प्रचण्ड–माधव समूहको देशभर हड्ताल,सयौं जना पक्राउ


२२ माघ, काठमाडौं । प्रचण्ड माधव समूहले आह्वान गरेको आमहड्तालको प्रभाव देशभरका सहरी क्षेत्रमा देखिएको छ । लामो दूरीका सवारीसाधन सञ्चालनमा आएका छैनन् भने ग्रामिण भेगमा कम प्रभाव छ ।
गृह मन्त्रालयले सवारी सञ्चालन गर्न यातायात व्यवसायीहरुलाई आह्वान गरेको थियो । यद्यपि, व्यवसायीहरुले सञ्चालन गरेनन् । विभिन्न जिल्लाबाट छुटेका रात्री सेवाका गाडीहरुलाई प्रहरीले स्कर्टिङ गरेर कटाएको छ भने ट्रकहरुलाई पनि सञ्चालनमा सहजिकरण गरेको छ ।
त्यसक्रममा ठाउँठाउँमा सवारीसाधनमाथि ढुंगा प्रहार भएको छ भने काठमाडौंमा ट्याक्सीसमेत आगजनी भएको छ । प्रहरीका अनुसार देशभर १०० जना वढी पक्राउ परेका छन् ।
प्रदेश १ ः धरानमा झडप
प्रदेश प्रहरी प्रमुख ईश्वरबाबु कार्कीका अनुसार लामो दूरीका सवारीसाधन सञ्चालन नभए पनि छोटो दूरीमा यातायात आवगमनमा बाधा छैन ।
मोरङ र झापामा टायर बाल्ने प्रयास भए पनि प्रहरीले तितरबितर पारेको कार्कीले बताउनु भयो । ‘इलाममा ट्रकलाई ढुंगा हानिएको थियो यद्यपि, अहिले स्थिति शान्त छ’,
बिराटनगरस्थित बिहानैदेखि प्रचण्ड माधव समूहका नेता, कार्यकर्ता सडकमा निस्किएका छन् । सिटी सफारी जस्ता तीनपाङ्गे सवारीसाधनले सडकमा मानिसहरु ओसारिरहेका छन ।
धरानमा प्रदर्शनकारी र मजदुरबीच घम्साघम्सी भएको छ । बिहीबार बिहान भानु चोकमा मजदुर र बन्दकर्ताबीच घम्साघम्सी भएको हो ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी कमल थापाका अनुसार हाल स्थिति नियन्त्रणमा आइसकेको छ । धरानमा सवारीसाधनमाथि ढुङ्गा प्रहरी गरेको आरोपमा प्रहरीले एकजनालाई नियन्त्रणमा लिएको जनाएको छ ।
प्रदेश २ ः
प्रदेश नं. २ मा सवारीसाधनहरु अत्यन्त न्यून चलेका छन् । प्रचण्ड माधव समूहका नेता, कार्यकर्ताहरु मुख्य राजमार्गमा बसेर सवारी सञ्चालनमा अवरोध गरिरहेका छन् ।
पूर्वमन्त्री अजयशंकर नायक सिराहामा कार्यकर्ता लिएर सडकमा निस्किनु भएको छ । चन्द्रनिगाहपुरमा पूर्वसांसद रामकुमार भट्टराईले नेतृत्व गरिरहनु भएको छ ।

लहानमा बिहीबार बिहानै ७३५२ नम्बरको ट्रकमा ढुंगा हानिएको प्रहरीले जनाएको छ । त्यसमा संलग्न दुई जना तत्काल पक्राउ गरिएको प्रदेश प्रहरी प्रमुख डीआईजी धिरजप्रताप सिंहले वताउनु भयो ।
वीरगञ्जमा आमहड्तालमा अवरोध गरेको भन्दै प्रहरीले १७ जनालाई नियन्त्रणमा लिएको छ । प्रचण्ड माधव समूहका वीरगञ्ज महानगर अध्यक्ष रहबर अन्सारी, युवा नेता अरविन्द सिंह, विद्यार्थी नेता प्रभाकर गुप्तासहितका व्यक्तिहरु पक्राउ परेका हुन् ।
बागमती ः सिन्धुपाल्चोकमा छैन प्रभाव
बागमती प्रदेशमा प्रहरीले लामो दूरीका सवारीसाधनलाई स्कर्टिङ गरेर विभिन्न जिल्ला पठाइरहेको छ । प्रदेश प्रहरी कार्यालयकी प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मिरा चौधरीका अनुसार मकवानपुरको ठाडाभन्ज्याङ र चितवनको आँपटारीमा दुई वटा ट्रकमा ढुंगासमेत हानिएको छ ।
सिन्धुपाल्चोकमा ९० प्रतिशत खुला रहेको प्रहरीले जनाएको छ । अन्य जिल्लामा आंशिक प्रभाव छ । भित्री बाटोमा सवारी सञ्चालनमा कुनै अवरोध छैन ।
उपत्यका ः शीर्ष नेताहरु सडकमा
काठमाडौं उपत्यकामा आमहड्ताल सफल पार्न भन्दै प्रचण्ड माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल आफैं सडकमा निस्किनु भएको छ । छोरी रणु दाहालसहित सातदोबाटो, पुल्चोक लगायतका क्षेत्रमा पुगेर उहाले सम्बोधन गर्नु भएको छ ।
सातदोबाटोमा प्रचण्डले सरकारले बलमिच्याइँ गरेर संवैधानिक निकायहरुमा नियुक्ति गरेकाले त्यसबारे जनतालाई जानकारी दिन सडकमा आउनु परेको बताउनु भयो । सम्भवतः फागुन पहिलो सातादेखि संयुक्त आन्दोलन हुने समेत उहाले बताउनु भयो ।
रत्नपार्क क्षेत्रमा प्रवक्ता नारायणकाजी श्रेष्ठले आन्दोलनको नेतृत्व गरिरहनु भएको छ ।
अष्टलक्ष्मी शाक्यसहित प्रचण्ड नेपाल समूहका कार्यकर्ता पक्राउ
पूर्वसभामुख एवं स्थायी समिति सदस्य कृष्णबहादुर महरा पनि सातदोबाटोमा देखिनु भएको छ । अर्का अध्यक्ष माधव नेपाल कोटेश्वरमा निस्किने भनिएको छ । हालसम्म सडकमा अवरोध गरेको भनेर प्रहरीले उपत्यकाबाट ७७ जनालाई पक्राउ गरेको छ भने हड्तालको आंशिक प्रभाव देखिएको छ ।
गण्डकी प्रदेश ः ठाउँठाउँमा प्रदर्शन
पोखरामा प्रचण्ड माधव समूहले महेन्द्रपुलमा प्रदर्शन गरिरहेको छ । प्रदर्शनमा रामकाजी गुरुङ, दीपक कोइराला लगायतका नेताहरु देखिनु भएको छ ् । ओली समूहका नेता, कार्यकर्ताले भने बन्दको विरोधमा मोटरसाइकल ¥याली निकालेको सुवेदीले बताउनु भयो ।

