लामो संगठनात्मक अनुभवसहित अध्यक्षको तयारीमा वरिष्ठ उपाध्यक्ष भक्ति प्रसाद न्यौपाने, व्यवसायीका समस्या समाधान र विकास निर्माणलाई प्राथमिकता दिने प्रतिबद्धता
१८ साउन, सुर्खेत । कर्णाली प्रदेश निर्माण व्यवसायी महासंघको नेतृत्वका लागि निर्माण व्यवसायी भक्ति प्रसाद न्यौपानेले आफ्नो दाबी प्रस्तुत गरेका छन्। यही साउन १८ र १९ गते सुर्खेतको वीरेन्द्रनगरमा हुने महासंघको सातौँ साधारण सभा तथा तेस्रो अधिवेशनबाट नयाँ नेतृत्व चयन हुँदै गर्दा महासंघका वरिष्ठ उपाध्यक्ष समेत रहेका न्यौपाने अध्यक्ष पदका लागि बलियो आकांक्षीका रूपमा देखिएका हुन्।
अधिवेशनको मिति नजिकिँदै जाँदा कर्णालीका निर्माण व्यवसायीबीच चुनावी सरगर्मी बढेको छ। अध्यक्ष पदका लागि आकांक्षीहरूबीच भेटघाट, छलफल र समर्थन जुटाउने प्रयास तीव्र भइरहेका बेला न्यौपानेले भने आफ्नो उम्मेदवारीलाई लामो संगठनात्मक अनुभव, निर्माण व्यवसायमा निरन्तर सक्रियता र प्रदेशस्तरीय नेतृत्वको अनुभवसँग जोडेर अघि बढाएका छन्।
‘समृद्धिका लागि विकास निर्माण’ भन्ने मूल नारासहित हुने अधिवेशनले महासंघको आगामी कार्यदिशा र नेतृत्व तय गर्नेछ।
२०६८ देखि संगठनमा सक्रिय
५० वर्षीय न्यौपाने २०६८ सालदेखि निर्माण व्यवसायीको संगठनमा सक्रिय छन्। कालिकोट निर्माण व्यवसायी संघको सह–कोषाध्यक्षबाट संगठनात्मक यात्रा सुरु गरेका उनले क्षेत्रीय निर्माण व्यवसायी संघको सचिव, कर्णाली प्रदेश निर्माण व्यवसायी संघको सचिव र महासचिवको जिम्मेवारी सम्हालिसकेका छन्। हाल उनी महासंघको वरिष्ठ उपाध्यक्ष छन्।
संगठनको स्थानीय तहदेखि प्रदेशस्तरसम्म विभिन्न जिम्मेवारीमा रहेर काम गरेको अनुभवलाई उनले अध्यक्ष पदका लागि आफ्नो मुख्य आधारका रूपमा प्रस्तुत गरेका छन्।
न्यौपानेका अनुसार लामो समयदेखि संगठनभित्र रहेर व्यवसायीका समस्या, चुनौती र अपेक्षालाई नजिकबाट बुझेकाले नेतृत्वमा पुगेपछि ती विषयलाई संस्थागत रूपमा उठाउन आफू सक्षम छन्।
‘कर्णालीको निर्माण क्षेत्र काठमाडौंमा बसेर बुझिँदैन’
कर्णालीको निर्माण क्षेत्र भौगोलिक विकटता, उच्च ढुवानी लागत, मौसमजन्य अवरोध, निर्माण सामग्रीको मूल्यवृद्धि, समयमै भुक्तानी नहुने समस्या तथा नीतिगत जटिलताका कारण अन्य प्रदेशको तुलनामा थप चुनौतीपूर्ण रहेको न्यौपानेको भनाइ छ।
‘कर्णालीको निर्माण क्षेत्रलाई काठमाडौंमा बसेर मात्र बुझ्न सकिँदैन। यहाँको भूगोल, मौसम, लागत र चुनौती प्रत्यक्ष भोगेको व्यक्ति नेतृत्वमा पुग्न आवश्यक छ,’ उनले भने, ‘निर्माण व्यवसाय र संगठनमा बिताएको लामो अनुभवलाई अब कर्णालीका सम्पूर्ण व्यवसायीको हितमा प्रयोग गर्न चाहन्छु।’
