जातीय छुवाछूत तथा भेदभाव विरूद्व काठमाडौंमा खबरदारी तथा विरोध प्रदर्शन

२१ जेष्ठ, काठमाडौं । जातीय छुवाछूत तथा भेदभाव विरुद्ध काठमाडौंमा खबरदारी तथा विरोध प्रदर्शन गरिएको छ । नेपाल दलित मुक्ति अभियानले जातीय छुवाछूत तथा भेदभाव उन्मूलन दिवसको अवसरमा सोमबार माइतीघर मण्डलामा विराेद्व र्याली सहित खबरदारी तथा विरोध प्रदर्शन गरेको हाे ।

गणतन्त्र जिन्दावाद, विभेदकारीहरू मुर्दावाद, सिंहदरबार हेराैंला, दलित समुदायकाे जुनी फेराैंला, दलित एकता हेर्याे, सिंहदरबार घेर्याे, भुक्ने दिन गए सिंहदरबार पर्ने दिन आए, विधिको शासन कायम गर, संसार भरिका दलित एक हाैं, क्षमताको कदर गर, जातीय व्यवस्था अन्त्य गर, सबै खाले विभेदको अन्त्य गरौं लगायत लेखेको प्लेकार्ड बोकेर छुवाछूत र भेदभाव विरुद्धका नाराहरु लगाएर माइतीघर मण्डलाबाट सुरू भएको र्यालीले भद्रकाली वरिपरि विरोध प्रदर्शन गरेको थियो ।

विरोध सभामा बाेल्ने बक्ताहरूले संविधानमा छुवाछूत र भेदभावलाई सामाजिक अपराध भनिए पनि समाजमा हट्न नसकेको बताए । जातीय छुवाछुत तथा भेदभाव मुक्त देश भनेर १८ वर्ष अघि नै घोषणा गरिएको भए पनि समाजमा अझै हट्न नसकेको तर्क गरे ।

जातीय छुवाछूत र विभेदकै कारण जाजरकोटकाे नमराज विक लगायतकाे टिमलाई बीभत्स हत्या भएको भन्दै दलितहरूलाई मानव भएर पनि याे विभेदकारी सरकारले अरू मानव सरह बच्न नदिएको गुनासो गरे ।

२०६३ साल जेठ २१ गते सरकारले नेपाललाई जातीय छुवाछूत तथा भेदभाव मुक्त राष्ट्र घोषणा गरेको थियो । त्यसै दिनको सम्झनामा हरेक वर्ष जेठ २१ गतेलाई जातीय भेदभाव तथा छुवाछूत उन्मूलन दिवस मनाउने गरिन्छ ।

प्रतिक्रिया दिनुहोस