(डा.इन्द्रजीत सिंह कुवँर (के.आई.सिंह) नेतृत्वमा गठित २०१३ सालको मन्त्री मण्डलका स्वास्थ्य मन्त्री ९२ बर्षका खगेन्द्रजङ्ग गुरुङ २०१७ सालमा गठित तुलसी गिरी मन्त्री मण्डलमा खाद्य तथा आपूर्ति,कृषि,वन,उद्योग तथा वाणिज्य मन्त्री हुनु भयो । राजा महेन्द्रसंग दूरी बढेपछि २०२५ सालमा गिरफ्तार भएर २ बर्ष ६ महिना पोखरा जेलमा पनि बस्नु भयो । चाउ एनलाई र माओत्सेतुङसंग भेट्नु भएका गुरुङको उतार चढावपूर्ण जीवन र वर्तमान राजनीतिको विषयमा उहाँ पूर्वमन्त्री गुरुङसंग काठमाडौं लाजिम्पाट गैरीधारा स्थित ‘होप हर्मिटेज एल्डर्ली केयर’ निवासमा गरेको वार्तालापको सार संक्षेप –बसन्त विश्वकर्मा )
मन्त्री ज्यू,दिन कसरी बिताईरहनु भएको छ ? स्वास्थ्य अवस्था कसतो छ ? बताईदिनु होस् न ।
मेरो अबस्था देखि हाल्नु भयो । चर्पीमा नै एक घण्टा बढी लाग्छ । दुई घण्टा त तपाईहरुलाई कुराएँ चर्पी जान दुईवटै हातले लठ्ठी टेकेर जान्छु । घाँटीमा समस्या छ । माथि पट्टीको दाँतको कारण स्वर लरबरिन्छ । तर खाना राम्रै खान्छु । पढ्न,छलफल गर्न,टेलिभिजन हेर्न समस्या छैन । हिड्न सक्दिन । भेट्न आउनेसंग छलफल हुन्छ । यस्तै छ मेरो हाल (हाँसो)
यहाँको बाल्यकालबारे केही नयाँ पुस्तालाई भन्न मिल्छ ?
मेरो बुवाको नाम खोलागाउँ मनाङका लामिछाने थरका सुब्वा नरजङ गुरुङ हो । राणा श्री ३ सरकारले हाम्रो खलकमा जन्मना साथ छोराले सुब्वा पद पाउने बख्सिस दिएका थिए । खोलागाउँ लामिछाने गुरुङको राजधानी हो । यशोब्रम्हा शाहले मनाङ कब्जा गरेपछि एकथरी मगरलाई ठकुरी थरदिएर जनेउ लगाउने हक दिएर क्षेत्री भयौं भनेका रहेछन । त्यसैबेला देखि हाम्रो खलक राजा त भएन शासन हामै खलकको थियो । म त्यो खलकमा हुर्केको हुँ । लामीछाने गुरुङ राजाको २२ औ पुस्ता हामी हौं । राजकाज नभएपनि तिब्वतसंगको थाकखोला र मनाङको भन्सार ठेक्का बुवाको जिम्मामा राणाकालसम्म नै थियो ।
त्यसबेला मुख्य व्यापार के थियो र करको दर के कति थियो त ?
कानूनी रुपमा दासप्रथा हटेपनि ब्यवहारमा कायमै थियो । एउटा दासको मोल ५ रुपैया थियो । तिब्वतबाट ल्याउने नुनको प्रतिभारी १ रुपैया कर लाग्थ्यो । जङ्गबहादुरका १७ भाईले दाजुको खलक मारेर भाई रणोद्धिप काजी भए । उ पनि मारियो र कान्छो धीरशम्शेर श्री ३ महाराज भए । तिब्वतबाट नुन ल्याउन २ महिना लाग्थ्यो । तराईतिर औलो र जङ्गली जनावरका कारण जान डराउँथे । सरकारले नुन सस्तो पार्ने उपाय खोज भन्यो । बाजे मनिलाल गुरुङले अधिकार बक्स भएर गर्छु भन्नु भएछ । हुकुम प्राप्त भयो । बाजेले भिर भएको ठाउँमा काठको रोप वे जस्तै बनाएर ठाउँ –ठाउँमा बोक्ने नपर्ने गराएर १५ दिन घटाउनु भएछ । गोरखाको लार्के भन्ञ्याङ्ग माग्नु भएछ । त्यो पनि आयो । धीरशम्शेरसंग लालमोहर मागेर ५ सय मिलिसिया बनाएर ब्यापारको सुरक्षा भएछ । लार्के भन्ञ्याङ्ग(गोरखा) र मनाङको गरी दुईवटा नाका खुल्यो । मुस्ताङको थाकखोला नाका बुवाको पालामा हाम्रै भयो ।
बुवाले नुनको भन्सार कर मिनाहा गरेर नुन अझ सस्तो पार्नु भएछ । थाकखोलामा कम व्यापार हुन्थ्यो । यताकालाई मात्र के तिरो उठाउने भनेर त्यहाँ पनि मिनाहा भयो । हामी घाटामा भयौं । त्यही कारण राणाहरुले भैरहवा नाकाको ठेक्का बुवालाई दिएका रहेछन । त्यसबेला चार आना (१सुका)को १० पाथी चामल आउँथ्यो ।
मन्त्री ज्यूको शिक्षा दीक्षा के कस्तो रहयो त ?
