हावाहुरी पीडितका लागि गठिन सहायता कक्षले आजबाट काम सुरु गर्दै

चैत्र २०, बारा । हावाहुरीका कारण बारा र पर्साका पीडितलाई राहत वितरणका लागि गठित सहायता कक्षले आजबाट काम सुरु गर्दैछ ।

हावाहुरीका कारण ठूलो जनधनको क्षति पश्चात प्रदेश सरकारले सहायता कक्षको स्थापना गरेर पीडितलाई राहत दिने काम आजबाट सुरु गर्न लागेको हो । आइतबार राति आएको हावाहुरी र असिनापानीका कारण एक हजार ५ सय घुरधुरी पूर्ण रुपले क्षति भएको र झन्डै ५० करोड बढिको क्षति भएको प्रदेश सरकारले जनाएको छ ।

घटनामा हजारौं घरबार विहिन बनेको र ६ सय बढि घाइते भएपछि प्रदेश सरकारले ३ राज्यमन्त्रीको नेतृत्वमा हेल्प डेस्कको स्थापना गरेको, वर्षा सुरु हुनु अगावै प्रि फ्याब घर निर्माण गर्ने, राहत वितरणमा कुनै अनियमितता र लापरवाही नहोस् भन्दै नियमित र पारदर्शी अनुगमनका लागि हेल्प डेस्कको स्थापन गर्ने निर्णय गरिएको प्रदेश सरकारले जनाएको छ ।

प्रदेश २ का आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र यादवले सञ्चारक्रमिसँग कुराकानी गर्दै अर्थ, सामाजीक र आन्तरिक तथा कानून मन्त्रालयका राज्यमन्त्रीहरुको नेतृत्वमा दुवै जिल्लाका प्रमुख जिल्ला अधिकारी, एसपी र स्थानीय जनप्रतिनिधिको नेतृत्वमा हेल्प डेस्कको स्थापन गरिएको बताउनुभयो ।

मन्त्री यादवले हिजो बसेको बैठकले तत्काल अस्थायी निवास बनाउने पनि तयारी सुरु भएको भन्दै खानपान र राहत वितरणमा कुनै विवाद हुन नदिनका लागि हेल्प डेस्कको स्थापना गरिएको र हेल्प डेस्कले आजैबाट काम सुरु गर्ने बताउनुभयो ।

उहाँले हावाहुरी प्रभावित बालबालिकाहरुका लागि अस्थायी सिकाइ केन्द्र सञ्चालर्ने गर्ने, बालबालिकालाई ड्रेस, शैक्षिक सामाग्री र खेल समाग्री उपलब्ध गराइने, नियमित स्वास्थ्यकर्मी परिचालन गर्ने, विद्यालय तथा स्वास्थ्य केन्द्रको पुनर्निर्माण क्रमशः गर्दै जाने लगायतको काम गर्ने पनि निर्णय गरिएको जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस