धोनी फिट, चेन्नाई हिट, दिल्लीमाथि ८० रनको जित

वैशाख १९, काठमाडौं । चेन्नाई सुपर किंग्स इंन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको पहिलो क्वालिफायरमा पुग्न सफल भएको छ ।

घरेलु मैदानमा भएको खेलमा शीर्ष स्थानको दिल्ली क्यापिटल्सलाई ८० रनको फराकिलो अन्तरले पराजित गर्दै चेन्नाई पहिलो क्यालिफायरमा प्रवेश गरेको हो ।

१८० रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको दिल्लीले १६.२ ओभरमा सबै विकेटको क्षतिमा ९९ रन मात्रै बनाउन सक्यो । कप्तान श्रेयस ऐरले ४४ र शिखर धवनले १९ रन बनाए पनि अन्य कुनै ब्याट्सम्यानले दोहोरो अंक पनि बनाउन सकेनन् ।

पहिलो ओभरको पाँचौं बलमा नै ४ रन हुँदा पृथ्वी शालाई गुमाएको दिल्लीका लागि शिखर धवन र कप्तान श्रेयस ऐरले ४८ रनको साझेदारी गर्दै टिमलाई उकास्ने प्रयास गरेका थिए । तर ५.३ ओभरमा ५२ रन हुदा दोस्रो विकेटको रुपमा धवन आउट भएपछि दिल्लीको विकेट पतन सुरु भएको थियो ।

दिल्लीलाई सस्तैमा समेट्ने क्रममा चेन्नाईका दुई जना बलरले उत्कृष्ट प्रदर्शन गरे । इमरान ताहिरले ४ विकेट लिए । उनले ३.२ ओभरमा मात्र १२ रन खर्चिएर ४ विकेट लिएका थिए । त्यस्तै, रविन्द्र जडेजाले तीन ओभर बलिङ गर्दै तीन विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको चेन्नाईले निर्धारित २० ओभरमा चार विकेटको क्षतिमा १७९ रन बनाएको थियो । चेन्नाईका लागि सुरेश रैनाले ३७ बलमा ५९ रन बनाए । त्यस्तै, कप्तान महेन्द्रसिंह धोनीले अविजित ४४, फाफ् डु प्लेसिसले ३९ र रविन्द्र जडेजाले २५ रन बनाएका थिए ।

अघिल्लो म्याचमा ज्वरो आएका कारण धोनी मैदानमा उत्रिएका थिएनन् । तर दिल्लीविरुद्धको खेलमा धोनी आएपछि टिमको ज्यान आएसरह भयो । मोरिसको ओभरको सामना धोनीले गरिरहेका थिए ।

मोरिसको एक बल बीमरको रुपमा धोनीको ब्याटमा पुग्यो । तर धोनीले कमालको टाइमिङ देखाउँदै त्यसलाई छक्का प्रहार गरिदिए । तर, अम्पायरले यसलाई ‘नो बल’ दिए । त्यसपछि मोरिस आफैं धोनीकहाँ पुगेर हात मिलाउँदै माफी मागे ।

बीमर क्रिकेटमा यस्तो बल मानिन्छ जसबाट ब्याट्सम्यानलाई चोट लाग्ने खतरा हुन्छ । यद्यपि धोनीले त्यसको गज्जबले सामना गरेका थिए ।

यसैगरी ट्रेन्ट बोल्टको एक बललाई धोनीले आफ्नो चिर परिचित हेलिकोप्टर सट लगाउँदै चौका प्रहार गरे । धोनी म्यान अफ द म्याच भए ।

दिल्लीविरुद्धको खेलमा जित हात पारेसँगै चेन्नाईले १३ खेलबाट ९ खेलमा जित, चार खेलमा हार ब्यहोर्दै १८ अंक बनाएर पहिलो क्वालिफायरमा प्रवेश गरेको हो । अब उसले फाइनल प्रवेशका लागि पहिलो क्वालिफायरमा प्रतिस्पर्धा गर्नेछ ।

यता, दिल्लीको लागि अझै पहिलो क्वालिफायरमा पुग्ने मौका छ । पहिलो क्वालिफायरमा नपुगेपनि दिल्लीले प्लेअफको इलिमिनेटर राउण्डमा प्रतिस्पर्धा गर्नेछ । दिल्लीको अब अन्तिम खेल बाँकी छ । दिल्लीको १३ खेलबाट ८ खेलमा जित र पाँच खेलमा हारसहित १६ अंक छ ।

प्रतिक्रिया दिनुहोस