६ बैशाख, काठमाडौ । प्रचण्ड नेतृत्वको नेपाली कम्युनिष्ट पार्टीका एक युवा पार्टी पदाधिकारीको सम्पत्ति यथाशिघ्र सार्वजनिक गर्न माग गर्दै पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा अनसन वस्नु भएको छ ।
पार्टीमा कम्युनिष्ट सिद्धान्त र आचरण विपरित आर्थिक अपचलन भएको जिकिर गर्दै युवा भुवन सिंह विष्टले पार्टी कार्यालयमा तीनदिनदेखि अनसन बस्न थाल्नु भएको हो ।
उहाँले पार्टी कमिटीहरूमा ६० प्रतिशित युवा सहभागिता हुनुपर्ने माग पनि गर्नु भएको छ । उहाँले सम्पत्ति सार्वजनिकसंगै पार्टी कमिटीहरूमा ४० वर्ष मुनिका युवाहरूलाई ६० प्रतिशत सहभागिता गराउनुपर्ने र विशेष महाधिवेशन ३ महिनाभित्र सम्पन्न गर्नुपर्ने माग राख्नु भएको छ ।
युवा विष्टले केन्द्रीय पदाधिकारी प्रत्यक्ष निर्वाचित हुने व्यवस्था गर्न पनि माग गर्नु भएको छ । उहाँले संचारकर्मीलाई भन्नु भएको छ ‘मुखले युवा ल्याउनुपर्छ भन्ने तर व्यवहार त्यस्तो नभएपछि मैले पार्टीको ध्यानाकषण गराएको हुँ ।’
पार्टीको विशेष महाधिवेशनको मिति सार्वजनिक गरी ३ महिनाभित्र महाधिवेशनका कार्यक्रमहरु सम्पन्न गरियोस् भन्ने उहाँको अर्को माग छ ।
युवा विष्टले केन्द्रीय पदाधिकारी प्रत्यक्ष निर्वाचित हुने व्यवस्था गरिनुपर्ने, प्रत्यक्ष तथा समानुपातिक दुवै निर्वाचन प्रणालीमा ४० वर्ष मुनिका युवाहरुलाई उम्मेदवार नबनाउनु पार्टीको कमजोरी भएको विषय सार्वजनिक रुपमा स्वीकार गरिनुपर्ने माग समेत गर्नु भएको छ । उहाँको यो मागले पार्टीलाई ठुलो चुनौती थपिएको छ ।