उनले नेतृत्वलाई व्यक्तिगत प्रतिष्ठा वा पद प्राप्तिको माध्यम नभई व्यवसायीको अधिकार संरक्षण, निर्माण क्षेत्रको सुधार र कर्णालीको विकासलाई गति दिने जिम्मेवारीका रूपमा लिनुपर्ने बताए।
भुक्तानीदेखि ठेक्का प्रणालीसम्म सुधारको एजेन्डा
अध्यक्षमा निर्वाचित भए निर्माण व्यवसायीको हकहित संरक्षणसँगै सरकारले निर्माण व्यवसायीलाई समयमै भुक्तानी गर्ने वातावरण निर्माणका लागि प्रभावकारी पहल गर्ने न्यौपानेले बताएका छन्।
उनको प्राथमिकतामा पारदर्शी तथा व्यवस्थित ठेक्का प्रणाली, व्यवसायीको क्षमता अभिवृद्धि, युवा निर्माण व्यवसायीलाई प्रोत्साहन, निर्माण आयोजनाको प्रभावकारी कार्यान्वयन र गुणस्तरीय पूर्वाधार निर्माण रहेका छन्।
सरकार र निर्माण व्यवसायीबीचको सम्बन्धलाई थप विश्वासिलो र सहकार्यमा आधारित बनाउनुपर्नेमा जोड दिँदै उनले निर्माण व्यवसायीलाई विकास निर्माणको साझेदारका रूपमा व्यवहार गर्नुपर्ने बताए।
‘निर्माण व्यवसायीलाई शंकाको दृष्टिले होइन, विकास निर्माणका साझेदारका रूपमा व्यवहार गर्नुपर्छ,’ न्यौपानेले भने, ‘व्यवसायी बलियो भए मात्रै विकास निर्माणले गति लिन्छ र कर्णालीको समृद्धिको आधार बलियो हुन्छ।’
अन्य उम्मेदवारको औपचारिक घोषणा छैन
अधिवेशन नजिकिँदै जाँदा अध्यक्ष पदका लागि आन्तरिक छलफल र भेटघाट तीव्र भए पनि हालसम्म न्यौपाने बाहेक अन्य आकांक्षीले औपचारिक रूपमा उम्मेदवारी घोषणा गरेका छैनन्।
त्यसैले महासंघभित्र न्यौपानेको उम्मेदवारीलाई हालसम्म बलियो दाबेदारीका रूपमा हेरिएको छ। यद्यपि उम्मेदवारी दर्ताको समयसम्म थप आकांक्षीहरू मैदानमा आउने सम्भावना कायमै छ।
अन्तिम प्रतिस्पर्धा कस्तो हुने वा नेतृत्व सर्वसम्मत रूपमा चयन हुने भन्ने विषय भने उम्मेदवारी दर्ता र अधिवेशनको निर्वाचन प्रक्रियापछि मात्रै स्पष्ट हुनेछ।
नेतृत्व चयनसँग जोडिएको कर्णालीको विकासको सवाल
महासंघको नयाँ नेतृत्व चयनलाई निर्माण व्यवसायीहरूले संगठनको आन्तरिक नेतृत्व परिवर्तनका रूपमा मात्रै हेरेका छैनन्। आगामी नेतृत्वले कर्णालीका विकास निर्माण आयोजना, निर्माण व्यवसायीको हकहित, सरकारसँगको समन्वय, ठेक्का प्रणाली, पूर्वाधारको गुणस्तर तथा निर्माण क्षेत्रको समग्र वातावरणमा प्रभाव पार्ने अपेक्षा गरिएको छ ।
त्यसैले आगामी अधिवेशनमा नेतृत्वका लागि हुने प्रतिस्पर्धा र त्यसबाट आउने परिणामलाई कर्णालीका निर्माण व्यवसायीले चासोका साथ हेरिरहेका छन्।