जिल्ला प्रहरी कार्यालय, पोखराका डीएसपी सुवास हमालका अनुसार हालसम्म जिल्लामा कुनै उछृंखल गतिविधि भएका छैनन् । कसैलाई पनि पक्राउ गरिएको छैन ।
लुम्बिनी ः व्यापक प्रहरी परिचालन
लुम्बिनी प्रदेशमा बन्दको आंशिक प्रभाव रहेको प्रदेश प्रहरी कार्यालयका एसएसपी विक्रम चन्दर्ले बताउनु भयो । ठाउँठाउँमा प्रचण्ड माधव समूहका नेता, कार्यकर्ता निस्किएका छन् । यात्रा गर्न चाहनेले सुरक्षा माग स्कर्टिङको व्यवस्था पनि गरिएको छ ।
आम हड्तालले बुटवल ठप्प
प्रदेशको मुकाम बुटवलमा बिहानैदेखि सार्वजनिक यातायात र मालवाहक सवारीसाधनहरु नचलेको वताईको छ । बजार, शिक्षण संस्थाहरु पनि बन्द छन् । आन्दोलनकारीले सडकमा टायर बालेर, ट्रक तेर्स्याएर सवारी साधन चल्न दिएका छैनन् ।
प्रहरी गस्ती पनि बढाइएको छ भने बुटवलको राजमार्ग चौराहामा नेकपा प्रचण्ड माधव समूहका युवा नेता राजु गुरुङको नेतृत्वमा नेता, कार्यकर्ता जम्मा भएका छन् । रुपन्देहीमा बिहान ९ बजेसम्म आम हड्तालका क्रममा कुनै अप्रिय घटना नभएको रुपन्देही प्रहरी प्रवक्ता डीएसपी सत्यनारायण थापाले बताउनु भयो ।
कर्णाली ः
कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार राजमार्गमा सवारीसाधन चलेका छैनन् । प्रचण्ड माधव समूहका नेता कार्यकर्ता बन्द गराउनु प¥यो भन्दै हिँडेका छन् भने ओली समूहका नेता, कार्यकर्ताहरु खुला गर्न माग गरिरहेका छन् ।
सुर्खेतमा पसलहरु खुलेका छैनन् । प्रहरीले विभिन्न ठाउँमा डाइभर्सन गराएर लामो दूरीको यातायात सञ्चालन गराइरहेको प्रदेश प्रहरी प्रमुख वसन्त पन्तले वताउनु भयो ।
सुदूरपश्चिम ः
सुदूरपश्चिमका जिल्लाहरुमा सदरमुकाम र प्रमुख राजमार्गमा बन्दको प्रभाव देखिएको छ । भित्री सडकखण्ड र ग्रामिण भेगमा प्रभाव देखिएको छैन । प्रदेश प्रहरी प्रमुख डीआईजी उत्तम सुवेदीका अनुसार तराईका जिल्लामा प्रहरी नभएको ठाउँमा टायर बालेको पाइएको छ ।

‘प्रहरीको उपस्थिति भएको ठाउँ शान्त छ, राजमार्ग सबैतिर प्रहरीको उपस्थिति सम्भव हुँदैन’, सुवेदीले भन्नु भयो ‘नाइट बसलाई स्कर्टिङ गरेर पठाइरहेका छौं ।’
विशेष गरी बुधबार साँझ काठमाडौंबाट बाजुरा, दार्चुला लगायतका ठाउँका लागि छुटेका डेढ सय बढी सवारीसाधनलाई स्कर्टिङ गरेर पठाइएको सुवेदीले बताउनु भयो । स्कर्टिङमा नेपाल प्रहरीसँगै सशस्त्र प्रहरीले पनि साथ दिएको छ ।

प्रतिक्रिया दिनुहोस