१४ बैसाख, कपिलवस्तु । नेपाल कम्युनिष्ट पार्टी (माओवादी)का महासचिव विप्लव सीले नयाँ बैचारिक प्रतिबद्धता विनाको एकताले कम्युनिष्ट आन्दोलनको रक्षा र रुपान्तरण नहुने ठोकुवा गर्नु भएको छ ।
नेकपा (माओवादी)को केन्द्रीय प्रतिनिधि समितिको सातौं पूर्णबैठकलाई आईतवार कपिलवस्तुमा सम्वोधन गर्दै महासचिव विप्लव सीले नयाँ बैचारिक प्रतिबद्धता विनाको एकताले कम्युनिष्ट आन्दोलनको रक्षा र रुपान्तरण नहुने ठोकुवा गर्नु भएको हो ।
उहाँले बैठकमा पेश गरेको “नयाँ बैचारिक प्रतिबद्धता सहित कम्युनिष्ट आन्दोलनको रक्षा र रुपान्तरण गर्न जोड दिउँ, साम्राज्यवादी हस्तक्षेप र सरकारका निरङकुश कदमका विरुद्ध संघर्ष गरौं, जनताको स्वाधीनता र समाजवादी सत्ताको विचार प्रवाह गरौ” भन्ने १२ पृष्ठ लामो राजनीतिक दस्तावेजमाथिको छलफल गर्दै ंकम्युनिष्ट एकता नयाँ बैचारिक प्रतिबद्धताबाट मात्र सम्भव हुने बताउनु भयो ।
महासचिव विप्लवले नेपालका कम्युनिष्टहरुमा विचारको खडेरी परेको जिकिर गर्दै विचार विहिनताले कम्युनिष्ट जनमत कमजोर भएको बताउनु भयो ।
उहाँले बैठकमा दलाल पुँजीवाद रहेसम्म कम्युनिष्ट क्रान्तिकारीहरुले निरन्तर क्रान्ति गर्नु पर्ने विचार व्यक्त गर्नु भयो ।
बैठकमा सहभागीहरुले दस्तावेजमाथि उठाएका सुझाव र जिज्ञासाहरुको जवाफ दिदै एकीकृत जनक्रान्तिको मोर्चा चुनाव मात्र नभएको स्पष्ट पार्दै एउटा मोर्चा हार्दैमा निरास नहुन आग्रह गर्नु भयो ।
महासचिव विप्लवले क्रान्तिकारीहरुको लागि जोखिम र अवसर दुवै नजिक देखिएको दाबी गर्दै इमान्दारपूर्वक जनताको आवाज उठाउन र जनताको पक्षमा लाग्न कार्यकर्तालाई आह्वान गर्नु भयो ।
“फेरी पनि क्रान्ति हो, क्रान्ति भन्दा अर्को विकल्प छैन, हाम्रो जीवन क्रान्ति हो, दलाल पुँजीवाद रहेसम्म निरन्तर क्रान्तिकारीहरुले संघर्ष गर्नु पर्छ” महासचिव विप्लवले भन्नु भयो ।
उहाँले कहिले काँही असत्य कुराको जित देखिए पनि, सत्य कुरा ओझेलमा परेपनि तर अन्ततः सत्य विचारको जीत हुने दाबी गर्नु भयो ।
महासचिव विप्लवले नेकपा (माओवादी) श्रमजीवी सर्वहारा वर्गको मुक्तिका लागि एकीकृत जनक्रान्तिको सत्य विचार लिएर लडिरहेकाले अन्ततः विजयी हुने विश्वास व्यक्त गर्नु भयो ।
उहाँले नव युवाको जेनजी आन्दोलनमा अमेरिकी एजेण्डहरु घुसपैठ गरी बनेको अन्तरिम सरकार र त्यसले गरेको चुनावबाट बनेको वालेन सरकारले सुकुम्वासीमाथि दमन गरिरहेको भन्दै विरोध जनाउनु भयो ।
बैठकमा महासचिव विप्लवले राजनीतिक प्रतिवेदनमाथिको जवाफ दिएपछि सहभागीहरुले प्रतिवेदन सर्वसहमत पारित गरेका थिए । यसअघि बसेको पार्टीको केन्द्रीय समिति, पोलिट व्यूरो र स्थायी समितिको बैठकले सो प्रस्ताव पारित गरेको थियो ।
