१६ चैत, कालिकोट । कालिकोटमा एक महिलाको रहस्यमय हत्या भएको छ । जिल्लाको नरहरिनाथ गाउँपालिका–३ पाल्ती गाउँकी २७ वर्षीया मानपुरा बुढाको साेमबार बिहान करिव ४ बजेतिर आफ्नै घरमा रहस्यमय हत्या भएको हाे ।
प्रारम्भिक अनुसन्धानमा मृतकको टाउकोमा गहिरो चोट देखिएकाले कुटपिटपछि हत्या भएको हुनसक्ने जिल्ला प्रहरी प्रमुख डीएसपी हिमबहादुर खत्रीले जानकारी दिए।
घटनामा संलग्न रहेको आशंकामा मृतकका २९ वर्षीय श्रीमान् काशीराम बुढालाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनले सुरुमा ४ जना अपरिचित व्यक्ति घरमा प्रवेश गरी श्रीमतीमाथि आक्रमण गरेको दाबी गर्दै आफैं प्रहरी चौकी पुगेका थिए।
तर घटनाको प्रकृति र प्रारम्भिक प्रमाणका आधारमा प्रहरीले उनलाई नै शंकाको घेरामा राखेर पक्राउ गरेको हो।
प्रहरी निरीक्षक बरमा यादवको नेतृत्वमा टोली घटनास्थल पुगेर छिमेकीसँग सोधपुछ तथा थप अनुसन्धान गरिरहेको छ। साथै सई रकवीर केसी नेतृत्वको टोलीले पनि प्रारम्भिक अनुसन्धान अघि बढाएको छ।
मृतकका तीन सन्तान रहेका छन्—डेढ वर्ष र ४ वर्षका छोरा तथा ७ वर्षकी छोरी। घटनापछि माइती पक्ष पनि घटनास्थलतर्फ जाँदै गरेका छन्।
प्रहरीले घटनाको वास्तविक कारण पत्ता लगाउन विस्तृत अनुसन्धान जारी रहेको जनाएको छ।