प्रचण्डकै कारण पार्टीमा समस्या आएको हो ः ईश्वर पोखरेल


१८ कात्तिक, काठमाडौं । नेकपा सचिवालय सदस्य ईश्वर पोखरेलले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकै कारण पार्टीमा अहिलेको अवस्था आएको टिप्पणी गर्नु भएको छ ।
बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग एक खालको सहमति गर्ने र खुमलटार र भैंसेपाटीमा गुटको भेला गरेर सहमति विपरीत अर्को काम गर्ने प्रवृत्तिका कारण पार्टी अप्ठेरो स्थितिमा पुगेको नेता पोखरेलको भनाइ छ ।
सोमबार साँझ न्यूज एजेन्सी नेपालसँगको कुराकानीमा उपप्रधानमन्त्री पोखरेलले अध्यक्ष प्रचण्डको दोहोरो प्रवृत्तिका कारण पार्टी समस्यामा परेको धारणा राख्नु भयो ।
‘बालुवाटारमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आउनुहुन्छ प्रधानमन्त्री केपी शर्मा ओलीसँग कुराकानी गर्न, छलफल हुन्छ, त्यहाँ कुराहरु हुन्छ अनि काउन्टर रणनीति के बन्छ भन्दा समीकरणको हिसाबले उहाँले खुमलटारमा गएर वा भैंसेपाटीमा गएर छुट्टै सरसल्लाह गरेर योजना बनाउनुहुन्छ र त्यो योजना यता ल्याउनुहुन्छ । अनि समस्या त खडा हुने भयो’ उहाँले भन्नु भयो ।
पार्टी एकता गर्दाको समयमा भएको सहमतिको आधारमा रहेर दुवै अध्यक्षले संवाद गरे अहिलेको विवाद अन्त्य हुने पनि पोखरेलले बताउनु भयो । ‘फेरि एकता गर्दा तय गरिएका आधारमा फर्कन प¥यो, त्यो आधारमा टेक्नुप¥यो, त्यहाँ टेकेर अगाडि बढ्नु प¥यो । यदि सकारात्मक निष्कर्षमा पु¥याउने, दुर्घटना हुनबाट बचाउने हो भने यो भन्दा अर्को कुनै विकल्प हुँदैन’ उहाँले भन्नु भयो ।
प्रधानमन्त्रीलाई छिर्के लगाउने अनेक ढंगले समस्या खडा गर्ने हो भने समस्या झन् झन् बल्झिने पोखरेलको टिप्पणी छ ।
अध्यक्ष प्रचण्डले गुटको भेला गर्ने र प्रधानमन्त्री समक्ष दवाव सिर्जना गर्ने हो भने एकीकरणले सार्थकता नपाउने नेता पोखरेलले बताउनु भयो । ‘अहिले पनि अध्यक्ष पुष्पकमल दाहालले अरुअरु साथीहरुसित सल्लाह गर्दै समीकरण बनाउने र त्यो समिकरणको बलमा यता दवाव सिर्जना गर्ने कुरा गर्नुभयो भने त्यो सम्भव छैन । त्यो उचित हुँदैन । त्यो हानिकारक हुन्छ, त्यसले दुःखद परिणाममा पु¥याउँछ’ उहाँले भन्नु भयो ।
नेता पोखरेलले अध्यक्ष प्रचण्डले पार्टीको कार्यकारी अध्यक्ष भएदेखि विवाद झिक्ने बाहेक केही पनि काम गर्न नसकेको समेत आरोप लगाउनु भयो । पार्टीको निर्णयविना प्रधानमन्त्री ओलीले कुनैपनि काम गर्न हुँदैन भन्ने अडानले समस्या सिर्जना गरेको पनि उहाले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस