ ज्वाला खवरलाई भने ।

कमिशन काण्ड ८ः अन्य विद्यालयहरु
रास्कोटका केही अरु विद्यालयहरुमा पनि यस्तै धन्धा भएको खुल्न आएको छ । तर माओवादी केन्द्रका नेताहरुले विद्यालयमा फोन समेत गरेर कुनै सूचना नदिनुसम्म भनेकाले केही विद्यालयको सूचना संकलन गर्न अप्ठ्यारो भएको छ । रास्कोटकै जनज्योति आधारभूत विद्यालय रास्कोट १ तामाकोट, अन्नपूर्ण आवि बडरूख, एकता आवि राताखाल, मोतिराम मावि सिपखाना, कालशिला मावि गोर्खालीगाउँ, मालिका आवि कोलीगाउँ, जनप्रकाश आवि जनालीकोट, सिम्मष्टा आवि ओखलढुंगा, विजयपुर आवि साहुवाडा, पिपलकोट आवि बड्डाला, शान्ति आवि पलाँतिवाडा र पंचकोट आवि रानागाउँ बाट पनि कमिशन लिएको जनताको आरोप छ ।

उठेको कमिशन चुनाव खर्चदेखि महेन्द्रको खल्तीसम्म
नेकपा (माओवादी केन्द्र)कै नेताहरुले भने अनुसार विद्यालयबाट लाखौं उठेको कमिशन २०७९ सालको चुनाव खर्चदेखि पूर्वमुख्यमन्त्री महेन्द्र शाहीको खल्तीसम्म पुगेको छ । पूर्व मुख्यमन्त्री शाहीका भान्जा  नाता पर्ने धर्मराज शाही (पोषण) लाई नगरप्रमुख जिताउन आन्तरिक रुपमा कमिशनकै पैसा दुरुपयोग गरेर चुनावमा खर्च गरिएको माओवादी केन्द्र भित्रकै श्रोतको दाबी छ ।

जनताको ढाड सेक्ने गरी कमिशन उठाएको रकमले  धर्मराजले चुनाव जित्न सफल हुनु भयो । नगर भित्रका योजनामा अहिले पनि कमिशनतन्त्र जारी छ माओवादी केन्द्रका नेताले भने । पैसा दिएर चुनाव जित्ने धर्मराज शाहीले पनि नगरसरकारमा व्यापक अनियमिता गरेर कमिशन तन्त्र चलाएको आरोप छ  ।

पूर्वमुख्यमन्त्री शाहीको निर्देशनमा धर्मराज र उषाले नगर भरीका विद्यालयबाट कमिशन संकलन गरेको बुझिएको छ । कमिशन रकम उषाले केही महेन्द्र शाहीसम्म पुर्याएको र केही नगरपालिकाको चुनावमा खर्च गरेको श्रोतको भनाई छ   ।

केही प्रतिशत कमिशन रकम उठाउने अभियानमा सहभागीहरुलाई समेत दिएको माओवादी केन्द्र निकट श्रोतको दाबी छ  ।
यो कमिशन काण्डका वारे माओवादी नेता लाईटले व्यक्तिगत रुपमा लिएको स्वीकार गर्नु भएको छ भने  शिक्षक उपेन्द्र न्यौपानेले कमिशन नै  लिएको स्वीकार गर्नु भएको छ ।

उता पूर्व मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले भने आफूलाई कसैले पनि केही नदिएको  कमिशन नलिएको जवाफ दिनु भएको छ । उहाँले ज्वालf खवरसंग प्रतिक्रिया दिदै भन्नुभयो, ‘यो तथ्यहिन कुरा हो, कसले कहिले को लाई दिएको हो ? दिएको चेक, नगद, दिएको हुँ भन्ने व्यक्ति र अडियो वा भिडियो रेकर्ड भए राख्नुहोस् ।’

पूर्व उपमेयर मिमसरा बम (उषा)ले भने आफूलाई कमिशन बारे केही थाहा नभएको बताउनु भएको छ  । उहाँले आफूले कोहीबाट कमिशन नलिएको र परिचालन पनि नगरेको भन्दै इन्कार गर्नु भएको छ । कमिशन काण्डमा आरोप लागेका अर्का रास्कोट नगरपालिकाका नगरप्रमख धर्मराज शाही (पोषण) लाई फोन गर्दा भने घण्टि गएपनि उहाँको फोनै उठेन ।  

प्रतिक्रिया दिनुहोस