माओवादी केन्द्रको वैठकमा पदाधिकारी टुंगो लगाउन दबाव

१९ असार, काठमाडौं । नेकपा माओवादी केन्द्रका प्रदेश इन्चार्ज तथा अध्यक्षहरुले यही केन्द्रीय समिति बैठकबाट पदाधिकारी टुंगो लगाउन दबाव दिएका छन ।

आजबाट सुरु केन्द्रीय समिति बैठकमा रिपोर्टिङ गर्दै उनीहरुले पदाधिकारी टुंगो लगाउनुपर्ने विषयमा दवाव दिएका हुन् । बागमती प्रदेश अध्यक्ष सरल सहयात्री पौडेलले बैठक लम्ब्याएर भए पनि पदाधिकारी टुंगो लगाउनु पर्ने बताउनु भयो ।
उहाँले भन्नु भयो ‘यो केन्द्रीय समिति बैठकबाट पदाधिकारी र अरु संरचना टुंग्याउनु पर्छ । बरु पाँच दिनसम्म बैठक बसौं । यो भद्रगोल अवस्था नराखौं ।’

बैठकमा अध्यक्ष प्रचण्डले प्रस्तुत गरेको नौ बुँदे एजेण्डामा संगठनात्मक विषय पनि छ । तर पार्टी पदाधिकारी यो बैठकबाट टुंगो लाग्ने सम्भावना कम रहेको माओवादी केन्द्रका एक नेताले बताएका छन ।
महासचिवबारे कुनै सहमति नजुटेको र निर्वाचनमा जाने तयारी पनि नभएकाले यही बैठकले पदाधिकारी टुंगो लगाउने सम्भावना कम देखिएको ती नेताको दाबी छ ।

शनिबार साँझ बसेको पूर्वस्थायी कमिटीका पूर्वपदाधिकारीको बैठकमा पनि यसबारेमा कुनै सहमति भएको थिएन ।
केन्द्रीय समिति बैठकमा पौडेल भन्दा अगाडि रिपोर्टिङ गरेका मधेश प्रदेशका इन्चार्ज गणेश शाहले मधेश प्रदेशको पदाधिकारी छिटो टुंगो लगाउनुपर्ने बताउनु भयो । पार्टीले मधेसका एजेन्डाबारे छलफल गर्दै नगरेको भन्दै उहाँले नेतृत्व विहीनताको अवस्था अन्त्य गर्नुपर्ने धारणा राख्नु भयो ।

चुनावको अन्तरघात छानविन गर्न माग

बैठकमा रिपोर्टिङ गर्नेहरुले स्थानीय तह निर्वाचनमा धाँदली भएको भन्दै छानविन गर्न पनि माग गरेका छन् ।
मधेश प्रदेशका इन्चार्ज साहले छानविनका लागि उच्चस्तरीय समिति बनाउन र अन्तरघात गर्नेहरुलाई कारबाही गर्न माग गर्नु भयो । उहाँले भन्नु भयो , ‘चुनावमा धाँदली भएको विषयमा छानबिन गरियोस् । त्यसका लागि उच्चस्तरीय छानबिन होस् र सिफारिस अनुसार कारबाही पनि होस् ।’

सिन्धुपाल्चोक घर भएका बागमती प्रदेश अध्यक्ष पौडेलले पनि चुनावमा व्यापक अन्तरघात भएको बताउन भयो ।
बैठकमा मधेश प्रदेशको हकमा इन्चार्जले र अन्य प्रदेशको अध्यक्षले रिपोर्टिङ गर्ने बैठकको कार्यसूची छ । प्रदेशको रिपोर्टिङका लागि १० मिनेटको समय दिइएको छ ।

प्रतिक्रिया दिनुहोस