विप्लवको दल दर्ताका लागि तीन सदस्यीय कार्यदल गठन

१९ चैत्र, काठमाडौ । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले निर्वाचन आयोगमा दल दर्ताका लागि ३ सदस्यीय कार्यदल बनाएको छ ।

नेकपाको सोमबार बसेको पोलिट व्यूरो बैठकले दल दर्ताका लागि ३ सदस्सीय कार्यदल बनाएको हो । नेकपाका स्थायी समिति सदस्य कर्णजित बुढाको नेतृत्वमा तीन सदस्यीय अध्ययन तथा दल दर्ता कार्यदल गठन गरेको नेकपाले जनाएको छ ।

नेकपाको गत मंसिरमा बसेको केन्द्रीय समिति बैठकले नै २०८४ को निर्वाचनमा भाग लिनेगरी दल दर्ता गर्ने निर्णय गरेको थियो । जसलाई व्यवहारिक रुप दिदै निर्णय कार्यन्वयनका लागि नेकपाले कार्यदल बनाएको छ ।

नेकपालाई कुन नामले दल दर्ता गर्ने भन्ने समस्या आएको छ । नेकपा दल पहिले नै दर्ता छ । स्थायी समिति सदस्य बुढाले आयोगमा दर्ता भएका पार्टीहरू अध्ययन पश्चात् आफुहरु एउटा निष्कर्षमा पुग्ने बताउनु भयो ।

उहाँले भन्नु भयो ‘विभिन्न नामबारे छलफल भएको छ । नेकपा पहिले नै लोकनारायण सुवेदीको नाममा दर्ता भइसकेकाले त्यो नाम राख्न पाउँदैन । अध्ययनको निष्कर्ष आएपछि दल दर्ता गर्छौं ।’

नेकपाले पुरानो कर्णजीत नेतृत्वको पार्टी हुदा दर्ता भएको नेकपा (माओवादी समाजवादी) पनि विकल्पको रुपमा राखेको छ ।

नेकपा (माओवादी समाजवादी) २०७८ फागुन १० गते कर्णजितको नाममा आयोगमा दर्ता छ । चुनाव चिन्ह महिला पुरुष रहेको छ । विप्लव नेतृत्वको नेकपा र कर्णजीत नेतृत्वको नेकपा (माओवादी समाजवादी) विच एकता पछि पनि सो दल खारेज भएको छैन ।

नेकपाले प्रतिगामी र यथास्थितिवादीहरुको षड्यन्त्रका विरुद्ध निरन्तर संघर्ष गर्ने, समाजवादी गणतन्त्रको पक्षमा देशलाई लैजान विभिन्न वामपन्थी कम्युनिष्ट दलहरुसंग एकता र सहकार्य गर्ने निर्णय समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस