विपक्षीको विरोधका बीच मुख्यमन्त्री पोखरेलको सपथ

 

१९ वैशाख, बुटवल । विपक्षी गठबन्धनले ४२ सांसदको हस्ताक्षरसहित वहुमत दावी गरेकै अवस्थामा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पद तथा गोपनीयताको सपथ लिनु भएको छ ।

दोश्रोपटक मुख्यमन्त्री नियुक्त भएका एमाले संसदीय दलका नेता शंकर पोखरेललाई प्रदेश प्रमुख धर्मनाथ प्रसाद यादवले राति ८ बजे पद तथा गोपनीयताको सपथ गराउनु भएको हो ।
मुख्यमन्त्री रहनु भएका पोखरेलले संविधानको धारा १६८ (२) अन्तर्गत गठन भएको सरकार विघटन गरी धारा १६८ (१) अन्तर्गत एमालेको एकल सरकार गठन गर्ने भन्दै विहान राजिनामा दिनु भएको थियो ।

हाल कायम रहेको ८१ जना प्रदेशसभा सदस्य मध्ये ४१ जनाको हस्ताक्षरसहित प्रदेश प्रमुख समक्ष शंकर पोखरेलले पुनः मुख्यमन्त्रीको दावी पेश गरेलगत्तै माओवादी केन्द्र र नेपाली कांग्रेसले कुलप्रसाद केशीलाई मुख्यमन्त्रीमा प्रस्ताव गर्दै ४२ जनाको हस्ताक्षर प्रदेश प्रमुख समक्ष पेश गरेका थिए ।

तर प्रदेश प्रमुख यादवले यस अघि नै ४१ जनाको हस्ताक्षर पेस गरेका एमाले संसदीय दलका नेता शंकर पोखरेललाई मुख्यमन्त्री नियुक्त गर्नु भएको हो ।

अल्पमतका नेतालाई मुख्यमन्त्री नियुक्त र सपथ गराइएको भन्दै विपक्षी गठबन्धनले आपत्ति जनाएका छन् ।
उनीहरुले मुख्यमन्त्रीको सपथ नगराउन प्रदेश प्रमुख कार्यालयमा धर्ना दिए पनि कडा सुरक्षा प्रबन्ध गरी पोखरेललाई सपथ गराइएको हो ।

प्रतिक्रिया दिनुहोस