१९ वैशाख, काठमाडौं । यूएईलाई ७ विकेटले हराउँदै नेपालले एसीसी प्रिमियर कपको उपाधि जितेको छ । यससँगै नेपालले एसिया कपमा पनि स्थान बनाएको छ ।
यूईएले लिएको ११८ रनको लक्ष्य नेपालले ३०.३ ओभरमा मात्र ३ विकेट गुमाएर भेट्टायो । नेपालका लागि गुल्शन झाले अविजित ६७ रन बनाउनु भयो भने भीम सार्की ३६ रनमा नटआउट हुनु भयो ।
आइतबार टस हारेर ब्याटिङको निम्तो पाएको युएईले २७.३ ओभरमा १०६÷९ बनाएको अवस्थामा वर्षाले खेल रोकिएको थियो । सोमबार त्यहीबाट अघि खेल्न थालेको यूएईले थप ११ रन जोड्दा बाँकी विकेट गुमायो ।
११८ रनको सामान्य लक्ष्य पछ्याएको नेपालको सुरुवात भने राम्रो थिएन । दोस्रो ओभरको पहिलो बलमै ओपनर कुशल भुर्तेल व्यक्तिगत एक रनमा आउट हुनु भयो , जतिबेला नेपालको स्कोर पनि एक मात्र थियो ।
तेस्रो नम्बरमा गुल्शन झा ब्याटिङका लागि जानु भयो । उहाँसँग १८ रनको साझेदारी गर्नु भएका आसिफ शेख (८) सातौं ओभरको पहिलो बलमै आउट हुनु भयो ।
लगतै कप्तान रोहितकुमार पोडेल आउट भएपछि नेपाल केही दबावमा परेको थियो । तर गुल्शनले भीम सार्कीसँग मिलेर नेपाललाई जिताउनु भयो । दुवैले चौथो विकेटका लागि अविजित ९६ रनको साझेदारी गरे ।
८४ बलको सामना गर्नु भएका गुल्शनले तीन चौका र ६ छक्का हान्नु भयो । ७२ बलमा अविजित ३६ रन बनाउनु भएका भीमले पनि चार चौका हान्नु भएको थियो ।