जुद्ध शमशेर श्री ३ हुँदा म ९ वर्षको थिए । वि.स. १९८८मा जन्मेको हुँ । त्यतिबेला २००३ सालमा मध्यमाको जाँच दिन बनारस गए । त्यसबेला संस्कृत मात्र पढाई हुन्थ्यो । बाहुनले मात्र पढन पाउँथे । पढेको पैसा लाग्दैनथ्यो । भारतमा अङ्ग्रेज विरुद्ध आन्दोलन चलिरहेको थियो । कमिज,पाइन्ट लगाउन पाईदैनथ्यो । बनारसमा हिन्दु विश्वविद्यालयमा अङ्ग्रेजी पढन गएको थिए । त्यहाँ त ‘हामीले अङग्रेज लखेट्दैछौ,तिमलाई किन अङग्रेजी पढन पर्यो’ ? भन्न थाले । संस्कृतिमा धर्म,देवता,कर्मकाण्ड पढ्ेको त्यता त हिन्दीमा सुकरात,हेगेल,चीनको क्रान्ति,अमेरिकी स्वतन्त्रता संग्राम सबै हिन्दीमा नै पढाउने रहेछन । अंग्रेजहरु भारत धान्न नसक्ने अवस्थामा पुगिसकेका रहेछन ।
तपाईको राजा महेन्द्रसंग कहाँ कसरी भेट भएको हो ?
२००९ सालमा दिल्ली थिए । राजा महेन्द्रको सवारी रहेछ । उमानाथ जैसीले चिन्थे । उनी ज्योतिष थिए । चिना बनाउँथे । उनैले मलाई राजा महेन्द्र समक्ष लगे । लामो चिनचान भएझै खुलेर छलफल भयो । म तिब्वतबाट दिल्ली गएको थिए । मलाई मातृका प्रसाद कोइरालाले पक्राउ पूर्जि कटाएका थिए । मेरो घरमा सेनाले राहुल सांस्कृत्यायनको ‘भागो नहीं दुनियाँको बदलो’ भन्ने किताब भेटेपछि कम्युनिष्ट भनेर त्यसो गरेका थिए । राजकुमारले खबर पठाएकाले गिरफ्तार भएपनि होस भनेर भेट्न गएको थिए ।
तपाई त चीन गएर चाउ एनलाई र माओत्सेतुङसंग पनि भेट्नु भयो । कसरी किन जानु भएको हो ?
महेन्द्रले चीन गएर माओसंग सम्वन्ध गाँसेर आउन सक्छौ भनेका थिए । महेन्द्र त्रिभुवन बिच राम्रो थिएन । म चीन जान तयार भए । गुपचुप जानु पथ्र्यो । २० जना हतियारधाी,खर्चपानी तयार गरेर तिब्वत गएँ । एक्लै जाँदा लुटपाट हुन्थ्यो । तिब्वतसंगको व्यापार खोलिदिएको कारण हाम्रो खलकलाई चिनियाँहरुले विश्वास गर्थे । मलाई १ महिना तिब्वतमा नै राखे । त्यसपछि बेइजिङ जाने व्यवस्था गरे । महेन्द्रले काङग्रेसले देश भारतलाई बुझाउछ भन्ने ठानेर सुरुदेखि नै विकल्प खोज्दैरहेछन जस्तो लाग्छ । त्यही भएर मलाई चीन पठाएका होलान ।
चीनका नेताहरु को को संग भेट्नु भयो ? भेटघाट कस्तो रहेको थियो बताईदिनु होस् न ।
पहिलो भेटघाट परराष्ट्रमन्त्रीसंग भयो । त्यसपछि प्रधानमन्त्री चाउ एनलाईसंग भेटघाट भयो । त्यसपछि राष्ट्रपति तथा पार्टीका अध्यक्ष माओत्सेतुङसंग भेटघाट भयो । माओका लागि चिनियाँ र नेपाली दुबै भाषा जानेका दोभाषे दार्जिलिङबाट ल्याएका रहेछन । औपचारिक कार्यक्रममा चिनियाँहरु विदेशी भाषा प्रयोग गर्दैनथे । माओ एककदै सरल,सामान्य उठबस र ठुलो मान्छे हुँ भन्ने भाव नै नदिने नेता रहेछन । फौजको घेरामा शहर भन्दा अलि बाहिर बस्ने व्यवस्था रहेछ । भारतबाट खतरा भयो । कदम चाल्दा साथ दिनुपर्यो भन्ने महेन्द्रको अपेक्षा छ भने । माओत्सेतुङले हामी आफै अफ्ठ्ेरोमा छौ । तर सकेको सहयोग गर्छौ भनेका थिए । राजतन्त्र रहुन्जेल यो कुरा सार्वजनिक गरेको थिएन । २०३६ सालमा दोस्रो पटक चीन गएँ । पुरानो कुरा झिक्दा त्यो त हाम्रो रेकर्डमा नै छैन भने ।
राजा महेन्द्र भारत र काङग्रेसप्रति नकरात्मक किन भए ? खास कुरा के हो त ?
