लोकप्रियतावाद र अराजकताका नयाँ शक्ति ढल्छनः महासचिव पोखरेल

२८ चैत्र, काठमाडौँ । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले लोकप्रियतावाद र अराजकताको जगमा उभिएका नयाँ शक्तिहरूको भविष्य संकटमा रहेको र एकदिन अवश्य ढल्ने दाबी गर्नु भएको छ । उहाँले विचार र सिद्धान्तबिनाको एकता लामो समय नटिक्ने पनि ठोकुवा गर्नु भएको छ ।
नेकपा एमाले सम्पर्क विशेष सङ्गठन कमिटीद्वारा शनिवार आयोजित कार्यक्रममा पोखरेलले नयाँ शक्तिहरू (रवि–बालेन्द्र)बिचको आन्तरिक द्वन्द्वलाई सङ्केत गर्दै विचार नमिल्नेहरूबिच स्वार्थको टकराब आउनासाथ विग्रह हुने बताउनु भयो ।
उहाँले नयाँ भनिएकाहरूले लोकतन्त्रका स्पेसहरू खुम्च्याउन खोजेको, विद्यार्थी संगठन र ट्रेड युनियनमाथि प्रहार गरेको भन्दै त्यसको आलोचना गर्नु भयो । एमाले अधिनायकवाद र स्वेच्छाचारी शासनविरुद्ध चट्टान बनेर उभिने स्पष्ट पार्दै संसद्मा एमालेको संख्या कम भए पनि भुमिका ‘निर्णायक र आक्रामक’ हुने बताउनु भयो ।
उहाँले भन्नु भयो , ‘रवि लामिछानेलाई जेलको झोला बोकाउने बालेनको अभियान थियो, तर चुनावमा स्वार्थका लागि मिले । जहाँ विचार मिल्दैन, त्यहाँ स्वार्थको टकराब सुरु हुनासाथ विग्रह आउँछ । जुन शक्ति जति तीव्रताका साथ उदाउँछ, त्यसको पतन पनि उति नै छिटो हुन्छ । पपुलिज्मले जनताका समस्या समाधान गर्दैन, केवल भ्रम छर्छ ।’
प्रधानमन्त्रीले संसद्मा बोलेर जनतासँग संवाद नगरेकोमा आपत्ति जनाउँदै पोखरेलले प्रधानमन्त्री सुरक्षा निकायका कार्यक्रममा घण्टौँ बोल्नसक्ने तर जनताको सार्वभौम थलो संसद्मा बोल्न डराउने कुरा कस्तो लोकतन्त्र हो ? भन्दै प्रश्न गर्नु भयो ।
पोखरेलले संसदीय मोर्चालाई पार्टीको पुनर्जागरण अभियानसँग जोडेर सरकारका अलोकतान्त्रिक र गैरकानूनी कदमको भण्डाफोर गर्न सांसदहरूलाई आह्वान गर्नु भयो ।
पोखरेलले वर्तमान सरकार र नयाँ भनिएका शक्तिहरूको ‘सुशासन’ को मुकुन्डो उत्रिएको टिप्पणी समेत गर्नु भयो ।
सुशासनको नाममा आएका मन्त्री र सभामुखले पारदर्शिताको धज्जी उडाएको उहाँले आरोप छ । सभामुखको सम्पत्ति विवरणमाथि प्रश्न उठाउँदै उहाँले श्रमिकबाट मालिक बन्नु अपराध नभएको तर विदेशमा कमाएको भनिएको सम्पत्ति कुन च्यानलबाट आयो ? राज्यलाई कर तिरिएको छ कि छैन ? भन्नेबारे जवाफ दिनुपर्ने बताउनु भयो ।
उहाँले मन्त्रीहरूले सम्पत्ति विवरण बुझाउन आलटाल गरेकोप्रति आपत्ति जनाउनु भयो । एमालेका नेताहरू जुनसुकै अग्निपरीक्षा दिन तयार रहेको बताउँदै उहाँले नयाँ तयार छन् की छैनन् ? भन्दै प्रश्न गर्नु भयो ।

कार्की आयोगलाई ’प्रतिशोधको हतियार’ बनाएर एमाले अध्यक्ष केपी शर्मा ओलीलाई दुःख दिने काम भएको भन्दै त्यसको कडा प्रतिवाद गर्ने चेतावनी पनि दिनु भयो ।

प्रतिक्रिया दिनुहोस