भाद्र १७, कालिकोट । नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सचिवालय सदस्य धर्मेन्द्र बास्तोला ’कन्चन’ ले वैज्ञानिक समाजवाद प्राप्तिको लागि बृहत कम्युनिस्ट एकताको जरुरी रहेको बताउनु भएको छ ।
नेपाल कम्युनिस्ट पार्टी कालिकोटले बिहीबार सदरमुकाम मान्ममा आयोजना गरेको “बर्तमान राजनीतिक संकट र समाधान” विषयक वृहत अन्तरक्रिया कार्यक्रममा वोल्दै नेता कंचनले यस्तो बताउनुभएको हो ।
उहाँले आजको सबै क्षेत्रको संकटको मुल कारण दलाल संसदीय पुजीवादी व्यवस्था भएको ठोकुवा गर्दै यसको विकल्पमा वैज्ञानिक समाजवाद अनिवार्य भएको वताउनु भयो ।
नेता कंचनले भन्नु भयो “वैज्ञानिक समाजवादमा पुग्न प्रगतिशील सरकार चाहिन्छ ,त्यसको मातहतमा लोकतन्त्रको उच्चतम प्रयोग संसदीय व्यवस्था ठिक कि वैज्ञानिक समाजवाद ठिक भन्ने विषयमा जनमत संग्रह गर्नु पर्छ ।”
उहाँले एकपटक नेपाली जनतालाई व्यवस्था चुन्ने अधिकार दिन जनमतसंग्रह आवश्यक भएको दावी गर्नु भयो ।
अन्तरक्रियामा नेकपा केन्द्रीय सदस्य एटम बिसी, नेकपा एकीकृत समाजवादीका नेता तथा संविधानसभा सदस्य तुलराज बिष्ट, नेकपा एमालेका प्रदेश सदस्य धिर बहादुर बम, मजदुर किसान पार्टीका खडकराज शाही, नेकपा माओवादी केन्द्र समाजवादीका सागर बि.क लगायतले वोल्दै वैज्ञानिक समाजवाद नेपालमा आवश्यक भएको वताएका थिए ।
कार्यक्रममा विभिन्न पार्टीका प्रतिनिधि, बुद्धिजीवी, संस्थाका प्रतिनिधिहरु,पत्रकार मानवअधिकारकर्मी लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा उठेका प्रश्नहरुको उत्तर नेता कंचनले दिनु भएको थियो ।
नेकपाका जिल्ला इन्चार्ज बिराटको अध्यक्षता भएको अन्तरक्रिया कार्यक्रमको संचालन जिल्ला सेक्रेटरी रणदिपले गर्नुभएको थियोे ।