उत्पादनमा जोडदिने निर्णय गर्दै कर्णाली मुक्ति मोर्चा नेपालको बैठक सम्पन्न

१५ असोज,सुर्खेत । कर्णाली मुक्ति मोर्चा नेपालले कर्णालीका सबै जिल्लाहरुमा उत्पादनका कार्यहरु गर्ने निर्णय गरेको छ । कर्णाली मुक्ति मोर्चा नेपालको सोमवार वीरेन्द्रनगरमा सम्पन्न तेस्रो बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकले कर्णाली मुक्ति मोर्चाको प्रदेशभरी सबै जिल्लाहरुमा संगठनको निर्माण गर्ने र आत्मनिर्भरताको लागि समुह दर्ता गरि सामुहिक उत्पादनका कार्यहरु गर्ने निर्णय गरेको छ ।

यस्तै मोर्चाले कर्णालीको अधिकार र समृद्धिका लागि सबैसंग सहकार्य तथा छलफल गर्ने निर्णय पनि गरेको छ ।

मोर्चाले कर्णालीको मुक्तिका लागि हुने सवै खालका आन्दोलनहरुलाई समर्थन गर्ने,सहयोग गर्ने र कर्णाली मुक्ति मोर्चाले समाजवादी मोर्चाको हुने कामकार्वाहीहरुलाई पनि सहयोग गर्ने निर्णय गरेको छ ।

बैठकमा प्रमुख अतिथिको रुपमा नेकपाका स्थायी समिति सदस्य भरत सीले सम्वोधन गर्दै कर्णालीको समस्या समाधानमा कर्णाली मुक्ति मोर्चा लाग्न निर्देशन दिनु भयो ।

उहाँले मोर्चाको सहित विचार र नीतिको तय गरी कर्णालीका जनताको मुक्तिको बाटो खोज्न आग्रह गर्नु भयो ।

कर्णाली मुक्ति मोर्चा नेपालका संयोजक कर्ण सीले मोर्चाले निर्णय गरेका कामहरुमा सवैलाई जुट्नु पर्ने बताउनु भयो । उहाँले कर्णालीलाई अहिले पनि यो सरकारले उपेक्षा गरेको औल्याउनु भयो ।

बैठकमा कर्णाली प्रदेशका सबै जिल्लाहरुका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । बैठकमा नेकपा मध्य कर्णाली व्यूरोका इन्चार्ज विवेक सीको समेत सहभागिता रहेको थियो । बैठक मोर्चाका संयोजक कर्ण सीको अध्यक्षतामा बसेको थियो ।

प्रतिक्रिया दिनुहोस