२८ चैत, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले विद्यार्थी संगठनहरु खारेज गर्ने विषयमा सरकारले ल्याएको निर्णयको विरोध गरेको छ । विद्यार्थी संगठनहरूलाई स्कुल वा कलेजमा प्रतिबन्ध लगाउन नपाइने नेकपाले निश्कर्ष निकालेको छ
शनिबार केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पार्टीको केन्द्रीय कार्यसंयोजन समितिको बैठकले यस्तो निष्कर्ष निकालेको पार्टीका नेता जगन्नाथ खतिवडाले जानकारी दिनु भय
सरकारले आफ्ना १ सय बुँदे कार्यसूचीमा विद्यार्थी संगठनहरू खारेज गर्ने विषय उल्लेख गरेको थियो । उक्त निर्णयप्रति राजनीतिक दलका संगठनहरूले आपत्ति जनाउँदै आएका छन् ।
‘जनसंगठनहरू खासगरी युवा विद्यार्थी लगायतका विद्यार्थी संगठनहरूलाई कलेजमा प्रतिबन्ध गर्ने कुरा र ट्रेड युनियनलाई प्रतिबन्ध गर्ने कुरा बेठिक हो,’ बैठकको निष्कर्षबारे जानकारी गराउँदै नेता खतिवडाले भन्नु भयो, ‘यसले जनता र टे«ेड युनियनको अधिकारलाई कुण्ठित गरेको छ । यो गलत हो । यस्तो गर्न पाइँदैन । यसको विपक्षमा हामी उभिनेछौं भन्ने पार्टीले निष्कर्ष निकालेको छ ।’
उहाँका अनुसार, केन्द्रीय कार्यसंयोजन समितिको अर्को बैठक ३ वैशाखमा बस्नेछ । उहाँले बैठकका बाँकी निष्कर्ष र निर्णयहरू पनि त्यतिबेलै सार्वजनिक हुने बताउनु भयो ।