९ चैत्र,,सिरहा । औरही गाउँपालिका–५ मा महायज्ञका नाममा दलित दीपक मलिकको घर डोजर चलाएर भत्काई उठीबास लगाउने गाउँपालिका अध्यक्ष शिवजी यादव र पूर्ववडाध्यक्ष दिलीप यादव पक्राउ पर्नु भएको छ ।
घटनाबारे समाचार सार्वजनिक भएपछि बिहीबारदेखि सम्पर्कविहीन रहँदै आएका अध्यक्ष यादव शुक्रबार दलबलसहित जिल्ला प्रशासन कार्यालय पुग्नु भएको थियो । त्यहीँबाट दुवै जनालाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।
अछूत भन्दै दलित परिवारको घर नै भत्काउन लगाउने आयोजक बजरंगी बाबा भने पक्राउ पर्नु भएको छैन ।
पक्राउ गरिएका दुवैसँग प्रारम्भिक बयान लिइएको छ भने शनिबार पीडित परिवारसँग जाहेरी लिएर थप अनुसन्धान अगाडि बढाउने मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी लालमणि आचार्यले बताउनु भयो ।
चैत १७ देखि हुने भनिएको महायज्ञका लागि बनाउँदै गरिएको मण्डपनजिकै मलिकको घर थियो । ३० वर्षदेखि बस्दै आएको उक्त दलित परिवारको घर ५ वर्षअघि जनता आवास कार्यक्रमअन्तर्गत बनेको थियो ।
आसपासमा दलितको बसोबास र आवतजावतले महायज्ञ अपवित्र हुने भन्दै आयोजक बजरंगी बाबाको आग्रहमा गाउँपालिका अध्यक्ष यादवले पूर्ववडाध्यक्ष यादवसमेतको पहलमा मलिकको घरमा फागुन १० मा डोजर चलाईएको थियो । उहाँले घर मात्र भत्काउनु भएन्, अछूत हुने भन्दै घर भएको ठाउँको माटोसमेत ताछेर फाल्नु भएको थियो ।
घटनाबारे समाचार सार्वजनिक भएपछि चौतर्फी रूपमा दोषीमाथि कारबाहीको माग भइरहेको छ । संघको प्रतिनिधिसभा र मधेशको प्रदेशसभाका सांसदले घटनाप्रति आपत्ति जनाउँदै बिहीबारको बैठकमा संसदीय छानबिनसहित दोषीमाथि कारबाही गर्न माग गरेका थिए ।
विभिन्न संघसंस्थाले पनि घटनाप्रति भत्र्सना गर्दै दलितमाथि ज्यादती गर्नेलाई कारबाही हुनुपर्ने माग राखेका छन् । प्रहरी भने पीडित परिवारले उजुरी नदिएको बहाना बनाएर पन्छँदै आएको थियो । तर सरकार र प्रहरी–प्रशासनको सर्वत्र आलोचना भएपछि शुक्रबार मात्र उहाँहरूलाई नियन्त्रणमा लिइएको हो ।
पीडकले धम्की दिनुका साथै निगरानीसमेत राखेका कारण दलित परिवारले डरले कतै निस्कन र उजुरी दिन सकेको छैन । ‘पीडकहरू पीडितको गौंडा छेकेर बसेका छन्, पीडितले के गरिरहेका छन्, कसलाई भेटिरहेका छन्, सबै कुरामाथि निगरानी राखिएको छ,’ एक स्थानीय भन्छन्, ‘तर प्रहरी मूकदर्शक बनेको छ ।’
आयोजक बजरंगी बाबा, गाउँपालिका अध्यक्ष यादव र पूर्ववडाध्यक्ष यादवले बिहीबार पीडित मलिकको झुपडीमा पुगेर धम्की दिई जबर्जस्ती कागज गराउनु भएको छ । जसमा आफ्नो घर राजीखुसीले भत्काउन दिएको उल्लेख छ । उहाँहरूले थप केही नबोल्न र बोले ठीक नहुने भन्दै धम्कीसमेत दिनु भएको थियो । घटनाबारे समाचार सार्वजनिक भएपछि बिहीबार बिहानै दीपकको झुपडीमा पुगेर जबर्जस्ती कागज गराउनु भएका उहाँहरू त्यसपछि भने ‘सम्पर्कविहीन’ बन्नु भएको थियो ।
धम्की दिएर जबर्जस्ती कागज गराएलगत्तै दीपकको परिवारलाई महायज्ञस्थल छेउमै रहेको सरकारी भवनमा लगेर गाउँपालिकाका अध्यक्ष यादव, बजरंगी बाबा र पूर्ववडाध्यक्ष यादवलगायतले ‘आफूहरू राजीखुसी त्यहाँबाट सरेको’ भन्दै भिडियोमा बोल्नसमेत लगाएका थिए ।
गाउँपालिका अध्यक्ष यादवसहित दुई जना पक्राउ परेपछि पीडित परिवारले आफूहरूलाई घर बनाइदिएर पुरानै स्थानमा पुनःस्थापना गरिदिन माग गरेका छन् ।
‘हामी कमजोर मान्छे हौं, यो औंला काट्दा पनि डर, त्यो औंला काट्दा पनि डर, त्यसैले केही गर्न सकेनौं,’ दीपक मलिकले संचारकर्मीसंग भन्नु भयो ‘अब हामीलाई पुरानै स्थानमा फर्काइदिए हुन्थ्यो ।’
मलिक परिवारलाई ५ सय मिटर पर खोलाछेउ एकान्तमा टहरा बनाएर सारिएको छ । जहाँ न खानेपानीको सुविधा छ, न बिजुली बत्ती नै । दीपक र उहाँकी पत्नी अनिता मलिक गाउँपालिकामै सफाइ कर्मचारीका रूपमा मजदुरी गर्नु हुन्छ ।
घटना सार्वजनिक भएयता उहाँहरू काममा पनि जान सक्नु भएको छैन् । घटनामा संवेदनशील भएर कार्य नगरेको भन्दै आलोचित बन्नु भएका प्रमुख जिल्ला अधिकारी वासुदेव दाहाललाई भने शुक्रबार गृह मन्त्रालयले फिर्ता बोलाएको छ । गृहले प्रहरीलाई घटनाको अनुसन्धान गर्न निर्देशन पनि दिएको छ ।
राष्ट्रिय मानवअधिकार आयोग मधेश प्रदेश कार्यालयले औरहीमा दलित परिवारमाथि भएको ज्यादतीको घटनामा चासो देखाएको छ । आयोगका प्रदेश प्रमुख बुद्धनारायण सहनीले अनुगमन र अनुसन्धान थालिएको बताउनु भयो । ‘घटनाको अनुगमन र अनुसन्धान गर्न एक टोली घटनास्थल पुगेको छ,’ उहाँले भन्नु भयो , ‘घटनाबारे जानकारी गराउन जिल्ला प्रशासन, जिल्ला प्रहरी कार्यालय र औरही गाउँपालिकालाई पत्राचार गरिसकिएको छ ।’
यस्तै राष्ट्रिय दलित आयोगले पनि घटनाका दोषीमाथि कानुनी कारबाही गर्नुपर्ने भन्दै अनुसन्धान प्रक्रिया सुरु भएको जनाएको छ । ‘घटनाबारे सत्यतथ्य जाँचबुझ गर्न सिरहा प्रहरी प्रमुख र प्रमुख जिल्ला अधिकारीलाई भनेका छौं,’ दलित आयोगका सदस्य सुन्दर पुर्कुटीले भन्नु भएको छ ।