२० साउन, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का महासचिव विप्लव सीले यथास्थिति तोडेर कम्युनिस्ट आन्दोलनलाई पुनर्गठन गर्ने गरी नयाँ कम्युनिष्ट केन्द्र बनाउनु पर्ने प्रस्ताव गर्नु भएको छ ।
बुधबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा वोल्दै महासचिव विप्लव सीले यथास्थिति तोडेर कम्युनिस्ट आन्दोलनलाई पुनर्गठन गर्ने गरी नयाँ कम्युनिष्ट केन्द्र बनाउनु पर्ने प्रस्ताव गर्नु भएको हो ।
उहाँले पुरानो र संसदवादी यथास्थितिवादी तरिकाले कम्युनिष्टहरुको एकता सम्भव नभएको जिकिर गर्दै नयाँ प्रस्ताव अनुसार कम्युनिस्ट आन्दोलनलाई पुनर्गठन गर्नुको बिकल्प नभएको ठोकुवा गर्नु भयो ।
महासचिव विप्लव सीले नयाँ कम्युनिस्ट केन्द्र बनाएर आन्दोलनलाई फराकिलो बनाउनुपर्ने बताउदै भन्नु भयो ‘कम्युनिस्ट आन्दोलनका लागि हाम्रो प्रस्ताव छ । नयाँ कम्युनिस्ट केन्द्र बनाएर जाऊँ । फराकिलो तरिकाले कम्युनिस्ट आन्दोलनलाई पुनर्गठन गर्नुपर्छ । तर नयाँ दृष्टिकोण हुनुपर्छ । दुई दशक कम्युनिस्ट नेताहरूलाई हेर्दा ७० प्रतिशत जनमत खुम्चिएको छ । त्यो पनि उत्साहित छैन।’
महासचिव विप्लव सीले संसदीय कम्युनिस्टहरूले दुई तिहाइ नजिकको सरकार बनाउँदा समेत राज्यका निकायहरूलाई व्यवस्थापन गर्न नसकेको तथ्य प्रस्तुत गर्दै भन्नु भयो ‘दुई तिहाइ नजिक मत ल्याएर सरकार चलाएका कम्युनिस्ट पार्टीले संसदीय तरिकाले मात्र सोच्न थाले । सरकारमा पुगेर दुई÷तीन वटा प्रधानमन्त्री चलाउँदा पनि सरकारमा जाने र सरकारी निकायलाई उचित व्यवस्थापन गर्न नसक्ने कम्युनिस्ट सायद अब सिद्धियो ।’
महासचिव विप्लव सीले विद्रोहपछि जनादेश प्राप्त सरकारले जनताको भावना, आकांक्षा र विशेषगरी नयाँ पुस्ता (जेनजी) का अपेक्षाअनुसार काम गर्नुपर्ने भए पनि पाँच महिनाको अभ्यासले त्यसको विपरीत अवस्था देखिएको बताउनु भयो ।
उहाँले भन्नु भयो ‘सबै जनताको आशा र हाम्रो पनि सामान्य अपेक्षा थियो कि यत्रो विद्रोहको जनादेशपछि आएको सरकारले केही न केही जेनजीका भावना र जनताका आकांक्षा तथा अपेक्षाअनुरूप काम गर्छ । तर पाँच महिनाको अभ्यासमा सरकारको चालढाल हेर्दा जनतामा पश्चाताप सुरु हुन थालेको छ । बेचैनी बढेको छ । असन्तुष्टि, आक्रोश र एक प्रकारले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको सरकार बनेकोप्रति गम्भीर प्रश्न उठ्न थालेका छन । बालेन सरकारप्रति मानिसका धारणाहरू पनि उल्टिन थालेका छन ।’
महासचिव विप्लव सीले विद्रोहको भावनाबाट सम्पन्न निर्वाचनपछि बनेको सरकारले जनअपेक्षाअनुसार काम गर्न नसकेको तथ्य प्रस्तुत गर्दै जनताका अपेक्षाहरू फेरि पनि टुक्रिन र चकनाचुर हुन थालेको ठोकुवा गर्नु भयो ।
