केपीलाई माधवको चेतावनी– पूर्वएमाले एकातिर हुन्छ भन्ने नसोच्नोस् !

ओलीकै कारण पार्टी ध्वस्त हुन लागेको नेपालको निष्कर्ष

मंसिर १७, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डवीच लिखित/मौखिक जुहारी चलिरहेका बेला वरिष्ठ नेता माधवकुमार नेपाल लगभग मौन रहँदै आउनु भएकाे थियाे । तर, मंगलबार बालुवाटारमा बसेको सचिवालय बैठकबाट नेता नेपालले औपचारिकरुपमै मौनता तोड्नु भएकाे छ ।

मंगलबारको बैठकमा वरिष्ठ नेता नेपाल केपी ओलीविरुद्ध आक्रामक रुपमा प्रस्तुत हुनु भयाे । उहाँले ओलीकै कारण पार्टी ध्वस्त हुन लागेको बताउनु भयाे । र, अब पार्टी एकता कसैले तोड्न नसक्ने, तोड्न नदिइने उहाँले बताउनु भयाे ।

पछिल्लो समय प्रचण्डसँगको जुहारीका क्रममा प्रधानमन्त्री ओलीले पूर्वएमाले खेमाका नेताहरुलाई आलोचना नगर्ने र आफूतिर नजिक ल्याउने रणनीति अपनाउँदै आउनु भएकाे छ ।

यही सिलसिलामा मंसिर १३ को बैठकमा प्रस्तुत ३८ पृष्ठ लामो प्रस्तावमा पनि प्रधानमन्त्री ओलीले प्रचण्डलाई मात्रै गाली गर्नु भएकाे छ । र, प्रतिवेदनमा ओलीले माधव नेपाल, झलनाथ खनालहरुलाई फकाउने प्रयास गर्नु भएकाे छ । यस अतिरिक्त ओली गुटका सबै नेताहरु माधव नेपाल पक्षलाई फकाउनतर्फ लागिरहेका छन् ।

आफ्नो ३८ पन्ने प्रतिवेदनमा ओलीले प्रचण्डलाई स्पष्टरुपमा भन्नु भएकाे छ, ‘सम्झिनुहोस् त, केन्द्रीय सचिवालयदेखि स्थानीय कमिटीसम्म अधिकांश ठाउँमा साबिक एमालेको एकजना भए पनि बढी सङ्ख्या छ । बहुमतको त्यो अङ्कगणित तपाईंका विरुद्ध प्रयोग गरिएको भए के हुन्थ्यो ?’

यसरी ओली पक्षले सचिवालयदेखि स्थानीय कमिटीसम्म पूर्वएमालेको बहुमत रहेको बताइरहेकै बेला मंगलबारको बैठकमा वरिष्ठ नेता नेपालले अब पूर्वएमालेहरु एकातिर हुन्छन् भनेर नसोच्न ओलीलाई चेतावनी दिनु भएकाे छ ।

वरिष्ठ नेता नेपालले प्रधानमन्त्री ओलीलाई पार्टी फुट्छ र एमाले एकातिर, माओवादी एकातिर हुन्छ भनेर नसोच्न चेतावनी दिँदै केपी ओली व्यक्तिवादी, मपाइँवादी एवं गुटवादी भएकाले नै पार्टीमा समस्या आएको बताउनु भयाे ।

यो पार्टी फुटाउने भन्ने को ? पार्टी फुट्छ भनेर तर्साउने को ? भन्दै नेता नेपालले बैठकमा प्रश्न गर्नु भयाे । उहाँले भन्नु भयाे,  ‘पार्टी फुट्छ अनि एमाले एकातिर माओवादी अर्कातिर हुन्छ भन्ने नसोचे हुन्छ ।’

पूर्वमाओवादी र पूर्वएमालेबीच भएको पार्टी एकता दुई अध्यक्षबीचको एकता नभएको नेता नेपालले बताउनु भयाे । ‘के हिजो माले र मार्क्सवादीबीचको एकता मदन भण्डारी र मनमोहनबीचको एकता थियो ? त्यो कसको एकता थियो ?’ बैठकमा नेता नेपालले भन्नु भयाे, पार्टीले कसैलाई जिम्मा दिन्छ र त्यसैका आधारमा एकता हुन्छ । एकता भइसकेपछि पार्टी विधान र प्रतिवेदनका आाधरमा चल्छ, अहिले नेकपामा पूर्वएमाले र पूर्वमाओवादी भन्ने नै छैन, विघटन भइसक्यो ।’

प्रतिक्रिया दिनुहोस