महेन्द्रले पटक –पटक बरु कम्युनिष्ट बन्न तयार छु । भारतको दासत्व स्वीकार गर्दिन भन्थे । उनले बाहुन,क्षेत्री र मधेसीहरु भारतप्रति नरम हुनसक्छन भनेर जनजातिमा भरपर्न खोजेका थिए । जनजातिलाई पनि आर्थिक अबसर दिनुपर्छ भन्थे । त्यसैले माओले महेन्द्रलाई कम्वोडियाका नरोत्तम सिंहानुकसंग तुलना गरेका थिए ।
राजा महेन्द्रको स्वभाव,आनीबानी त्रिभुवनले मनपराउदैनथे भन्ने गरिन्छ नी ।
महेन्द्र स्वाभिमान र स्वतन्त्र बाँच्न खोज्थे । रात्री क्लवमा गएर नाच्थे । गाउने पनि गर्थे । हुनेवाला राजाको अनुशासन भएन भन्थे रे । जुद्ध शमशेरको नातिनी इन्दुसंग महेन्द्रको विवाह भएको हो । रत्न साख्य बहिनी हुन । त्रिभुवन इन्दुपछि राणाकै छोरीसंग विवाह नहोस भन्न चाहन्थे । रत्नको मगनी पश्चिमको एकजना ठकुरीसंग भइसकेको थियो । रुम्जाटारकी उमा गुरुङबाट रविन्द्र शाह जन्मिसकेका थिए । महेन्द्रकी जेठी श्रीमतिको नाम उमा जस्तो लाग्छ । इन्द्रराज्य लक्ष्मी दोस्रो विवाह हो । त्रिभुवनले हिमालयलाई बढी मनपराउथे । त्यही भएर कतै मलाई युवराज घोषणा नगर्ने हुनकि भन्ने महेन्द्रलाई परेको हुनसक्छ । यो कुरा मलाई थाहा भएन । त्यसो भयो भने विद्रोह गर्नुपर्छ भनेर मलाई जनजातिहरु ंसंगठित गर्न भनेका हुन भन्ने पनि छ । तर सबै कुरा थाहा भएन ।
मन्त्रीज्यू प्रसङ्ग बदल्न चाहान्छु, योगी नरहरीनाथसंग तपाईको भेट भयो कि भएन ? उनी पनि कट्टर राजभक्त भन्छन ? यहाँको धारणा ….।
नरहरीनाथलाई भेट्न सूर्यवहादुर थापा गइरहन्थे । एकपटक म पनि गएँ । उसले त जनजातिलाई सङ्गठित गरेर दबाव सृजना गरेर रविन्द्रलाई अधिराजकुमार बनाउनु पर्यो । गुरुङनीको छोरो हो न्याय हुन्छ भन्यो । मैले महेन्द्रको विरुद्ध जान्न भने । रबिन्द्र शाहलाई भारत बसेर नेतृत्व गर भनेका रहेछन । उनले पनि मानेनन् । राजा र काङग्रेसलाई लडाउने,दरबारमा भाँडभैलो पार्ने र भारतको भूमिका बढाउने दाउमा नरहरीनाथ रहेछ । त्यसैले योगी नरहरीनाथ ‘र अ’ मान्छे जस्तो लाग्छ । नरहरीनाथ र सूर्यबहादुर थापाको निकटता अर्थपूर्ण रुपमा थियो ।
तुलसी गिरीको मन्त्रीमण्डलबाट तपाईले किन राजिनामा दिनु भएको हो ? बताई दिनुहोस् न ।
लम्जुङमा एउटा घटना भयो । बाहुनहरुले माफ मागेर बसे । त्यही विषयमा गुरुङहरु पनि गल्ती भयो,बुझेनौ भन्न गएछन । उनीहरुलाई आज बस भोलि जाउला भनेछन । राती जङगलमा लगेर खाल्डो खन्न लगाएर गोली ठोक्दै त्यही खाल्डोमा ढाल्दै गरेछन । एउटै घटनामा गुरुङलाई मात्र झुक्याएर ५० जनालाई मारे । मलाई गुरुङहरु घेर्न आए । यत्रो गुरुङ मारिए । तँ मन्त्री भएर के गरिस् ? भन्न थाले । मैले मत्रीपरिषदको बैठकमा कुरा उठाए । तुलसी गिरी बोलेनन् । महेन्द्रले ‘हो र त्यसो भयो ! म बुझछु’ भनेका थिए । जवाफ नआएपछि राजिनामा दिए । सिंहदरवार गइन । महेन्द्रले सोच नत्र हटाउछु भने । मैले फिर्ता लिइन । त्यसपछि स्वीकृत गरे । राजाले मलाई भन्दा बिग्रेको काङग्रेस गिरीलाई विश्वास गर्यो । आफ्नै घर भाँड्नेले अर्काको घर बनाउदैन नी ।
मन्त्रीज्यू, तपाई जेल पनि बस्नु भयो । के आरोप थियो व्यवस्थाको तपाई माथि ?