उहाँले नयाँ पुस्तामा असन्तुष्टि बढ्दै गएको दाबी गर्दै जेनजी विद्रोहीहरूले पुनः सडकबाट आफ्ना आवाज उठाउन थालेको बताउनु भयो । उहाँले देशमा फेरि आन्दोलन, संघर्ष र विद्रोहको वातावरण बन्दै गएको ठोकुवा गर्नु भयो ।
महासचिव विप्लव सीले जेनजीको मुख्य माग भ्रष्टाचारविरुद्ध कडा कारबाही गर्नु भएको र सुरुमा सरकारले त्यसतर्फ केही संकेत देखाए पनि एक साताभित्रै आफ्नो दिशा परिवर्तन गरेको बताउनु भयो ।
उहाँले भन्नु भयो ‘विद्रोहको भावबाट भएको चुनावबाट आएको सरकार जसरी चल्नुपथ्र्यो, त्यो दिशामा गएन । जनताका अपेक्षाहरू फेरि पनि टुक्रिन, चकनाचुर हुन थालेको हामी देख्छौ । जेनजी विद्रोहीहरूले पनि फेरि सडकबाट आफ्ना आवाजहरू उठाउन थालेका छन । मुख्यतः नयाँ पुस्ता असन्तुष्ट बन्दै गइरहेको चित्र हाम्रो अगाडि छ । एक प्रकारले अकल्पनीय ढंगले जनतामा फेरि आन्दोलनको स्थिति, संघर्षको स्थिति र विद्रोहको वातावरण बन्न थालेको हामी देख्छौ । सुरुमा सरकारले भ्रष्टाचारविरुद्ध कडा कदम चाल्ने छनक दिएको थियो । तर एक सातामै राज्य भ्रष्टाचारीविरुद्ध होइन, जनताविरुद्ध दमनमा उत्रियो ।’
महासचिव विप्लव सीले सरकारले भ्रष्टाचारीहरूको संरक्षण गर्न थालेको आरोप लगाउँदै भ्रष्टाचारमा आरोपित व्यक्तिहरूको प्रभाव बढ्दै गएको बताउनु भयो ।
उहाँले भन्नु भयो ‘अहिले भ्रष्टाचारीहरूको स्वर झन् ठूलो भएको छ । उनीहरू सडक हुँदै सत्तामा आउन थालेका छन । जेल परेका भ्रष्टाचारीहरू पनि धरौटीमा वा विनाधितो धमाधम रिहा भइरहेका छन् । यसले जनता आश्चर्यचकित भएका छन् ।’
महासचिव विप्लव सीले कम्युनिस्ट आन्दोलनको एउटा चरण पूरा भएको टिप्पणी गर्दै कम्युनिस्ट आन्दोलनलाई अघि बढाउने नयाँ प्रस्ताव अघि सार्नु भयो ।
उहाँले भन्नु भयो ‘सबै कम्युनिस्ट पार्टीहरूमा एउटा बहस चलिरहेका छन् । कुनै एक दलले या एउटा नेताले मात्रै लिएर गइहाल्ने कम्युनिस्ट आन्दोलन देखिँदैन । नयाँ कम्युनिस्ट केन्द्र नेपालको एउटा दृष्टिकोणसहित कम्युनिस्टलाई पुनर्गठन गर्नुपर्छ । नयाँ घोषणापत्र, नयाँ दृष्टिकोणसहित गएपछि मात्रै कम्युनिस्ट आन्दोलन युवाहरूको बिचबाट फेरि उठेर आउँछ ।’
महासचिव विप्लव सीले दुई दशकमा कम्युनिस्ट नेता र कम्युनिस्ट पार्टीहरूबाट भएका गल्तीले गर्दा ७० प्रतिशतबाट जनमत खुम्चिएर २२–२५ प्रतिशतमा आइसकेको भन्दै कम्युनिस्ट आन्दोलनलाई एउटा नयाँ अवधारणा र दृष्टिकोणसहित रूपान्तरण पुनर्गठन गर्नुपर्ने जरुरी रहेको बताउनु भयो ।
उहाँले बालेन शाह नेतृत्वको सरकारको दिनगन्ती सुरु गरेको जस्तो देखिएको बताउदै भन्नु भयो ‘कति यथार्थ हो, कति काल्पनिक हो, हेर्नुपर्छ । तर पनि विभिन्न बौद्धिक, विज्ञ, बुद्धिजीवी, राजनीतिज्ञ, कूटनीतिज्ञहरू बिचमा यो सरकारको दिनगन्ती सुरु भइसकेको भनेको जस्तो देखिन्छ । मान्छेले दसैँ–तिहार अगाडि नै रहँदैन भन्या जस्तो, दसैँ–तिहार पछि जान भनेकोजस्तो देख्दैछौँ ।’
