२७ असार, सुर्खेत । प्रदेश अस्पताल सुर्खेतका डाक्टरहरुको गम्भीर लापरवाही भेटिएको छ । बेला– बेला प्रदेश अस्पतालमा विरामीहरुको उपचारमा डाक्टरहरुको लापरवाहीले विरामीको निधन भएको जस्ता समाचार त आएकै थिए । तर यतिवेला भने प्रदेश अस्पतालले संसार उज्यालो देख्ने सपना बुनेर अस्पताल गएका विरामीको आँखा नै फुटाएकाे गम्भीर केस भेटिएको छ । आँखाको मोतिया विन्दुको अप्रेशन गराउन गत चैत्र २७ गते कालागाउँ अस्पताल पुगेका वीरेन्द्रनगर नगरपालिका ३ तातोपानी घर भएका ६९ बर्षिय वृद्ध तुलानाथको मोतिया विन्दुको अप्रेशन गर्दा नानी नै फुटाइदिएका हुन ।
उनको संसार उज्यालो देख्ने सपना हराएको छ । अहिले आँखाको नानीको उपचारका लागि काठमाडौको तिलगंगा आँखा अस्पताल धाइरहेका छन । तुलानाथले डाक्टरले मोतिया विन्दुको अप्रेशन गर्दा नानीमा घाउ लगाएका कारण नानी खराव भएर आँखा नै अन्धकार भएको बताए । उनले अहिले आफ्नो छोरालाई साथमा लिएर काठमाडौको तिलगंगा आँखा अस्पतालमा उपचार गराईरहेका छन ।
यस्तो छ आखाँकाे नानीकाे एक्सरेमा देखिएको घाउ

आँखा अस्पताल तिलगंगामा आँखा चेक गराइरहेकाे फाेटाे ।

कर्णाली प्रदेश अस्पतालका नेत्र विशेषज्ञ डा. जोन महर्जनले २०८२ चैत २७ गते तुलानाथको मोतिया विन्दुको अप्रेसन गरेका थिए । अप्रेशनपछि डाक्टर महर्जनले आँखा ठिक हुन्छ भन्दा भन्दै कुराएको र ठिक नभएपछि अन्तीममा काठमाडौ पुगेको विरामीले बताएका छन । विरामीका अनुसार काठमाडौसम्म उपचारको लागि जान अन्ततः डाक्टर महर्जनले पनि सुझाव दिएका थिए ।
नेत्र विशेषज्ञ डाक्टर महर्जनसंग यसवारे ज्वाला खवरले बुझदा तुलानाथको अप्रेशन आफूले गरेको स्वीकार गर्दै सय जनामा कहिले काँही एक दुई जनामा यस्तो समस्या आउने गरेको बताए । पीडित तुलानाथले अव संसार देख्नकै लागि आँखाको नानी नै बदल्नु पर्ने अवस्था भएको दुखेसो पोखे ।
आँखाको “नानी” (cornea) फुटेको वा बिग्रिएको अवस्थामा गरिने उपचारलाई सामान्यतया corneal transplant (केराटोप्लास्टी) भन्ने गरिएको छ ।
नेपालमा यसको खर्च अस्पताल र जटिलता अनुसार फरक फरक हुने गरेको डाक्टरहरुले बताउने गरेका छन । सरकारी अस्पतालमा नानी बदल्न केही कम खर्च लाग्ने भएपनि निजी अस्पतालमा नानी बदल्नको लागि ४ देखि ५ लाखसम्म खर्च लाग्ने अनुमान गरिन्छ । यसमा आउने जाने भाडा, खाना, कुरुवा खर्च जोडदा सामान्य परिवारले उपचार गराउन नसक्ने अवस्था छ ।
उपचारमा डाक्टरले लापरबाही गरेको, स्ट्यान्डर्ड प्रक्रिया नअपनाएको, गलत औषधि: गलत तरिका प्रयोग गरेको, पोस्ट–अप केयर नगरेको, बिरामीलाई जोखिमबारे जानकारी नदिएको प्रमाणाीत भए नेपाल मेडिकल काउन्सिल, अस्पताल वा स्वास्थ्य मन्त्रालयमा पनि उजुरी दिन सकिने व्यवस्था छ ।
यदि घटनाको अनुसन्धानपछि डाक्टर दोषी ठहरिए लाइसेन्स खारेज,चेतावनी, निलम्बन र रद्द गर्न सकिने प्रावधान छ ।
यस्तै कानुनी प्रावधानमा गम्भीर केसको अवस्थामा अदालतबाट सजाय समेत हुने र सामान्य केसमा जरिवाना वा क्षतिपूर्ति हुने व्यवस्था पनि छ । तर पीडित तुलानाथका हकमा उनी आफै उजुरी दिन भने तयार देखिएका छैनन् ।
उनी भन्छन् ‘जे हुनु भईगो, उपचारको लागि डाक्टरले खर्च व्यहोर्ने भनेका छन, उजुर वाजुर नगरौ भनेर उपचारका लागि काठमाडौ पुगेका छौ’ विरामीको यो भनाईले डाक्टरले गोप्य रुपमा विरामी परिवारसंग उपचारको सम्झौता गरेको बुझिएको छ । डाक्टर महर्जनले यो घटना कहि कतै वाहिर नलिनु र म उपचार गराई दिन्छु भनेर विरामीलाई आस्वासन दिएको कुरा विरामीकै भनाईले प्रष्ट्याएको छ । आज तुलानाथमाथि यो समस्या भएपनि भोलि यस्तै समस्या पुनः अर्को विरामी माथि नआउला भनेर भन्न नसकिने अवस्था छ । यसका लागि सम्वन्धित निकायले विशेष ध्यान दिन आवश्यक भएको कर्णालीवासीहरुको भनाई छ ।