२०२५ सालमा जनजातिलाई उक्साएको आरोपमा पक्राउ गरेर २ बर्ष ६ महिना जेल हाले । मलाई पोखरा व्यारेकमा राखेका थिए । जनजातिको सङगठन बनाउन लगाउने नै राजा महेन्द्र हुन । २०२४ तिर सूर्यबहादुर मन्त्री भइसक्यको थियो । पञ्चायती व्यवस्थामा भारत परस्तहरु हावि हुदै गए । भारत विरोधी भनिएकाहरुलाई कुनामा पार्दै लगियो । सूर्यबहादुरलाई शक्तिमा ल्याएको भारतलाई खुशी पार्न रहेछ । भारतलाई खुशी बनाउन मलाई जेल हालेका हुनसक्छन ।
राजाबादीहरुबारे यहाँको धारणा ?
ज्ञानेन्द्र आफै लठुवा खालको मान्छे छ । राजा भएकै हो बचाउन सकेन । अब आएर के नै हुन्छ र ! मोदीलाई पनि भुटानको जस्तो कठपुतली राजा चाहिएको छ । भुटानले त छोड्दैछ । (हाँसो)
प्रसङ्ग बदलौ, तपाईले देब गुरुङ मार्फत २०५१ सालमा माओवादीलाई हतियार दिनु भएको भन्ने चर्चा छ नी ?
देब गुरुङका बाउ बाजेहरु हाम्रा भरिया,सहयोगी थिए । हामीले नै पढने व्यवस्था गरिदिएको हो । त्यसैले उनी माथि विश्वास थियो । देब गुरुङ म नभएको बेला घरमा आएर शिकार खेल्न जान लागेको भनेर भाउजुसंग मागेर लिएका रहेछन । त्यसरी २ वटा जर्मन राईफल लगेको हो । लमजुङको गणेश बहादुर गुरुङले पनि बारबोर दियो भन्थ्यो । मलाई त्यो कुरा थाहा भएन । हामी राजा खलक,भन्सार ठेकेदार,तिब्वतका विश्वास पात्र,राजाका विश्वास पात्र र मिलिसिया निर्माता तथा खम्बाहरुसंग लडेर बसेका कारण हतियार थुपै्र थिए ।
मन्त्रीज्यू, एमसीसी सरकारले पारित गरेको छ । यसको विषयमा यहाँको धारणा ..?
चीन विश्व शक्ति बन्दैछ । त्यसैले उसलाई शान्ति चाहिएको छ । अमेरिका कमजोर हुदैछ । त्यसैले उसलाई युद्ध चाहिएको छ । हतियार वाहेक अमेरिकाले बेच्ने कुरा पनि छैन । तर अमेरिका आयो भने चीनले छोड्दैन भन्ने मेरो सूचनामा छ । त्यसैले प्रचण्ड र देउवाले नेपाललाई युक्रेन बनाउदैछन । काङग्रेस दिल्लीको इसारामा बनेको पार्टी हो । त्यसको के कुरा गर्नु ! प्रचण्ड पनि राष्ट्रघाती बनेर आयो ।
मन्त्रीज्यू , समय दिनु भयो धन्यवाद छ र सुस्वाथ्यको कामना गर्दछौ । अन्तीममा थप केही भन्न चाहानु हुन्थ्यो कि ?
विप्लवसंग राष्ट्रबादी छवि देख्छु । उसले गरेको कुरा र काम राम्रो छ । विप्लव कमरेडलाई नभेटेको धेरै भयो । भेट्न मनलागेको छ । भेट भयो भने खवर गरिदिनु होला ।
(जनपत्रिका डट्कमबाट साभार,शिर्षक हामीले राखेका हौ)